आज जेठ ११, २०७८ l अंग्रेजी क्यालेन्डर अनुसार मे २५, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्:
उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण
उत्तर कोरियाले तीन वटा व्यालिस्टिक मिसाइल प्रहार गरेको छ । उत्तरले बुधरबार पूर्वी तटको सागरमा तीन वटा मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले एसिया भ्रमण सकेर स्वदेश प्रस्थान गरेको केही घण्टापछि उत्तरले तीन ओटा मिसाइल प्रहार गरेको हो । क्वाड शिखर सम्मेलनमा सहभागी हुन बाइडेन टोकियो आएका थिए । भ्रमणका क्रममा उनी दक्षिण कोरिया पनि पुगेका थिए ।
उत्तरले करिब दुई सातापछि फेरि मिसाइल प्रहार गरेको हो । सन् २०२२ को सुरुदेखि नै उत्तर कोरियाले बारम्बार मिसाइल प्रहार गर्दै आएको छ । उत्तरले बुधबार प्रहार गरेको मिसाइल १७औँ हो । उत्तर कोरियाको राजधानी प्योङयाङको सुनान क्षेत्रबाट करिब एक घण्टाको अन्तरालमा मिसाइल प्रक्षेपण गरिएको दक्षिण कोरियाको संयुक्त चिफ अफ स्टाफले जनाएको छ ।
उत्तर कोरियाले बुधबार परीक्षण गरेका तीन क्षेप्यास्त्रमध्ये पहिलो क्षेप्यास्त्र अन्तरमहादेशीय व्यालिस्टिक क्षेप्यास्त्र रहेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।
उत्तर कोरियाले परीक्षण गरेको दोस्रो क्षेप्यास्त्र भने बिच आकाशमै असफल भएको दक्षिण कोरियाली सेनालाई लाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ त्यस्तै, तेस्रो क्षेप्यास्त्र भने छोटो दुरीको ब्यालेष्टिक क्षेप्यास्त्र रहेको जनाइएको छ ।
उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणको जवाफस्वरुप अमेरिका र दक्षिण कोरियाले जमिनबाट जमिनमा मार हान्ने क्षेप्यास्त्र परीक्षण गरी सैन्य अभ्यास गरेका छन् ।
अभ्यासमा अमेरिकाका तर्फबाट ‘आर्मी ट्याक्टिकल मिसाइल सिस्टम’ तथा दक्षिण कोरियाली सेनातर्फबाट ‘ह्युन्मु–२ एसआरबीएम’ एकाइको सहभागिता रहेको जनाइएको छ ।
यस वर्ष उत्तर कोरियाले हतियार परीक्षणलाई तीव्र पारेको छ । यो वर्ष उत्तर कोरियाले हाइपरसोनिक क्षेप्यास्त्रदेखि अन्तरामहादेशीय क्षेप्यास्त्र सम्म परीक्षण गरिसकेको छ ।
यसअघि उत्तर कोरियाले आणविक परीक्षणस्थलको मर्मत गरेको समाचार सार्वजनिक भएसँगै उत्तर कोरियाले चाँडै आणविक हतियार पनि परीक्षण गर्नसक्ने अनुमान गरिएको छ । रोयटर्सका अनुसार उत्तर कोरियाले सन् २०१७ यता आणविक हतियार परीक्षण गरेको छैन ।
अमेरिकाको विद्यालयमा भएका गोली काण्डमा २१ जनाको मृत्यु
अमेरिकाको टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ ।रोब प्राथमिक विद्यालयमा भएको गोली प्रहारबाट १९ विद्यार्थीसहित २१ जना मारिएका हुन् । आक्रमणमा केही घाइते भएका छन् ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेका मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ । सो विद्यालयमा झन्डै पाँच सय विद्यार्थी रहेको प्राप्त विवरणहरूमा जनाइएको छ ।
रव एलिमेन्ट्री स्कुलमा १८ वर्षीय बन्दुकधारीले एक प्राथमिक विद्यालयमा गोली प्रहार गर्दा उनीहरुको मृत्यु भएको राज्यका गभर्नरले जानकारी दिए ।
पछिल्लो हमला वर्षौंपछि देशको सबैभन्दा डरलाग्दो आक्रमण हो । उक्त विद्यालयमा सातदेखि १० वर्षका बालबालिका अध्ययन गर्छन् । गभर्नर ग्रेग एबोटले पत्रकार सम्मेलनमा भने, ‘आक्रमणकारीले भयानक र बुझ्न नसकिने गरी १४ विद्यार्थी र एक शिक्षकको हत्या गरेको छ ।’
घटनमा आक्रमणकारीको पनि मृत्यु भएको जनाइएको छ । सुरक्षा अधिकारीको कारबाहीमा उनी मारिएको प्रारम्भिक विवरणमा जनाइएको छ ।
राष्ट्रपति जो बाइडेन मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन् ।
भारतद्वारा चिनीको निर्यातमा प्रतिबन्ध
भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाएको छ । घरेलु बजारमा मूल्य वृद्धि नियन्त्रणका लागि भन्दै भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाएको हो ।
समाचारमा जनाइएअनुसार भारत सरकारले व्यापारीहरूलाई आगामी जुन १ देखि अक्टोबर ३१ सम्मका लागि निर्यात अनुमति सुरक्षित गर्न समेत आग्रह गरेको भारतीय आर्थिक अनलाइन समाचार पोर्टल इकोनोमिक टाइम्सले जनाएको छ ।
यो कदमबाट घरेलु बजारमा चिनीको उपलब्धतामा सुधार तथा मूल्यवृद्धि नियन्त्रणको अपेक्षा गरिएको छ ।‘जुन १ बाट चिनी (कच्चा, प्रशोधित र सेतो चिनी) को निर्यातलाई लाई प्रतिबन्धित सूचीमा राखिएको छ ।’ भारतको विदेश व्यापारसम्बन्धी महानिर्देशनालयलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले जनाएको छ ।
यो प्रतिबन्ध जुन १ देखि अक्टोबर ३१ सम्म लागू हुने जनाइएको छ ।यद्यपि ‘सीएक्सएल’ र ‘टीआरक्यू’ मार्फत अमेरिका र युरोपतर्फ हुने चिनीको निकासीमा भने यस प्रतिबन्ध लागू नहुने जनाइएको छ ।
केही समयअघि भारतले गहुँको निर्यातमा पनि प्रतिबन्धको घोषणा गरेको थियो ।
मेक्सिकोमा भएको गोली काण्डमा परी १० जना मारिए
बन्दुकधारीहरूले मेक्सिकोको मध्य सहर सेलायामा एउटा होटेल र दुई ओटा बारमा आक्रमण गर्दा १० जनाको मृत्यु भएको छ ।
आक्रमणमा एक आपराधिक समूह संलग्न रहेको अधिकारीहरूले बताएका छन् । आक्रमणमा दुई जना घाइते भएका छन् । गुआनाजुआटो राज्यको सेलायास्थित सुरक्षा सचिवालयका अनुसार मारिनेमा सात जना महिला छन् ।
आक्रमणपछि बन्दूकधारीहरुले आगो लगाइदिएका थिए । शवहरु टेबल र कुर्चीमा छरिएको अवस्थामा फेला परेका थिए । आक्रमणको उद्देश्य प्रष्ट हुन सकेको छैन ।
मेक्सिकोमा आपराधिक समूहले बारम्बार सर्वसाधारणलाई निशाना बनाउने गरेका छन् । लागुऔषध, तस्करीका कारण आपराधिक गतिविधि निरन्तर बढिरहेका छन् ।
युएईमा पनि देखियो मंकीपक्स भाइरस
विश्वका विभिन्न देशमा फैलिएको मंकीपक्स भाइरस युनाइटेड अरब इमिरेट्स युएईमा पनि देखिएको छ । मंकीपक्स भाइरस देखिने पहिलो खाडी देश हो । यसअघि १५ देशमा यो भाइरस देखा परेको थियो । भाइरस देखिएपछि जुनसुकै महामारीलाई नियन्त्रण गर्न तयार रहेको यूएईले जनाएको छ ।
पश्चिमी अफ्रिकाबाट आएकी एक २९ वर्षीया महिलामा भाइरस देखिएको थियो । उनको हाल उपचार भइरहेको त्यहाँको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको छ । ‘हामीले सन्दिग्ध बिरामीहरूको निदानको लागि सटीक संयन्त्र राखेका छौं’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।
सामान्य ज्वरो आउनु, शरीरमा फोका देखिनु मंकीपक्सका लक्षण हुन् ।
युरोप, अमेरिका, क्यानडा र अष्ट्रेलियामा हालैको प्रकोपमा ८० भन्दाबढी केसहरू पुष्टि भएका छन् । अन्य धेरै सन्दिग्ध केसहरुको अध्ययन भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
श्रीलंकका चिकित्सकको चेतावनी– ‘औषधि अभावले बिरामीलाई मृत्युदण्ड दिएको छ’
अकल्पनीय आर्थिक सङ्कट झेलिरहेको श्रीलङ्कामा बढ्दो औषधिको अभावले चाँडै नै धेरैलाई मृत्युको मुखमा पुर्याउन सक्ने चिकित्सकले बताएका छन् ।
अत्यावश्यक जीवनदायी औषधिको अभावमा अस्पतालहरूले बिरामीको जीवन बचाउने प्रक्रिया स्थगन गर्न बाध्य हुनुपरेको उनीहरूले जनाएका छन् ।
श्रीलङ्काले ८० प्रतिशतभन्दा बढी औषधिको आपूर्ति विदेशबाट हुने आयातबाट गर्दै आएको भए पनि सङ्कटका कारण विदेशी मुद्रा सञ्चिति सकिएको छ । औषधि भण्डार र पसल रित्तिएका छन् भने स्वास्थ्य सेवा प्रणाली ध्वस्त हुने अवस्थामा पुगेको छ ।
राजधानी कोलम्बोको बाहिरी भागमा रहेको ९५० शय्याको एपेक्षा क्यान्सर अस्पतालमा परीक्षण र शल्यक्रियालगायत प्रक्रिया स्थगन गर्नुपर्ने परिस्थिति उत्पन्न भएको छ भने औषधि अभावका कारण बिरामी, तिनका आफन्त र चिकित्सक असहाय महसुस गरिरहेका छन् । क्यान्सरका बिरामीका लागि यो स्थिति ज्यादै जटिल भएको डा. रोशन अमरतुङ्गा बताउँछन् ।
‘कहिलेकाहीँ हामी शल्यक्रियाको लागि योजना बनाउँछौँ तर त्यो दिन शल्यक्रिया गर्न असमर्थ हुन्छौँ‘ किनकि त्यहाँ औषधिको आपूर्ति छैन’ औषधिको चरम अभावले बिरामीको ज्यान जोखिममा परेको पीडादायी परिस्थितिको वर्णन गर्दै उनी भन्छन् ।
भारत, जापानलगायत बहुपक्षीय दाताले औषधि आपूर्तिमा मद्दत गरिरहेको भए पनि अस्पतालमा ती जीवनदायी औषधि आउन चार महिना लाग्नसक्ने उनी बताउँछन् । सरकारले पनि स्वदेश र विदेशमा रहेका निजी दातालाई सहयोगको लागि आह्वान गरेको उनले बताए । यदि स्थितिमा शीघ्र सुधार भएन भने धेरै बिरामीले मृत्युदण्डको सामना गर्नुपर्ने उनले बताए ।
सन् १९४८ मा श्रीलङ्का स्वतन्त्र भएपछि सबैभन्दा ठूाले आर्थिक सङ्कटको सामना गरिरहेको छ । कोभिड–१९ का कारण पर्यटन–निर्भर अर्थतन्त्रमा नराम्रो असर मात्र परेन पछिल्लो समय तेलको मूल्यमा वृद्धि, लोकप्रिय कर कटौती र रासायनिक मलको आयातमा गरिएको प्रतिबन्धले कृषि क्षेत्रलाई पनि तहसनहस पारेको छ ।
स्वास्थ्य सामग्री खरिदमा काम गर्ने एक सरकारी अधिकारीले डायलाइसिसका बिरामीका लागि सुई, प्रत्यारोपण गरेका बिरामीका लागि औषधि र क्यान्सरका केही औषधिलगायत करिब १८० औषधि क्रमशः सकिँदै गएको बताएका छन् । अवस्थाको गम्भीर्य र परिणामबारे सचेत भएकाले चिकित्सकहरू बिरामी वा उनीहरूका आफन्तभन्दा बढी चिन्तित भएका छन् ।
पेट्रोल र खाना पकाउने ग्यासको लागि सर्वव्यापी लामलाई उल्लेख गर्दै सरकारी चिकित्सक सङ्घका प्रवक्ता डा वासन रत्नसिङ्गमले उपचारको पर्खाइमा रहेकाको स्थिति भयावह भएको बताएका छन् ।
यदि बिरामी औषधिका लागि लाइनमा छन् भने तिनीहरूले आफ्नो ज्यान गुमाउने अवस्था आएको उनले बताए ।
पश्चिमा सञ्चार माध्यममाथि प्रतिबन्ध लगाउने प्रस्ताव रुसी संसद्द्वारा पारित
रुसको संसद्ले पश्चिमा मुलुकका सञ्चार माध्यममाथि प्रतिबन्ध लगाउने विधेयकलाई अनुमोदन गरेको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार रुसी संसद्को यो कदमले रुसप्रति ‘असहिष्णु’ मुलुकका मिडियामाथि प्रतिबन्ध लगाउन राष्ट्रपति भ्लादिमिर पुटिनलाई बाटो खुल्नेछ ।
उक्त विधेयकले मुलुकको अभियोजनकर्ताको कार्यालयले प्रतिबन्ध लगाएका मिडियामा प्रकाशित लेख वा सामग्रीको पनि वितरण गर्न पनि बन्देज लगाउनेछ ।
उक्त विधेयकको पहिलो चरण रुसी संसद् डुमाको तल्लो सदनले पारित गरेको रोयटर्सले जनाएको छ । तल्लो सदनमा अरु दुई चरणमा यो विधेयक पारित हुने र माथिल्लो सदनले मूल्यांकन गरेपनि बल्ल राष्ट्रपति पुटिनले हस्ताक्षर गरेपछि लागू हुने जनाइएको छ ।
यस विधेयकअनुसार यसमा उल्लेखित प्रावधान उल्लङ्घन गर्ने पत्रकारको विदेश मन्त्रालयको इजाजत फिर्ता लिइनेछ ।यो विधेयकलाई आन्द्रेई लुगोभोए लगायतका विधायकहरूले अघि सारेको रोयटर्सले जनाएको छ।लुगोभोए सन् २००६ मा पुटिनका आलोचक अलेक्जाण्डर लिट्भिनेन्कोको हत्याका लागि बेलायतमा अभियोग खेपिरहेका छन् ।
रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभले रुसी सञ्चार माध्यमहरूलाई चल्न बन्देज लगाएको भन्दै बारम्बार क्रुद्ध प्रतिक्रियाहरु दिइरहेका छन् ।
गत मार्च महिनामा पुटिनले जानाजान ‘फेक’ (झूट) समाचार फैलाउनेलाई १५ वर्षसम्मको जेल सजाय हुने कानूनमा हस्ताक्षर गरेका थिए । त्यसयता धेरै विदेशी पत्रकारले रुस छाडिसकेका छन् ।
तालिबानले महिला तथा बालबालिकाको अधिकार कटौती गरेको भन्दै राष्ट्रसंघद्वारा चिन्ता व्यक्त
संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा शासन चलाइरहेको तालिबान सरकारले महिला र बालिकाको अधिकारमा कटौती गरेको विषयमा चासो व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले यस विषयमा चासो व्यक्त गरेको समाचारमा जनाइएको छ ।
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले महिलाका मौलिक अधिकारका साथै उनीहरूको मानव अधिकारका विषयमा गम्भीर हुन पनि आग्रह गरेको छ ।
तालिबान सरकारले लगाएका प्रतिबन्धबाट महिलाहरूको शिक्षा, रोजगारीको अवसरबाट पनि उनीहरु बञ्चित हुन पुगेको भन्दै यस्ता प्रतिबन्धहरू तत्कालै हटाएर महिलाहरूलाई पनि पुरुष सरह शिक्षा तथा अन्य सांस्कृतिक अधिकारहरुमा सहभागी बन्न दिन सुरक्षा परिषद्ले आग्रह गरेको छ ।
केही समययता तालिबानले अफगानिस्तानका महिलाले विद्यालय जान नपाउने, कहीँ घुम्न जाँदा या सार्वजनिक स्थलमा जाँदा उसको पुरुष आफन्त या अभिभावक हुनुपर्ने तथा बुर्का लगाउनुपर्ने जस्ता नीति महिलाका लागि सार्वजनिक गरेको थियो ।
केही दिनअघिमात्रै तालिबानले अफगानिस्तानमा महिला समाचार वाचकले अनुहार छोप्नुपर्ने नियम ल्याएपछि पछिल्लो समय टेलिभिजनमा समेत महिलाहरुले बुर्का लगाएर समाचार पढ्न थालेको जनाइएको छ ।
प्रतिक्रिया