कुहिने र नकुहिने नछुट्याए काठमाडौँ महानगरपालिकाले फोहोर नउठाउने | Khabarhub Khabarhub

कुहिने र नकुहिने नछुट्याए काठमाडौँ महानगरपालिकाले फोहोर नउठाउने

मेयर शाह भन्छन्– नछुट्टाएको फोहोर फर्काउँछौँ  


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले अबदेखि कुहिने र नकुहिने नछुट्टाएको फोहोर नउठाउने भएको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाहले उक्त जानकारी दिएका हुन् ।

‘नछुट्टाएको फोहोर महानगरले संकलन गर्ने छैन र फर्काइदिने छ । यसबाट पर्न सक्ने असुविधाका लागि माफी चाहन्छौँ तर नछुट्टिएका फोहोर संकलन नगर्ने कुरामा हामी सम्झौता नगरौँ,’ मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

महानगरले पहिलेका कमजोरी वा गल्तीहरू नदोहोर्‍याउने प्रतिबद्धता उनले जनाएका छन् । फोहोरलाई स्रोतबाट नै छुट्याउनका लागि हदैसम्मको सहकार्य र कोशिस गर्ने दाबी उनको छ ।

‘हामी यति विश्वास दिलाउन चाहन्छौँ कि तपाईँले छुट्टाइसकेको फोहोरलाई महानगरले पुनः एक ठाउँमा मिसाउने गल्ती गर्ने छैन भने तपाईँले छुट्याएर संकलन गर्ने गाडीमा हालिसकेको फोहोरसँगै आफूले नछुट्याइ ल्याएको फोहोर कसैले मिसाउन पाउने छैन,’ उनले भनेका छन् ।

अब फोहोर उठ्ने र यो सबैको लागि खुसीको खबर भएको मेयर शाहले बताएका छन् । उनी अगाडि लेख्छन्, ‘अहिलेसम्म फोहोर थुप्रिएर पाउनु भएको दुःखका लागि क्षमाप्रार्थी छौँ । साथसाथै, कोठाभित्र होस् वा घरमा वा सडकमा, जतासुकै फोहोरले यतिसम्म दुःख दिँदा र अफ्ठ्यारोमा पारिरहँदा पनि धैर्य भएर सहिदिनु भएकोमा ह्रदयदेखि नै धन्यवाद छ ।’

फोहोर उठ्नु मात्रै समाधान नभएको भनाई उनको छ । महानगरको फोहरको समस्याको दीर्घकालीन समाधानको लागि अझै धेरै गर्न बाँकी रहेको उनले जनाएका छन् ।

‘हामी फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न चाहन्छौँ, जसको समाधान यहाँको फोहोर अन्त कतै फ्याँकेर वा थुपारेर हुँदैन,’ मेयर शाहले भनेका छन् ।

महानगरवासीको साथबिना समस्याको समाधान निकाल्न सम्भव नहुने उनले बताएका छन् । उनले आग्रह गरेका छन्, ‘अब तपाईँको कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किँदा कुहिने, नकुहिने गरेर कम्तीमा दुई किसिमका फोहोर छुट्टिएर निस्किउन् ।’

कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन गर्न सहज हुने दाबी मेयर शाहको छ । जति सहज व्यवस्थापन हुन्छ, त्यति नै चाँडो महानगरवासी स्वच्छ र स्वस्थ काठमाडौँ बाँच्न पाउने उनले बताएका छन् । यस्तो गर्दा महानगरवासीको कारणले अन्त कसैले रोगी भएर बाँच्नु वा मर्नु पनि नपर्ने उनले जनाएका छन् ।

‘अहिले थुप्रिएको फोहोरलाई नै छुट्टाउन समस्या हुन सक्ला तर हामी विश्वास गर्छौँ, तपाईँहरूले अब हरेक फोहोरलाई कुहिने र नकुहिने गरेर कम्तीमा दुई अलग अलग भाँडोमा राखेर फोहोर व्यवस्थापनमा आफ्नो कर्तव्य पुरा गरिदिनु हुनेछ,’ उनले सबै महानगरवासीसँग अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  १२ : ४५ बजे

मुख्यमन्त्री यादवको आरोप- केही दलले आफू मधेशवादी रहेको झुटा नाटक गर्दैछन्

काठमाडौं– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले केही दलले आफूलाई मधेशवादी

गाजामा भारी वर्षापछि विस्थापित परिवार प्रभावित, संयुक्त राष्ट्रको उद्धार प्रयास जारी

एजेन्सी– गाजामा शुक्रबार परेको भारी वर्षापछि  हजारौं विस्थापित परिवार प्रभावित

नारायणघाट–बुटवल सडक विस्तार राति मात्र

नवलपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको गैँडाकोटमा रातिको समयमा मात्र सडक

विर्तामोडमा एमालेको जनसभा

सुरुङ्गा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी झापाद्वारा बिर्तामोडमा आज

निर्वाचनको वातावरण बनिसकेको छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१