काठमाडौँ- अभिनेता सौगात मल्ल फिल्म निर्माणमा डेब्यु गरेको फिल्म ‘राधा’ मा अन्य अभिनेताले पनि साथ दिएका छन् । फिल्ममा सौगातसँगै निश्चल बस्नेत , खगेन्द्र लामिछाने, दयाहाङ राई, दिव्य देव जस्ता अन्य अभिनेता पनि छन् । आफ्नो निर्माणमा डेब्यु रहेको फिल्ममा अन्य अभिनेताले साथ दिदा सौगात दंग छन् । ‘मलाई कथा मन परेर फिल्म निर्माणमा जोडिएको हुँ । फिल्ममा काम गर्ने भनेर तयार परिएको कथामा आफू परिसकेपछि निर्माता बनेको हुँ’ सौगातले भने । उनले आफ्नो आग्रहलाई स्वीकार्दै स-सानो रोलममा समेत निश्चल, खगेन्द्र र दयाले अभिनय गरिदिएकोमा खुशी छन् ।
‘हाम्रो फिल्मको कथाले पात्रलाई बलियो बनाएको छ । कथा मात्र नभई पटकथा पनि बलियो छ । यसलाई स्टारडमले छोप्दैन’ सौगातले भने । सृष्टि श्रेष्ठ केन्द्रीय भूमिकामा रहेको फिल्ममा अभिनेता तर्फ थियटरका बलिया अभिनेताहरु छन् । ‘म फिल्मबाट नै चिनिएको हु । त्यसैले यही केही गरौँ भन्ने थियो । राधामा जुरेको हो’ सौगातले भने ।
भाद्र २४ लाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘राधा’ प्रिपोन्ड भएको छ । यो फिल्म अब दुई साता अगाडि भाद्र १० मा प्रदर्शनमा आउने भएको हो । सुवर्ण थापा निर्देशित यो फिल्म अब भदौ १० मा प्रदीप ‘प्रकाश’ संग भिड्ने छ । थिएटर पृष्ठभूमिकामा कलाकारको बाहुल्य रहेको फिल्मको सार्वजनिक नयाँ पोस्टरमा सृष्टिले बच्चा बोकिरहेकी छिन् । फिल्ममा मेनुका प्रधान, बुद्धि तामाङ आदिको पनि अभिनय देख्न सकिन्छ ।
प्रतिक्रिया