काठमाडौँ – पछिल्लो समय नेपालमा मंकीपक्स भाइरस भित्रिएको आशंका गरिएको छ । मंकिक्स आशंका गरिएका एक व्यक्ति टेकुस्थित सरुवा रोग अस्पतालमा भर्ना भएपछि मंकिपक्स भित्रिएको आशंका गरिएको हो । यद्यपी रसुवाका २६ वर्षिय ती व्यक्तिमा कुष्ठरोग पुष्टि भएको छ । यसले तत्काल नेपालमा मंकीपक्स नदेखिएको जनाइएको छ । तत्काल पुष्टि नभएपनि नेपालमा मंकिपक्सको जोखिम लगायतका विषयमा सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनसँग गरिएको संक्षिप्त कुराकानीः
अस्पतालमा राखिएका बिरामी शंकास्पद भनिएको थियो । उहाँको अवस्था जटिल थियो र ?
शरीरमा एक किसिमको बिमिरा देखिएको छ भने त्यसलाई मंकीपक्स भाइरस भन्ने आशंका गरेर निगरानीमा राखिएको थियो । तर उनलाई कुष्ठरोग पुष्टि भएको छ ।
दुबईमा उपचार सम्भव नभएपछि उनी नेपाल आएका थिए भनिन्छ ?
अहिले यहाँ राख्नु पर्ने अवस्था भनेको एकदमै सामान्य छ । विदेशबाट आएको र केही खटिरा शरीरमा देखियो भने जँचाउनु पर्दछ भनेर राखिएको हो । कुनै डराउनु आत्तिनु पर्ने अवस्था होइन ।
नेपालमा मंकीपक्स परीक्षण गर्ने कुनै प्रविधि नै छैन ?
नियमित परीक्षण त गरिँदैन । त्यसैले प्रविधि छैन भन्दिन । किनभने पीसीआर सुक्रेन्सिङ भन्ने छ । जुन कोभिडको बेलामा कोभिड पत्ता लगाउन ल्याइएको थियो । त्यसकारण प्रविधि ल्याउन नसक्ने भन्ने हैन तर त्यसको लागि तयारी थियो वा थिएन त्यसमा मलाई पनि जानकारी छैन । तर सबैले चाहने हो भने ल्याउन सकिन्छ ।
मंकीपक्सका लक्षणहरु के–के हुन् ? नेपाल कत्तिको जोखिममा छ ?
अफ्रिकाबाट फैलिएको यो भाइरस जुन हामीले सुन्दै पढ्दै आएको थियौँ । त्यो भन्दा अलिक फरक किसिमले फैलिएको पाइन्छ । तर अफ्रिका भित्रको कुरा गर्ने हो भने ज्वरो आउने जिउ दुख्ने, हात खुट्टा सुनिने र दोस्रो चरणमा साना ठुला खटिरा आउने हुन्छ । यसको मृत्युदर १ देखि १० प्रतिशतसम्म भन्ने गरिन्छ । मध्य अफ्रिका र पश्चिम अफ्रिकामा गरी दुई प्रकारको देखिन्छ । पश्चिम अफ्रिकाको अलि कम घातक मानिन्छ । यदि केही गरी नेपालमा आइसकेको रहेछ भने सहज रुपमा पत्ता लगाउन गाह्रो हुन्छ । किनभने हाम्रो जस्तो देशमा लाजले पनि रोगको सहि रुपमा खुलेुर परीक्षण गराएको पाइदैन । युरोपको कुरा गर्नु पर्दा बाहिरी अङ्गमा भन्दा पनि भित्री अङ्गमा बढी संक्रमण हुने गरेको पाइन्छ । नेपालमा पनि त्यस्तो भयो भने सहजै कति जनामा फैलियो भनेर पत्ता लगाउन सकिँदैन ।
सामान्य व्यक्तिले कसरी थाहा पाउने ? यौनाङ्गमा पनि खटिरा आउँछन् भनिन्छ ?
बिमिरा, ठेउला, दादुरा र घाउ जस्तो देखियो भने यो रोग छाला तथा यौन रोग विशेषज्ञले नै हेर्ने हो । त्यहाँ गएर परीक्षण गरे पछि थाहा हुन्छ । नभए हाम्रो समाजमा सामान्य रुपमा जँचाउने चलन छैन । र यो कतिपय अवस्थामा सामान्य भएर आफै निको हुन्छ । हात र अनुहारमा आयो भने यसको उपचार हुन्छ र पत्ता लगाइन्छ ।
त्यसले भयानक रुप लियो भने स्थिति कहाँसम्म पुग्ला ?
यो अफ्रिकामा फैलिएको छ । त्यहाँ त्यस्तो खासै मानवीय क्षति भएको छैन । त्यसैले धेरै आत्तिन पर्ने अवस्था त छैन । तर यो अहिले यो विश्वभरी निकै सक्रिय भएको हुनाले नेपाल पनि सदस्य राष्ट्र भएको कारणले अलि सतर्कता अपनाउन सबैले आग्रह गरेको पाइन्छ ।
यो मंकीपक्स असुरक्षित यौन सम्पर्कबाट पनि सर्छ भनिन्छ, के यो सत्य हो ?
अफ्रिका भन्दा बाहिर अलि फरक तरिकाले फैलिएको पाइन्छ । जस्तो पुरुष पुरुषबीचको यौन सम्बन्ध, मुखको छिर्काहरु नाक मुख, छालामा पर्यो भने र कोही ठेउला आएको व्यक्तिले प्रयोग गरेको सामान कपडा अरुले प्रयोग गर्याे भने सर्छ भनिएको थियो । अहिले त्यस्तो देखिँदैन र असुरक्षित यौन सम्पर्क पनि हो कि भन्ने आशंका गरिन्छ । यदि त्यस्तो हो भने नेपाल तथा भारत जस्तो देशमा बाहिरी अङ्गमा मात्र देख्दा उपचार हुन्छ । भित्री अङ्गमा आउँदा यो समस्या थप बढ्दै जान्छ ।
विश्वभरको पछिल्लो तथ्यांकलाई हेर्दा कोभिड फर्की फर्की आइरहेको जस्तो देखिन्छ के होला त ?
दोस्रो लहर हाम्रो भयंकर भएको थियो । र अहिले त्यस्तो अवस्था देखिन्न । संक्रमित त भइरहेको छ तर डरलाग्दो अवस्था छैन । खोप पनि प्राय सबै मानिसले लगभग लगाइसके । त्यसैले धेरै संक्रमण भए पनि समाधान हुँदै जादैछ । यो निर्मूल नै त न होला । तर पहिलाको जस्तो भयावह स्थिति हुँदैन ।
कोभिडपछि व्यक्तिमा देखिने शारीरिक समस्याहरू के के हुन सक्छ ?
जुन बिरामीलाई यो समस्या छ । उहाँहरुलाई भर्ना गरेर नै राख्नु पर्ने अवस्था नै पनि छैन । पहिलाको जस्तो अवस्था पनि छैन । बिचको अवस्था छ । सामान्यतया कसै कसैलाई फोक्सोको पनि समस्या पनि भएको देखिन्छ । श्वास प्रश्वाससम्बन्धी समस्या भएको देखिन्छ । अहिले कसैलाई छिटो निको भएको छ र कसैलाई अलि ढिलो भएको छ ।
नेपालमा पछिल्लो समय सरुवा रोगको स्थिति केही तुलनात्मक रुपमा बढेको देखिन्छ ?
यो गर्मी मौसममा बढ्छ । जस्तो ज्वरो हैजा, झाडापखाला, जन्डिस सबै छन् । पहिले देखि नै पहिचान भएका रोगहरु बढी सक्रिय रहेका छन् । त्यसैले समयमा नै सतर्कता अपनाउन निकै आवश्यक छ ।
(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)
प्रतिक्रिया