‘बैंकमा एक प्रतिशतभन्दा बढी शेयर भएकाले कर्जा नपाउने प्रस्ताव गलत छ’ | Khabarhub Khabarhub

‘बैंकमा एक प्रतिशतभन्दा बढी शेयर भएकाले कर्जा नपाउने प्रस्ताव गलत छ’



हामीले जानेर/नजानेर बैंक खोल्यौँ, यसै क्षेत्रलाई अघि बढायौँ । बैंकिङ क्षेत्रको वृद्धि भयो, राम्रो भयो, थप व्यक्ति र समूहहरूले लगानी गरे । शुरूमा त बैंकिङ क्षेत्रमा लगानी गर्ने व्यवसायीमात्र थिए । अधिकांशले आफ्नै हिसाबले लगानी गरेका कारण कुनै बेला धेरै बैंकहरू पनि खोलिए । अहिलेकै स्थिति हेर्ने हो भने बैंकबाट ठूला व्यवसायीले नै बढी कर्जा लिएका छन् । संसारभर नै यस्तै हुन्छ । कर्जा धेरै लिएका तिनै ठूला व्यवसायीले नै बैंकमा लगानी गरेका छन् ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा बैंकमा एक प्रतिशतभन्दा बढी लगानी भएका व्यक्तिले कुनै पनि वित्तीय संस्थाबाट ऋण लिन नपाउने प्रस्ताव छ । तर, त्यसले बजारमा कस्तो इम्प्याक्ट (प्रभाव) पार्छ भनी मूल्याङ्कन गरेको देखिएन । बाफिया संशोधन विधेयकको मुख्य कुरा नै यही हो ।

बैंकले लगानी गर्ने भन्ने कुरा लगानीमै मात्र सीमित छैन । त्यसको अन्यत्र पनि असर हुन्छ । अन्यत्र हेर्ने हो भने विदेशी लगानीकर्ताहरूले समेत बैंकमा लगानी गरिरहेका देखिन्छ । हाम्रो बाफियाले ‘बैंकमा यसैको लगानी हुनुपर्छ, यति प्रतिशत लगानी हुनुपर्छ’ भनेको छ । केन्द्रीय बैंकले नियमन गरेको १५ प्रतिशत न्यूनतम विदेशी लगानी भनेपछि त विदेशी लगानीकर्ता आउन हामीले रोकिरहेका छौँ । हामीले कसलाई दिने कसलाई नदिने भन्ने कुरा त छ नि ! कसलाई लगानी गर्न दिने भन्ने अधिकार राखेर बैंक तथा वित्तीय संस्थामा लगानी खुला गरिदिए हुन्छ । विदेशी लगानी गर्ने, यति प्रतिशत नै लगानी हुनुपर्ने भन्नुहुँदैन । जसले जति गर्ने सक्छ, गरोस् ।

हामीले समग्र विकास चाहन्छौँ भने लगानी आउन दिनुपर्‍यो । त्यसमा यति प्रतिशत नै चाहिन्छ भनेर तोक्नुभएन । लगानी हो, कसलाई कति लगानी गर्ने दिने भन्ने कुरा पनि रहला । त्यसउपर राष्ट्र बैंकले छानबिन गरेर यसलाई लगानी गर्न दिने, यसलाई नदिने भन्दा हुन्छ । ऐन नै बनाएर ‘यस्तो व्यक्तिलाई लगानी गर्न दिनुपर्छ, यस्तोलाई दिनुहुँदैन’ भन्न मिल्दैन । यो कुरा पछि अर्थ मन्त्रालयले गर्दा पनि हुन्छ ।

प्रवर्द्धक शेयर होल्डरलाई १० वर्षको ठाउँमा १५ वर्ष राखेर ‘तिमीहरूले यति समयपछि बेच्न पाउछौँ’ भन्दा केही फरक परेन । बैंकबाट बाहिरिने बाटो पनि दिनुपर्‍यो  

मौजुदा बाफियाले १० वर्षपछि बैंकको प्रवर्द्धक (प्रोमोटर) शेयर बेच्न पाउने भनेको छ । अहिले पनि प्रवर्द्धकले बैंकको ५१ प्रतिशत शेयर होल्ड गरेको अवस्था छ । शुरूमा होल्ड गराउने कुरा राम्रो होला । प्रवर्द्धक शेयर होल्डरलाई १० वर्षको ठाउँमा १५ वर्ष राखेर ‘तिमीहरूले यति समयपछि बेच्न पाउछौँ’ भन्दा केही फरक परेन । बैंकबाट बाहिरिने बाटो पनि दिनुपर्‍यो ।

एकातिर विदेशी लगानीकर्तालाई आउन नदिने, अर्कातिर प्रवर्द्धकहरूलाई बेच्ने ठाउँ पनि नदिने हुनुहुँदैन । व्यापार गर्ने व्यक्ति, जसले बैंकमा लगानी गरिसकेका छन्, उनीहरूले बाहिरिने बाटो नै पाएननन् । अब व्यापारीले बैंकमा लगानी गर्दैनन् । किनभने बैंकमा उनीहरूको थोरैमात्र लगानी छ । धेरै लगानी त उद्योग/व्यवसायमै छ । अब उनीहरूले बाध्य भएर बैंकमा भएको शेयर बेच्नुपर्‍यो ।

बाफिया धेरै नै रोक्ने खालको भयो । हामीले कुनै पनि बाटोहरू रोक्नुभएन । यदि कुनै कुरा रोक्नैपर्ने अवस्था निम्तिएमा नियमनबाटै रोक्नुपर्‍यो । तर, कानूनबाटै सबै रोक्न दिनु त भएन नि ! त्यस्ता खालका कुरामा राष्ट्र बैंकलाई अधिकार दिएर उसैले छानबिन गरेर दिने/नदिने निर्णय गर्दा हुन्छ । त्यसो भयो भने भोलि हामीलाई काम गर्ने सजिलो हुन्छ ।

बैंकको एक प्रतिशत शेयर भएका प्रवर्द्धकले कुनै पनि बैंकबाट कर्जा लिन नपाउने भन्ने त भएन नि ! हामीले ढोका ठप्पै बन्द गर्न खोज्यौँ । कतिपय देशहरूमा अरू बैंकबाट मात्र होइन, आफ्नै बैंकबाट पनि विवरण देखाएर ऋण लिन पाउने भन्ने व्यवस्था छ । जस्तो – आज म नबिल बैंकमा अध्यक्ष छु । अन्य कतिपय देशहरूमा भएको भए मैले नबिल बैंकबाटै ऋण लिन पाउँथे । किनकी ती देशमा त्यसरी ऋण लिन पाउने खालको व्यवस्था छ ।

हामी एकातिर व्यवसायी प्रवर्द्धन गर्ने भन्छौँ, अर्कातिर व्यवसायीलाई रोकिरहेका छौँ । व्यवसायीहरूले त व्यवसाय जसरी भए पनि चलाउनुपर्ने हुन्छ नि ! त्यसो गर्न जसरी भए पनि उनीहरू बैंकको शेयर बेच्न बाध्य हुन्छन् । त्यसपछि बैंकको शेयर स्टक मार्केटमा कसले किन्ने ? सबैले बेच्दा त किन्ने व्यक्ति नै नपाउने अवस्था आउनसक्छ ।

सञ्चालक समितिमा महिला

सञ्चालक समितिमा समावेशीता ठीक छ । तर, अप्ठेरो पार्ने खालका प्रावधान राख्नुहुँदैन । विदेशका उत्कृष्ट कम्पनीहरूमा पनि महिलाको सहभागिता कम भयो भन्ने कुराहरू आएको छ । त्यहाँ पनी उनीहले महिलाको सहभागिता बढाउन खोजेजस्तो देखिन्छ । नेपालमा पनि त्यो कुरा ल्याउँदा त्यसलाई नराम्रो रूपमा हेर्नुहुँदैन ।

हाम्रोमा बैंकिङ क्षेत्रले इतिहास रचिसक्यो । बैंक खुलेका यत्तिका वर्ष भइसक्यो । त्यसमा मजस्तो लामो समय बैंकमा काम गरेर रिटायर्ड (निवृत) भएका व्यक्तिहरूले बैंकमै योगदान गर्न सक्छौँ । तर, बैंकमा आउने वतावरण बनाइदिनुपर्‍यो । त्यस निम्ति १०–२० हजार रुपैयाँको भत्ता दिएर मात्र त हुँदैन ।सञ्चालकलाई दिने सेवासुविधाको विषय त राष्ट्र बैंकले नै तोकेको छ । हाम्रो कानूनमै भत्ताभन्दा बढी केही लिन नपाइने भन्ने छ ।

रिटायर्ड भइसकेका बैंकर्सहरूलाई सञ्चालन गर्ने खालको या पार्टटाइम काम गर्न दिने सिस्टम त छिमेकी भारत लगायत देशहरूमै छ । त्यस्तो व्यवस्था भएको खण्डमा अनुभवी बैंकरहरूले सेवानिवृत भएपछि पनि बैंकलाई राम्ररी अघि बढाउन सहयोग गर्नसक्छ । कहीँ केही समस्या रहेछ भने नजिकै बसेर गाइड गर्न सक्छ । हामीले अब यसतर्फ पनि सोच्नुपर्छ, आवश्यक वातावरण तयार गर्नेतर्फ लाग्नुपर्छ ।

हामीकाँ यत्तिका बैंकर्सहरू रिटायर्ड भएर बसिरहेका छन् । उनीहरूको दक्षता र अनुभव उपयोग गर्नु राज्यको दायित्व पनि हो । हाम्रो कतिपय बैंकहरू ठीक ढङ्गले सञ्चालन गर्न नसक्दा समस्या निम्तिएको पनि देखिरहेका छौँ । त्यसमा विज्ञहरूलाई ल्याएर काम गर्ने खालको वातावरण बनायो भने राम्रो हुन्छ । त्यस्ता व्यक्तिलाई बैंकको बोर्डमै राखेर पनि धेरै काम गर्ने सकिने अवस्था हुन्छ । व्यवसायीलाई बैंकको बोर्डमा विस्तारै कम गराउँदै जानेतिर लाग्ने कुरा मान्न सकिन्छ । तर, बैंकिङ व्यवसाय गर्ने बाटो नै रोक्ने खालको कुरा हुनुहुँदैन । (कुराकानीमा आधारित ।)

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ६ : ४२ बजे

इरानको बैंकमा व्यापक साइबर हमला, सेवा प्रभावित

काठमाडौं– इरानको बैंकमा व्यापक साइबर आक्रमण भएको छ । इरानको

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

भरतपुर– पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः सञ्चालनमा आएको

इजरायलको चौथो एफ ३५ खसालेको इरानको दाबी

काठमाडौं– इरानले इजरायलको अमेरिकामा निर्मित अर्को एफ ३५ लडाकु विमान

भाषिक विवादमा फसेका नायक कमलाई राहत, अदालतले भन्यो- अनिवार्य रूपमा फिल्म प्रदर्शन हुनुपर्छ

काठमाडौं – भाषिक विवादमा फसेका दक्षिण भारतीय नायक कमल हसनलाई

मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय मातहत भएका