संघीय संसदका पदाधिकारी तथा सदस्यहरू र कर्मचारीहरूको बलियो सहकार्यले मात्र संसदलाई अझ सक्षम, प्रभावकारी र जवाफदेही बनाउन सकिन्छ भन्ने मलाई लाग्दछ । म संघीय संसद सचिवालयका सबै कर्मचारीप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु, जसले आफ्नो निष्ठा, लगनशीलता, दक्षता र मेहनतबाट संसदलाई सुदृढ र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्याउनुभएको छ ।
संसदको मुख्य काम कानुन निर्माण, संसदीय निगरानीका साथै सरकारलाई जनताप्रति उत्तरदायी बनाउन निरन्तर खबरदारी गरिरहनु हो । आजको संसदले आफ्नो मुख्य काममा कति प्रभावकारी भूमिका निर्वाह गरिरहेको छ ? संसद सेवा र यसको आकर्षण, संघीय संसदको जिम्मेवारी र सांसदहरूको भूमिका कस्तो छ ? २३ वर्षअघि जुन लक्ष्य, उद्धेश्य र सोच लिएर अलग्गै संसद सेवा गठन गरिएको थियो, त्यसको लक्ष्यमा हामी पुग्न सक्यौं कि सकेनौं ? स्वायत्त सेवाको रूपमा गठन गरिएको संसद सेवाले संसदको प्रभावकारितामा योगदान दिन के कस्ता बाधा व्यवधानहरू भोगिरहेको छ ? संसद सेवा आफैमा कति स्वायत्त र बलियो छ ? संघीय संसद सेवा दिवस मनाइरहँदा हामीले यस्ता सवालहरूमा विभिन्न फोरममा छलफल गरेर निष्कर्ष निकाल्नुपर्छ भन्ने लाग्छ ।
म विशेष जोड दिएर भन्न चाहन्छु – हरेक वर्ष मनाइने यस संसद सेवा दिवसका सन्दर्भमा मात्र छलफल बहस गरेर पुग्दैन । संसदको आवश्यकताअनुसार संसद सेवाको पुनःसंरचनाका लागि नीतिगत तथा व्यावहारिक पहलकदमी बढाउन जरुरी छ । हामीले संविधानमै राज्यका तीन अंग र तिनको सन्तुलित भूमिकालाई प्रष्ट गरिसकेका छौं । यसका बारेमा धेरै उल्लेख गरिरहनु जरुरी छैन । तर, व्यवहारिक रूपमा त्यसको प्रयोग भइरहेको छ कि छैनन् ? यसबारे हामी सबै पक्षले समीक्षा गर्न जरुरी छ ।
हामीले संविधानमै राज्यका तीन अंग र तिनको सन्तुलित भूमिकालाई प्रष्ट गरिसकेका छौं । यसका बारेमा धेरै उल्लेख गरिरहनु जरुरी छैन । तर, व्यवहारिक रूपमा त्यसको प्रयोग भइरहेको छ कि छैनन् ? यस बारेमा हामी सबै पक्षले समीक्षा गर्न जरुरी छ
संसद सेवा दिवसको सन्दर्भमा हामीले विगतका उपलब्धिमा टेकेर कमी कमजोरीको निर्मम समीक्षा गरि सुधारका लागि नयाँ पहल गर्नुपर्दछ । मलाई के लाग्छ भने संसदलाई अझ सक्षम, प्रभावकारी र बलियो बनाउनका लागि संसद सेवालाई समयानुकूल परिमार्जन गर्न अब ढिलाइ गर्नुहुँदैन । संसद सेवा प्रशासनिकभन्दा प्राविधिक क्षेत्र बढी रहेछ भन्ने मैले महसुस गरेको छु । सभा सञ्चालन तथा व्यवस्थापन र सांसदहरूलाई गुणस्तरीय सेवा प्रवाह गर्नु आफैमा प्राविधिक लगायत विशिष्ट काम हो भन्ने हामीमा बुझाइ छ ।
ऐन कानुन निर्माण, सरकारका कामकारबाहीमा निगरानी जस्ता कार्यहरू विशेषज्ञ समूहबाट हुने कामहरू हुन् । त्यसैले सञ्चार प्रविधिको विकाससँगै हाम्रो संसद सेवालाई प्रविधिसँग जोड्दै प्रभावकारी सेवा प्रवाहका लागि हामीले डिजिटल प्रविधिको अधिकतम उपयोगमा ध्यान दिन जरुरी छ ।
संसदका हरेक गतिविधिमा जनताको सहज पहुँच र सहभागितालाई कसरी बढाउने भन्नेतर्फ पनि हामीले विशेष ध्यान दिनुपर्दछ । संसदका गतिविधिहरूमा जनताको प्रत्यक्ष पहुँच सुनिश्चित गर्न अनलाइन प्लेटफर्ममार्फत् जनताको राय संकलन र उनीहरूको प्रश्नहरूको जवाफ दिने प्रणाली लागू गर्नु उचित हुन्छ । यसका अतिरिक्त संसदका गतिविधि जनतामाझ सहज रूपमा पुर्याउन थप काम गर्न जरुरी छ भन्ने मलाई लाग्छ ।
त्यस्तै विधेयक निर्माणदेखि त्यसको कार्यान्वयनसम्मको प्रक्रियालाई सहज र द्रुत बनाई गुणस्तरीय कानुन निर्माणमा हामीले धेरै नै मेहनत गर्न जरुरी छ । संसदको प्रभावकारिताका लागि संसदभित्र अनुसन्धानात्मक प्रणालीलाई बलियो बनाउन संसदीय अध्ययन अनुसन्धान केन्द्र स्थापना गर्नपर्ने मैले आवश्यकता देखेको छु ।
जनता, सरकार र संसदको सहकार्यलाई प्रभावकारी बनाउन, संसदलाई राष्ट्रिय हितका मुद्दाहरूमा एकताबद्ध बनाउन र जनतामा संसदप्रति विश्वास र सम्मान कायम राख्न संसद सेवाका कर्मचारीहरूको भूमिका महत्त्वपूर्ण रहन्छ भन्ने लाग्छ । यसका लागि संसद सचिवालयका कर्मचारीहरूको दक्षता अभिवृद्धि प्रमुख विषय हुन जान्छ ।
जनताका आकांक्षाको सम्बोधन गर्न र संसदलाई अझ पारदर्शी, समावेशी र जनमुखी बनाउन हामी सबैले प्रयास जारी राखौँ । संसद सेवालाई आकर्षक, सम्मानित एवं गरिमामय सेवा बनाउन मेरो तर्फबाट सदैव पहलकदमी रहनेछ
एकात्मक शासन व्यवस्था रहेको अवस्थामा स्थापना भएको संसद सेवा आज संघीय शासन प्रणाली अनुसार सञ्चालन गर्दा थुप्रै चुनौती र अप्ठ्याराहरू देखिएका छन् । त्यसैले समयानुकूल संसद सेवाको पुनःसंरचना गर्न आवश्यक भइसकेको छ । त्यसका लागि विद्यमान कानुनी व्यवस्था, परीक्षा प्रणाली, कर्मचारीलाई दिइने सेवा सुविधा र संरचनामा पनि परिमार्जन गर्नुपर्छ भन्ने मलाई लागेको छ ।
संघीय संसदको नयाँ भवन यथाशीघ्र निर्माण सम्पन्न गराउने विषयमा हाम्रो तर्फबाट सरकार र सरोकारवाला निकायलाई प्रत्यक्ष अनुगमनका साथै अन्य माध्यमबाट निरन्तर दबाब दिइरहेको विषयमा तपाईँहरू जानकार नै हुनुहुन्छ । नयाँ भवनको निर्माण सम्पन्न नहुँदासम्म उपलब्ध स्रोत साधनको अधिकतम उपयोग र व्यवस्थापन गर्दै अगाडि बढ्नुको हामीसँग विकल्प छैन ।
संसद सेवामा कार्यरत कर्मचारीहरूको वृत्ति विकासमा समस्याहरू रहेकै छन् । यस्ता समस्या समाधानका लागि विद्यमान केही ऐनहरूमा समयसापेक्ष संशोधन र केही कानुनहरू एकीकरण गर्नुपर्ने हामी सबैले महसुस गरेकै छौँ । संसदले दिने परिणाम राम्रो र प्रभावकारी बनाउने उद्धेश्यमा केन्द्रित भइसकेपछि कर्मचारीहरूको वृत्ति विकासमा हामीले कुनै कन्जुस्याँइ गर्नुहुँदैन भन्ने मलाई लाग्छ । तसर्थ संसद सेवामा कार्यरत कर्मचारीहरूको उत्प्रेरणा बढाइराख्न सचिवालय सञ्चालन तथा व्यवस्थापन समिति सदस्यको हैसियतले खेल्नुपर्ने भूमिकामा कमी नआउने कुरामा म विश्वास दिलाउन चाहन्छु ।
अन्तमा, संघीय संसद सेवा दिवसको यस अवसरमा हामीले विगतमा प्राप्त गरेका उपलब्धिमा टेकेर कमी कमजोरीको समीक्षा गर्दै आगामी दिनमा यस सेवालाई अझ प्रभावकारी बनाउनका लागि प्रतिबद्धता व्यक्त गर्नुमा नै हाम्रो इमान्दारिता र जवाफदेहिता झल्किन्छ भन्ने मलाई लाग्छ । जनताका आकांक्षाको सम्बोधन गर्न र संसदलाई अझ पारदर्शी, समावेशी र जनमुखी बनाउन हामी सबैले प्रयास जारी राखौँ । संसद सेवालाई आकर्षक, सम्मानित एवं गरिमामय सेवा बनाउन मेरो तर्फबाट सदैव पहलकदमी रहनेछ ।
(संघीय संसद सेवा दिवस, २०८१ को अवसरमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले दिएका मन्तव्यको सम्पादित अंश ।)
प्रतिक्रिया