काठमाडौँ– नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
आज मन्त्रालयमा भएको भेटवार्तामा नेपाल भारतबीच व्यापार, पारवहन, लगानीलगायत द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको थियो ।
छलफलमा मन्त्री बडूले राजदूत श्रीवास्तवलाई नेपालका लागि राजदूत नियुक्त भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
उनले भारतसँग नेपालको सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्दै द्विपक्षीय सहयोग र सहकार्यबाट दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ गर्न सकिने विचार व्यक्त गरेका थिए । मन्त्री बडूले शिक्षा, स्वास्थ्य, ग्रामीण विकास तथा सूचना प्रविधिलगायत विभिन्न क्षेत्रमार्फत नेपालको विकासका लागि प्राप्त भइरहेको सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिए ।
पारवहन तथा व्यापारका क्षेत्रमा पनि भारत नेपालको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै नेपालमा भारतीय लगानी विस्तारमा नवनियुक्त राजदूतले आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गरेका थिए ।
त्यस अवसरमा नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले विगतदेखि नै नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक, आर्थिक सम्बन्ध प्रगाढ रहेको उल्लेख गर्दै ऊर्जा विकास, पारवहन तथा पर्यटन प्रवर्द्धनलगायतका विषयमा दुई देशबीच सहकार्य गरी द्विपक्षीयसम्बन्धलाई थप सुदृढ गर्न सकिने बताएका थिए ।
त्यसैगरी उनले पेट्रोलियम तथा एल।पि।जी। ग्यासको पाइपलाईन विस्तार, खाद्य परीक्षण प्रयोगशाला निर्माण, पश्चिम सेती जलविद्युत आयोजनालगायत आर्थिक तथा व्यापारिक क्रियाकलापसँग जोडिएका पारस्परिक लाभका विषयमा भारतले नेपालसँग थप सहकार्य गर्न चाहेको धारणा राख्नेका थिए ।
उनले आफ्नो कार्यकालमा नेपाल र भारतबीचको सम्बन्धलाई थप मजबुत बनाउन पहल गर्ने उल्लेख गर्दै मन्त्री एवम् मन्त्रालयबाट सहयोग र समन्वयको अपेक्षा गरेको बताएका थिए ।
सोही क्रममा मन्त्रि बडूले दोधारा—चाँदनीमा एकीकृत जाँच चौकी निर्माण, भारतको धार्चुलासँग जोडिएको दार्चुलास्थित महाकाली नदिमाथि भारतले मोटरेबल पुल बनाउन स्वीकृती प्रदान भइसकेकोले यसको बाँकी प्रक्रियालाई तीब्रता दिन, पेट्रोलियम पाइपलाईन विस्तार आयोजना, पश्चिम सेती जलविद्युत आयोजनाको आवश्यक प्रक्रिया सुरु गर्न र दार्चुलाको दुम्लिङ्गलगायतका स्थानमा नेपाल सरकारको बजेटमा निर्माण हुने झोलुङ्गे पुल निर्माण गर्न भारत सरकारको सहमतिका लागि पत्राचार भएकोले यो प्रक्रियामा पनि राजदूतले आवश्यक समन्वय र सहजीकरण गर्ने अपेक्षा लिएको बताएका थिए ।
भेटवार्तामा मन्त्रालयका सम्बन्धित क्षेत्र हेर्ने सहसचिवलगायत कर्मचारीहरुका साथै परराष्ट्र मन्त्रालयका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया