मेयरको दोहोरो भूमिका : बाहिर असन्तुष्टि, भित्रभित्रै काम नगर्ने ठेकेदारको म्याद थप्न लबिङ | Khabarhub Khabarhub

मेयरको दोहोरो भूमिका : बाहिर असन्तुष्टि, भित्रभित्रै काम नगर्ने ठेकेदारको म्याद थप्न लबिङ


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- बुटवलको चौराह–गोलपार्क सडक विस्तारमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले दोहोरो भूमिका खेलेका छन् । सडक निर्माणमा भइरहेको ढिलासुस्तीप्रति उपमहानगर प्रमुख पाण्डेले सार्वजनिक कार्यक्रममै असन्तुष्टि जनाएका थिए । तर, उनैले निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारको म्याद थप गर्न गोप्य रूपमा लबिङ गरेको पाइएको छ ।

सडक विस्तारको म्याद असार मसान्तमा सकिसकेको छ । निर्माण कम्पनी द कञ्जनजंघा–बिरुवा जेभीले यसअघि निर्धारित म्यादभित्रै सडक निर्माण सक्ने प्रतिबद्धता जनाएको थियो । प्रतिबद्धताअनुसार गत मंसिरदेखि सडक निर्माण अघि बढाएको हो ।

निर्माण कम्पनीको सक्रियता बढेपछि सत्तारूढ दलकै नेताहरूले स्थानीय तहको चुनावमा मुद्दा बनाउन निर्माण कम्पनीलाई  काममा ढिलाइ गर्न आग्रह गरे । ‘सडक नबनेको दोष एमालेको टाउकोमा जाने भएकाले चुनावसम्म सडक निर्माण रोक्न सत्तारुढ दल कांग्रेसकै नेता र हालका उपमहानगर प्रमुख पाण्डेले समेत दबाब दिए,’ एमालेका बुटवल नगर स्तरीय एक नेताले भने, ‘अहिले तिनैले बाहिर असन्तुष्टि जनाउने र भित्र म्याद थप्न लबिङ गर्ने गरिरहेका छन् ।’

चुनावमा सडक निर्माण अघि नबढाउन ठेकेदारलाई दबाब आएको र ठेकेदारले काममा ढिलाइ गरेको आयोजनाका एक कर्मचारीले बताए । ‘सडकलाई राजनीतिक मुद्दा बनाउँदा समयमा हुनुपर्ने काममा ढिलाइ हुन पुग्यो,’ ती कर्मचारीले भने ।

निर्माण कम्पनीका एक इञ्जिनियरका अनुसार चुनावअघि काममा ढिलाइ गर्दा थपिएको म्यादसम्म काम नसकिए पुनः म्याद थप्न सघाउने प्रतिबद्धता सत्तारुढ दलका नेताले जनाएका थिए । सत्तारूढ नेताहरूको चुनावी स्वार्थलाई साथ दिँदै निर्माण कम्पनीले स्थानीय तहको चुनावअघि काममा ढिलासुस्ती गर्दै सम्पर्कविहीन भयो । चुनावपछि काम तीव्र गतिमा अघि बढाएको छनक त दियो तर काम सक्ने सम्भावना थिएन । पहिलेको प्रतिबद्धताअनुसार निर्माण कम्पनीलाई म्याद थप्न लबिङ भएको छ ।

बुटवल उपमहानगरप्रमुख खेलराज पाण्डेले म्याद थप्न सबैभन्दा बढी लबिङ गरिरहेको आरोप छ । निर्माण कम्पनी द कञ्जनजंगा बिरुवा जेभी दुवै सत्तारुढ कांग्रेस निकट निर्माण व्यवसायी हुन् । पार्टी आबद्धताको प्रयोग गर्दै निर्माण व्यवसायीहरू गृहमन्त्री बालकृष्ण खाँणदेखि प्रधानमन्त्री पत्नी आरजु राणासम्मको ढोका ढकढक्याउन पुगिसकेका छन् । बिरुवाका सुमित श्रेष्ठ कांग्रेसका प्रभावशाली नेतासँग पहुँच बनाएका व्यवसायी हुन् । उनी स्वयं कांग्रेसको बाग्मती प्रदेशको राजनीतिमा क्रियाशील रहेका छन् ।

बुटवल उपमहानगर र संघीय सरकारमा कांग्रेसको सत्ता भएका प्रभावशाली नेताहरुसँग पहुँच बनाउन सफल निर्माण कम्पनीको म्याद थप निश्चित भइसकेको सडक विभागका अधिकारीहरु बताउँछन् । त्यसैका लागि सार्वजनिक खरिद ऐनको नियमावलीको १२ औं संशोधन भई बाटो खोलिएको छ ।

बुटवल चौराह–गोलपार्क सडक निर्माण समयमै नगरेर अस्तव्यस्त बनाएको बिरुवाले यस अघि बुटवल–बेलहिया सडक निर्माणको काम अलपत्र छाडेको बुटवल–बेलहिया व्यापारिक मार्ग आयोजनाका प्रमुख दिपककुमार झाले बताए । बिरुवाले बेलहिया नाकामा ७५० मिटर सडकमा आस्फाट प्रविधिको पिच गर्ने काम बाँकी राखेको छ । पडसरीमा पनि केही वर्षदेखि बाँकी रहेको काम अलपत्र छ ।

१८ असार २०७८ प्रमुख जिल्ला अधिकारीको संयोजनमा सरोकारवाला सरकारी निकाय र निर्माण कम्पनीबीच भएको बैठकमा १० दिनभित्र बेलहिया र पडसरीको बाँकी काम सक्ने निर्माण कम्पनीका प्रतिनिधिले लिखित प्रतिबद्धता जनाएका थिए । तर, त्यो प्रतिबद्धता कार्यान्वयन भएन । चौराह–गोलपार्क सडकको काम पनि २०७९ असार मसान्तसम्म सक्ने गरी द्रुत गतिमा गर्ने सहमति भएको थियो । त्यो सहमतिलाई बेवास्ता गरेर निर्माण कम्पनी राजनैतिक लबिङमा लागेको छ ।

सडक आयोजनाका इञ्जिनियरहरु यो निर्माण कम्पनीको नियत नै ठिक नभएको बताउँछन् । नियत ठिक नभएको निर्माण कम्पनीलाई कानुनअनुसार कारबाही गरी अरूलाई पनि सतर्क बनाउनुपर्नेमा उसैलाई संरक्षण गर्ने काम सत्ता नेतृत्वबाट भएको छ ।

यस अघि बुटवल उपमहानगरपालिकाका मेयर एमालेका शिवराज सुवेदी थिए । उनकै कारणले सडक अस्तव्यस्त भएको प्रचार अहिलेका मेयर पाण्डेसहितका कांग्रेस नेताले गरिरहेका छन् ।

मेयर पाण्डेले भने आफूले म्याद थप्न लबिङ नगरेको दाबी गरे । “काम नगर्नेको म्याद थप्न मैले लबिङ गरेको छैन, यस विषयमा मलाई थाहा हुने कुरा पनि भएन,’ उनले भने ।

सडक विस्तारका क्रममा सडक क्षेत्राधिकार मिचेर बनाएका घरहरू भत्काउन तिनै पाण्डेले अवरोध गरेका थिए । सडक क्षेत्राधिकार मिचेर बनाएका घरधनीलाई बोकेर काठमाडौँसम्म पुगेका मेयर पाण्डे बुटवल उपमहानगरपालिकाको आयोजना झैँ गरी यो सडक निर्माणको काम असार मसान्तसम्म सकिने सार्वजनिक कार्यक्रममा बोल्दै हिँडेका थिए ।

अहिले सडक निर्माण अलपत्र अवस्थामा  छ भने अस्पताल लाइनको एकतर्फी एक सय मिटर पिच गर्न एक महिनादेखि सडक बन्द गरिएको छ । त्यसले यहाँको यातायात आवागमन अस्तव्यस्त भएको छ । दुर्गा मन्दिरदेखि अस्पताल लाइनसम्म पहिलेका साना खाल्डाखुल्डी पुर्न भन्दै मिस्कट राखेपछि समयमै अरू काम नहुँदा झन् ठूला खाल्डा परेका छन् । अस्पताल लाइनको सडक पहाडी क्षेत्रको कच्ची सडक झैँ भएको छ ।

आयोजनाका प्रमुख झाले निर्माण कम्पनीको नियत ठिक नभएकाले अहिले अस्तव्यस्त भएको बताए । ‘अब उसको म्याद थप्दा मात्रै काम हुने हो, म्याद थप भएन भने यो सडक फरक ढंगले अघि बढ्छ,’ उनले भने, ‘अहिले काम गर्छु भनेर प्रतिबद्धता जनाइरहेको छ, म्याद थप्ने काम सडक विभागको काम हो ।’

यो सडक विस्तारका लागि निर्माण कम्पनीले २७ चैत २०७३ मा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार १२ असाेज २०७६ मा काम सक्नुपर्ने समयसीमा भए पनि सडक क्षेत्राधिकार मिचेर घर बनाएका संरचनाहरूको अवरोधले काम अघि बढ्न सकेन। घरधनीहरूले सडक विस्तार रोक्न माग गर्दै अदालतमा मुद्दा दायर गरेका थिए । रोकिएको सडक विस्तारको काम अघि बढाउन अदालतको फैसला आएपछि काम अघि बढ्यो । असोज २०७६ मा  पहिलो समयसीमा सकिएपछि २०७९ असारसम्म म्याद थपिएको थियो । पहिले स्थानीयले सडक विस्तारमा अवरोध गरे । पछि निर्माण कम्पनीले कामै गरेन ।

सडक विस्तारमा भइरहेको ढिलासुस्तीले बुटवलको व्यापार व्यवसाय अस्तव्यस्त  भएको छ । बुटवलमा आवागमन सहज नहुँदा महँगो भाडा तिरेर व्यवसाय गरेका व्यवसायीहरू निराश बनेका छन् । कतिपय व्यवसायीले पसल बन्द गरेर अर्कै व्यवसायमा लागेका छन् भने कतिपयले मणिग्रामतिर पसल खोल्न थालेका छन् । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजुले दुई दर्जन व्यवसायी विस्थापित भएको बताए । बुटवलको सडक अस्तव्यस्त हुँदा मणिग्राम वैकल्पिक बजारको रूपमा विकास हुन थालेको छ ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष कसजुले सडक निर्माणमा भएको ढिलाइले बुटवलको व्यापार व्यवसायलाई असर परेको बताए । सडक विस्तार छिटो गर्न पटक–पटक सरोकारवाला निकायमा डेलिगेसन गएको तर काम पटक्कै नभएको उनको भनाई छ । उनले काम नगर्ने निर्माण कम्पनीको म्याद थप्न नहुने बताए ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  १ : ३७ बजे

ह्वाइट हाउसभित्र विश्वलाई तरंगित बनाउने चर्काचर्की, ट्रम्पलाई डटेर दिए जेलेन्स्कीले जवाफ (संवादसहित)

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराराष्ट्रपति जेडी भेन्स र युक्रेनका

महाशिवरात्रिमा पशुपति क्षेत्रमा जम्मा भएको पाँच मेट्रिक टन फोहर सफाइ

काठमाडौं – बाग्मती सफाइ महाअभियानको ६१६औँ हप्ताका अवसरमा आज महाशिवरात्रिमा

नेपाल सम्भावना नै सम्भावनाको कुञ्ज हो : शशाङ्क कोइराला

कास्की – नेपाली कांग्रेसका नेता शशाङ्क कोइरालाले नेपाल असङ्ख्य सम्भावना

लागुऔषध विरुद्धको महाअभियान शुभारम्भ

काठमाडौं – नेपाल प्रहरीले लागुऔषध विरुद्धको महाअभियान कार्यक्रम शुभारम्भ गरेको

सिन्धुलीमा चट्याङ लागेर तीनजना घाइते

सिन्धुली – हरिहरपुरगढी गाउँपालिका–१ बसेरीमा आज साँझ चट्याङ लागेर तीनजना