काठमाडौं- चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको ठूलो ताल फुटेको सूचना प्राप्त भएपछि रसुवामा सतर्कता अपनाउन आग्रह गरिएको छ। गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार चिनियाँ पक्षबाट करिब आधा घण्टाअघि ताल फुटेको जानकारी प्राप्त भएको हो।
अध्यक्ष तामाङले ताल फुटेपछि यसअघि बाढीबाट प्रभावित क्षेत्रमा नै बढी असर पर्ने भएकाले तत्काल ठूलो विनाशको अवस्था नरहेको बताए। यद्यपि रातको समय र उद्धार तथा राहतका काम भइरहेकाले जोखिमलाई ध्यानमा राख्दै सुरक्षित रहनुपर्ने उनको भनाइ छ।
‘पहिला जहाँ बाढी आएको थियो, त्यहीँ नै असर गर्ने भएकाले त्यहाँ ठूलो विनाश भइसकेको छ। पहिलाको जति विनाश हुने अवस्था छैन। तर राहत र उद्धारका लागि त्यहाँ टोली खटिरहेको हुँदा केही समस्या र जोखिम हुनसक्ने जानकारी आएको छ,’ अध्यक्ष तामाङले भने।
उनका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा माइकिङ गरेर स्थानीयवासीलाई सुरक्षित रहन अपिल गरिरहेको छ। विशेषगरी त्रिशूली नदीको बहाव क्षेत्र आसपास जोखिम हुनसक्ने भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ।
अध्यक्ष तामाङका अनुसार रसुवाबाट चीनतर्फ ताल बनेको र फुटेको भनिएको स्थानसम्म पुग्न करिब १७ देखि २० किलोमिटर दूरी रहेको बताइएको छ।
‘चिनियाँ पक्षले जहाँ ताल बनेर फुट्यो भनेको छ, त्यो ठाउँ पुग्न रसुवाबाट करिब १७ देखि २० किलोमिटर लाग्छ। त्यसकारण पनि हामी सुरक्षित हुनुपर्छ। आत्तिहाल्नुपर्ने र ठूलो विनाश हुने अवस्था नरहे पनि रातको समय र उद्धार कार्य भइरहेकाले केही गतिविधि स्थगित गर्नुपर्ने हुन सक्छ। यस विषयमा छलफल भइरहेको छ,’ उनले भने।
स्थानीय प्रशासन तथा सुरक्षा निकायले त्रिशूली नदीको बहाव क्षेत्र र जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई सतर्क रहन तथा आवश्यक परे सुरक्षित स्थानतर्फ जान आग्रह गरेका छन्।












प्रतिक्रिया