काठमाडाैँ– आज दिनभर संसदीय समितिले पर्सि प्रतिवेदन बुझाउने, एसपीपी कार्यान्वयन नगर्ने विषयमा कारण जानकारी गराउन निर्देशन, सरकार नागरिकको विचार अभिव्यक्तिको सम्मान गर्न प्रतिवद्ध रहेको प्रधानमन्त्री देउवाको भनाइ, एसईईको नतिजा सार्वजनिक लगायतका समाचारले प्रमुख स्थान पाए ।
यी हुन् आज दिनभरका शीर्ष समाचारहरूः
संसदीय समितिले पर्सि प्रतिवेदन बुझाउने
निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय छानबिन समितिले शुक्रबार प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
सिंहदरबारमा आज बसेको समिति बैठकले प्रतिवेदन लेखनका बारेमा छलफल गरेको र बिहीबार प्रतिवेदनलाई अन्तिम रुप दिएर शुक्रबार बुझाउने तयारी गरेको समिति सभापति सुरेन्द्र अर्यालले बताए ।
उनले औपचारिक र अनौपचारिक रुपमा समितिले छानबिनका विषयमा छलफल गरेर समान धारणा बनाउने दावी गरे । छलफलका क्रममा आएका फरक मतमा समेत सहमति खोजिने उनको भनाइ छ । सचिव अर्यालले बिहीबार साढे १२ बजे पुन बैठक बस्ने जानकारी दिए ।
एसपीपी कार्यान्वयन नगर्ने विषयमा कारण जानकारी गराउन निर्देशन
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कार्यान्वयन नगर्ने विषयमा अहिलेसम्म अमेरिकालाई पत्राचार नगर्नुको कारणबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा आज बसेको समिति बैठकले एसपीपीका विषयमा विभिन्न निर्देशनहरु दिएको र कार्यान्वयनको अवस्थाका बारेमा सरकारसँग जानकारी माग गर्ने निर्णय गरेको हो ।
समिति सभापति पवित्रा निरौलाले सरकारले एसपीपीबाट फिर्ता हुने निर्णय गरिसकेको अवस्थामा किन पत्रचार नगरिएको हो भन्ने पनि जानकारी माग गरिएको बताएकी छिन् । त्यस्तै बैठकले सेनाका प्रधानसेनापति अस्ट्रेलियामा भैरहेको एक सम्मेलनमा भएको सहभागी भएको विषयमा पनि जानकारी माग गरिएको उनले बताइन् ।
तीन पटकसम्म एसपीपीका सम्बन्धमा भएका कागजात मगाइसकेको र प्राप्त नभएको उनको भनाइ छ । बैठकमा समितिका सदस्य माधवकुमार नेपालले एसपीपीमा नेपाल सहभागी नहुने सरकारको निर्णयबाट फिर्ता हुने अवस्था नरहेको भन्दै सरकारको पत्र अमेरिकालाई पठाउन ढिलाइ भएको बताए ।
त्यस्तै समिति सदस्य प्रकाशमान सिंहले यस विषयमा सवै कागजात मगाएर नै आवश्यक अध्ययन गर्नुपर्ने धारणा राखे ।
बैठकमा समितिका सदस्य ईश्वर पोखरेलले समितिले मागेको कागजात नपठाएर शंकाको घेरा उत्पन्न भएको तर्क गरे । बैठकमा अधिकांश समिति सदस्यहरुले एसपीपीमा नेपाल सहभागी नहुने जानकारीको पत्र अमेरिकालाई पठाउन ढिलाइ हुनुको कारणबारे सरकारले प्रष्ट पार्नुपर्ने धारणा राखेका थिए ।
सरकार नागरिकको विचार अभिव्यक्तिको सम्मान गर्न प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाको भनाइ
प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार नागरिकको विचार अभिव्यक्तिको सम्मान गर्न प्रतिवद्ध रहेको बताएका छन् ।
आज काठमाडौंमा राससको केन्द्रीय कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले आफू सदैव पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा अडिग रहेको भन्दै नागरिकको विचार अभिव्यक्तिको सम्मान गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।
लोकतान्त्रिक शासन प्रणालीमा प्रेस स्वतन्त्रता सम्भव हुने भन्दै उनले लोकतान्त्रिक प्रणालीको पक्षधरतामा मुलुकको प्रेस उभिनुपर्ने उल्लेख गरे । तथ्यहीन, भ्रामक र समाजमा द्वेष फैलाउने वा अतिरञ्जना पैदा गर्ने सूचनाले नागरिकमा भ्रम सिर्जना गर्ने र पत्रकारिताको मूल मर्ममाथि पनि प्रहार गर्ने भएकाले यसप्रति सजक रहन उनले आग्रह गरे ।
उनले नेपालका सञ्चारमाध्यमहरूलाई पनि समय र युग सुहाउँदो रुपमा थप अद्यावधिक र परिमार्जित गर्दै लैजानुपर्ने पनि बताए ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विचार तथा अभिव्यक्ति स्वतन्त्रता प्रेस स्वतन्त्रता र मिडिया बहुलवादप्रति वर्तमान सरकार सदैव प्रतिबद्ध रहेको बताए ।
एसईईको नतिजा सार्वजनिक
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । आज बोर्डको बैठकपछि एसईईको नजिता सार्वजनिक गरिएको हो । परिक्षामा ४ लाख ९५ हजार ७ सय ५१ विद्यार्थी सहभागी भएका थिए । परीक्षामा ३.६१ देखि ४ ग्रेड ल्याउनेको संख्या नौ हजार ६३३ रहेको छ ।
त्यस्तै ४१ हजार ६२७ जनाले ३.२० देखि ३.६०, ६९ हजार ९०० जनाले २.८० देखि ३.२० जीपीए प्राप्त गरेका छन् भने ९० हजार ७५८ जनाले २.४ देखि २.८० जीपीए ल्याएको बोर्डका सदस्य सचिव दुर्गा प्रसाद अर्यालले जानकारी दिए ।
त्यस्तै एक लाख १२ हजार ७३३ जनाले २ देखि २.४ जीपीए ल्याउदा एक लाख ५९४ जनाले १.६ देखि २ जीपीए ल्याएको उनले बताए । त्यस्तै १.२ देखि १.६ जीपीए ल्याउनेको संख्या ४४ हजार ५८६ र ०.८० जीपीएदेखि १.२ जीपीए ल्याउनेको संख्या तीन हजार २८० रहेको अर्यालले जानकारी दिए ।
संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्तिविरुद्धको सुनुवाइ आज पनि भएन
वरिष्ठ अधिवक्ता सुशील पन्तले विपक्षीलाई म्याद तामेल नभएको भन्दै आपत्ति जनाएपछि आज पनि संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्तिविरुद्धको सुनुवाइ हुन सकेन ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु हुनु पूर्व अधिवक्ता पन्तले विपक्षीलाई म्याद तामेल नभएको भन्दै आपत्ति जनाएका थिए । कतिपय विपक्षी निकायलाई म्याद नै जारी नभएको तथा लिखित जवाफसमेत नआएकाले म्याद जारी हुनुपर्ने भन्दै वरिष्ठ अधिवक्ता पन्तले माग गरेका थिए ।
त्यसपछि न्यायाधीश ईश्वरप्रसाद खतिवडाले संवैधानिक निकायमा बस्नेहरूलाई आफ्नो सुनुवाइको मौका दिनुपर्छ भनेपछि आज लागि तोकिएको सुनुवाइ स्थगित भएको हो ।
२७ जना उच्च अदालतका न्यायाधीशका लागि आवेदन माग
न्याय परिषद्ले २७ जना उच्च अदालतका न्यायाधीशका लागि आवेदन माग गरेको छ । आज सूचना प्रकाशित गरी परिषद्ले योग्यता पुगेकाहरूले १० दिनभित्र आवेदन दिन आह्वान गरेको हो ।
सूचनाअनुसार संविधानको धारा १४० को उपधारा (२) बमोजिम उच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेका इच्छुक व्यक्तिले न्यायाधीश नियुक्तिको प्रक्रियासम्बन्धी निर्देशिका, २०७९ को अनुसूची–१ बमोजिम स्वघोषणा पत्र समेत संलग्न गरी आवेदन दिन सक्नेछन् ।
यसैगरी, कानुन व्यवसायीमध्येबाट आवेदन दिन चाहनेहरूले निर्देशिकाको दफा ५ उपदफा (२) को (ग) बमोजिम १० वर्षको कम्तीमा वार्षिक पाँच वटा फैसला वा आदेशका दरले कम्तीमा एक सय फैसला वा अन्तिम आदेशको प्रतिलिपि र तीन वर्षको कानुन व्यवसायबाट आर्जित आयमा कर तिरेको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा कानुन र न्यायको क्षेत्रसँग सम्बन्धित विषयमा प्रकाशित कम्तीमा १० वटा अनुसन्धानमूलक लेख तथा रचना अनिवार्य पेस गर्नुपर्ने परिषद्ले जनाएको छ ।
काठमाडौँको फोहोर भोलिदेखि पुनः व्यवस्थापन हुने
काठमाडौँ उपत्यकाको फोहोर भोलिदेखि पुनः व्यवस्थापन हुने भएको छ । सिसडोलबाट बञ्चरेडाँडासम्म जाने करीब दुई किलोमिटर सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ता उपत्यकाको फोहोर उठ्न सकेको थिएन ।
बाटो मर्मतकै कारण उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापनको काम रोकिएको थियो ।
बाटो मर्मतको काम सकिएकाले भोलि बिहान ६ बजेदेखि साविकबमोजिम नै फोहोर व्यवस्थापन हुने कामपाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालद्वारा जारी सूचनामा भनिएको छ ।
कामपाले यही साउन ४ गते सूचना सार्वजनिक गर्दै एक हप्तासम्म आआफ्नो घर, पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहोरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्न अपिल गरेको थियो ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले गरे पदभार ग्रहण
चलचित्र विकास बोर्ड, नेपालको अध्यक्ष पद मनोनित भएका भुवन केसी पदवहाली गरेका छन् ।
आज चावहिलस्थित बोर्डको कार्यालयमा अभिनेता केसीले अध्यक्षको रुपमा पदभार ग्रहण गरेका हुन् ।
बोर्डको सेवालाई नियमकानूनको परिधिभित्र बसेर सहज ढंगले अघि बढाउने उनले बताए । उनले सरकारले आफुलाई दिएको जिम्मेवारीलाई प्रतिवद्ध भएर अघि बढाउने जिकिर गरे ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई बर्षका लागि बोर्डको अध्यक्षमा केसीलाई मनोनित गरेको थियो ।
भक्तपुरमा गुँला पर्वका अवसरमा धार्मिक कार्य आयोजना हुने
भक्तपुरमा गुँला पर्वका अवसरमा सवाःलाख चैत्य बनाउने धार्मिक कार्य आयोजना हुने भएको छ ।
विभिन्न कारणले रोकिएको उक्त धार्मिक कार्य पाँच वर्ष पछि भक्तपुरका साकोलान टोलका मानन्धर समुदायले आयोजना गर्न लागेका हुन् । गुँला ङक धलं ब्यवस्थापन समितिले आज भक्तपुरमा पत्रकार सम्मेलन गर्दै छुट्टै पहिचान बोकेको सवाःलाख चैत्य बनाउने धार्मिक कार्यलाई यस बर्ष भक्तपुरका मानन्धर समुदायले आयोजना गर्ने जानकारी दिएका हुन् ।
शुरुका समयमा प्रत्येक वर्ष आयोजना गरेको भए पनि पछिलो समय मानव संशाधन, बजेट तथा अन्य समस्याले गर्दा निरन्तरता पाउन सकेको छैन । तर पाँच वर्ष पछि पुन उक्त धार्मिक कार्यक्रमको आयोजना गरिने समितिका सचिव रामकृष्ण मानन्धरले जानकारी दिए ।
गुँलाको पहिलो मंगलबार सुर्यविनायक देवस्थलमा गुँला नौं बाजा बजाउन जाने गरिन्छ । शनिवार अष्टमात्रिका देवस्थलहरुमा बाजा जाने गरिन्छ । सापारुको दिनमा ब्रतपुजा सकाएर ब्रतालुहरु र नौं बाजा सहित नामसंगिति स्तोत्र धर्मग्रन्थ खतमा राखी चारजनाले बोकी नौंबाजा बजाई नगरपरिक्रमा गर्ने गर्दछन ।
भाद्र शुक्लप्रतिपदाको दिनमा पुजाविधि सकाएर एक महिना भरी स्तोत्र पाठ गरी बनाएको सवालाख चैत्य नौबाजा बजाई हनुमानघाटमा विसर्जन गरी गुँला धलं समापन गरिने प्रचलन रहेको समितिले जनाएको छ ।
राजा त्रिभुवन र महेन्द्रले प्रयोग गरेका पुराना गाडीहरु सर्वसाधारणको अवलोकनका लागि खुला
नारायणहिटी दरवार संग्रहालयमा स्वर्गीय राजा त्रिभुवन र महेन्द्रले प्रयोग गरेका पुराना गाडीहरु सर्वसाधारणको अवलोकनका लागि खुल्ला गरिएको छ ।
आज नारायणहिटी दरवार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा संचालन विकास समितिले राजाहरुले प्रयोग गरेका पुराना गाडीहरु सर्वसाधारणको अवलोकनका लागि खुल्ला गरिएको हो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानले उक्त गाडी अवलोकनका लागि उद्घाटन गरेका हुन् ।
संग्रहालयमा स्वर्गीय राजा त्रिभुवनले प्रयोग गरेको फोर्ड कम्पनी क्यानडाद्वारा निर्मित काठको क्यारियर भएको पिक अफ ट्रक राखिएको छ, उक्त ट्रक शिकारमा पनि प्रयोग हुने गरेको जानकारहरुले बताएका छन् ।
त्यस्तै स्वर्गीय राजा त्रिभुवनले नै प्रयोेग गरेको फोर्ड कम्पनीद्वारा निर्मित फ्यामिली कार (बा.अ. २ ) पनि प्रदर्शनीमा राखिएको छ भने स्वर्गीय राजा महेन्द्रले प्रयोग गरेको १९६३ मोडलको कार पनि प्रदर्शनीमा राखिएको छ, उक्त मोडलको कार बेलायती राजप्रासादमा पनि रहेको जानकारहरुले बताएको संग्रहालयमा सूचना अधिकृत बद्धि गुरुङले जानकारी दिए । तीनवटै गाडीहरुका भौतिक तथा यान्त्रिक अवस्था जिर्ण रहेकोमा भौतिक मर्मत तथा रंगरोगन गरी प्रदर्शनमा राखिएको संग्रहालयले जनाएको छ ।
नारायणगढ–बुटवल सडक आयोजना समयमा नै सम्पन्न गर्न निर्देशन
प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणगढ–बुटवल सडक आयोजना सम्पन्न हुने समयमा न्यून प्रगति भएको र आयोजनाको ठेक्का रद्द गर्नुपर्ने अवस्था आउनुको कारण छानविन गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा आज बसेको समिति बैठकले नारायणगढ–बुटवल सडक आयोजनाको अवधि सकिने अवस्थामा समस्टिगत प्रगति १८ दशमलव ४४ प्रतिशत रहेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको न्युन र निराशाजनक प्रगतिको कारणले आयोजनाको ठेक्का नै रद्ध गर्नुपर्ने अवस्था सिर्जना भएको विषयमा छानविन गर्न सरकारलाई निर्देशन दिएको हो ।
बैठकले मित्रराष्ट्रहरुको शर्तसहितको अनुदान र ऋण सहयोगमा निर्माण तथा स्तरोन्नति भइरहेको राष्ट्रिय स्तरका र अन्य सडक तथा पूर्वाधार निर्माणमा समग्र राष्ट्रिय हितलाई ध्यानमा राखेर सम्झौताका शर्तहरुको तत्काल समीक्षा गरी पुनरावलोकन गर्न पनि निर्देशन दिइएको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन् ।
बैठकले अविरल बर्षाका कारण बिभिन्न स्थानका सडकहरु क्षति भएको भन्दै क्षतिग्रस्त सडक तथा पुलहरुको तत्काल मर्मत संभार गरि यातायात सेवालाई सहज रुपमा सूचारु गर्ने आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको सभापति खड्काले बताइन् ।
नगद लुटपाट गरी भाग्दै गरेका दुई जना पक्राउ
काठमाडौंको शान्तिनगरबाट ६१ हजार रुपैयाँ लुटपाट गरी भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–३१ शान्तिनगर तरकारी बजारको गल्लीबाट सर्लाही हरिहरपुर नगरपालिका–९ घर भएका २३ वर्षीय पुरुषको नगद ६१ हजार रुपैयाँ लुटपाट गरी भाग्दै गरेको अवस्थामा २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा ललितपुर सातदोबाटो बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–४ घर भएका २८ वर्षीय दिनेश थापा र ललितपुर इमाडोल बस्ने रामेछाप मन्थली नगरपालिका–७ घर भएका २६ वर्षीय विक्रम तामाङ रहेका छन् ।
वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबबाट फर्किएका ती पुरुष बसमा एयरपोर्टदेखि ललितपुर एकान्तकुनासम्म जाने क्रममा सोही बसमा सवार अपरिचित ५ जनाको समूहले नगद लुटपाट गरी तीनकुने गैरीगाउँमा झरेर भाग्दै गरेको अवस्थामा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले लुटपाट गरेको उक्त नगद सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
हाल फरार घटनामा संलग्न अन्य ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सालका रूख कटान गरेको आरोपमा सातजना पक्राउ
मकवानपुरको हेटौँडास्थित एक सामुदायिक वनमा रहेका ६७ सालका रूख अवैध रुपमा कटान गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका–१४ डाइभर डाँडामा रहेको सामुदायिक वन भित्रका साना तथा ठूला गरी हरिया सालका रूख कटान गरेको आरोपमा वन समितिका सात जनालाई पक्राउ गरिएको हो ।
चुरियामाई उपभोक्ता समितिअन्तर्गत रहेको मध्यवर्ती सामुदायिक वनमा रूख कटानी भएको विशेष जानकारी पाइएपछि पर्सा वन्यजन्तु आरक्षले मध्यवर्ती सामुदायिक वन समितिका पदाधिकारीसहितलाई पक्राउ गरेको जनाइएको छ ।
पक्राउ परेकाहरुलाई म्याद थप गरेर अनुसन्धान भइरहेको आरक्षका सहायक वार्डेन सन्तोष भगतले जानकारी दिएका छन् । उनले पक्राउ परेका सातमध्ये दुईजना ज्येष्ठ नागरिक रहेकाले निजका परिवारको रहोवरमा छाडिएको बताए । उक्त घटनाको अनुसन्धान भइरहेकाले पक्राउ परेकाहरुको परिचय खुलाउन आरक्षले नमानेको बताइएको छ ।
सेयर बजारमा सुधार
सेयर कारोबारमा आज नेप्से परिसूचक २३.८३ अंकले बढेको छ ।
नेप्से २३ दशमलब ८३ अंकले बढेर २ हजार १ सय ११ दशमलब ९९ विन्दुमा पुगेको छ । दोहोरो अंकले बढेको सेयर बजारमा हिजोकोे तुलनामा कारोबार रकम भने केही घटेको छ । आज ३ अर्ब बढीको सेयर कारोबार भयो ।
मंगलबार २२२ कम्पनीको ८७ लाख ४० हजार ५५१ कित्ता सेयर ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ रुपैयाँमा कारोबार भएको थियो ।
आज २२७ कम्पनीको ७५ लाख ८ हजार १८८ कित्ता सेयर ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १४२ रुपैयाँमा खरिदबिक्री भयो । कारोबारमा आएका १३ वटा समूहमध्ये १२ वटाको सूचक उकालो लागेको छ ।
फाइनान्स समूहको सूचक सर्वाधिक ४.१३ प्रतिशतले बढ्दा हाइड्रोपावर समूहको २.६ प्रतिशतले बढ्यो। तर ट्रेडिङको ०.५८ प्रतिशतले घटको छ ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रह्यो। सो कम्पनीको १७ करोड ९४ लाख बढीको सेयर खरिदबिक्री भयो ।
यसदिन २ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो भने ३ कम्पनीको ९ प्रतिशत बढीले मूल्य बढ्यो ।
बैंकहरुबाट ८५ अर्ब रुपैयाँ निक्षेप बाहिरीयो
साउनको सुरुवाती ९ दिनमै वाणिज्य बैंकहरुबाट ८५ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । ९ दिनमै वाणिज्य बैंकहरुबाट सो निक्षेप घटेको नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकले देखाएको छ ।
असार मसान्तसम्म कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा साउन ९ गतेसम्म आउँदा ४४ खर्ब ५७ अर्ब रुपैयाँमा झरेको एसोसिएसनले जनाएको छ । त्यस्तै सो ९ दिनको अवधिमा कर्जा रकम १७ अर्ब घटेको छ ।
असार मसान्तसम्म कुल ४१ खर्ब ७५ अर्ब कर्जा प्रवाह भएकोमा साउन ९ गतेसम्म आउँदा ४१ खर्ब ५८ अर्बमा झरेको छ । समग्रमा गत आर्थिक वर्षमा निक्षेप ३ खर्ब ४० अर्ब थपिएको छ । २०७८ असार मसान्तसम्म कुल ४२ खर्ब १ अर्ब निक्षेप संकलन भएकोमा २०७९ असार मसान्तसम्म ४५ खर्ब ४१ अर्ब कायम भएको थियो ।
२०७८ असार मसान्तदेखि ०७९ असार मसान्तसम्मको अवधिमा कर्जा ३७ खर्ब २१ अर्बबाट बढेर ४१ खर्ब ७५ अर्ब पुगेको थियो ।
प्रतिक्रिया