दिउँसो १ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

दिउँसो १ बजेसम्मका मुख्य १० समाचार


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो २४ घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् ।

दिउँसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्:

१. अमेरिकी विदेशी मन्त्री लुको भ्रमणबारे जानकारी गराउन एमालेको माग 
एमाले सांसद प्रेम सुवालले अमेरिकी सहायक विदेशी मन्त्री डोनाल्ड लुको नेपाल भ्रमणबारे जानकारी गराउन माग गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद सुवालले अमेरिकी मन्त्रीको नेपाल भ्रमणबारे शंका उपशंका उब्जिएको भन्दै स्पष्ट पार्न सरकारसँग माग गरेका हुन् ।

एमसीसी सम्झौता गराउन गत मंसिरमा नेपाल आउनुभएका लु फेरि एसपीसी सम्झौता गराउन आएको भन्दै उनले लुको नेपाल भ्रमणमाथि प्रश्न खडा भएको उल्लेख गरे। मन्त्री लुको भ्रमणका बारेमा सरकारले स्पष्ट गर्नुपर्ने सांसद सुवालको भनाइ छ ।

२. सिद्धबाबाको महायज्ञमा सहभागी भएकोप्रति एमालेको आपत्ति
नेकपा एमालेले बलात्कार आरोपी कृष्ण गिरी (सिद्धबाबा) को धार्मिक कार्यक्रममा सरकारका मन्त्री तथा महान्यायाधिवक्ता सहभागी भएकोप्रति आपत्ति जनाएको छ ।

आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै एमाले सांसद शिवमाया तुम्बाहाङ्फेले सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र महान्यायाधिवक्ता खम्मबहादुर खाती सिद्धबाबाले पशुपतिमा लगाएको यज्ञमा सहभागी भएकोमा आपत्ति जनाएका हुन्।

बलात्कार आरोपीलाई गुरु मानेर हिँड्ने सरकारका मन्त्री र महान्यायाधिवक्ताको कार्यले पीडितलाई झन् मनोवैज्ञानिक असर पुर्‍याउने एमालेको ठहर छ । पशुपतिनाथ परिसरमा सिद्धबाबालाई महायज्ञ गर्न नदिन पनि तुम्बाहाङ्फेले माग गरे।

३. मूल्य मान्यताको राजनीति अन्त्य हुँदै गयो : नेता सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मूल्यमान्यताको राजनीति अन्त्य हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

कांग्रेस महानगरपालिका वडा नम्बर १० इकाई समितिले आज गरेको छलफल कार्यक्रममा उनले दलहरूप्रति वितृष्णा बढ्दै गएकोले ‘पावरवेश’ राजनीति हाबी हुँदै गएको बताए। उनले पावरवेश राजनीति अघि बढ्दा दलहरूप्रति निराशा बढ्दै गएको पनि उल्लेख गरे ।

उनले राजनीतिक दलका कार्यशैली सच्चिनुपर्ने भन्दै प्राप्त उपलब्धिलाई संस्थागत गर्दै जानुपर्नेमा जोड दिए ।

४. अर्थमन्त्री शर्मामाथिको छानबिन समितिले ३ बजे प्रतिवेदन बुझाउने 
तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय छानबिन समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने समय तय भएको छ । सभामुखलाई बुझाए लगत्तै सदनमा पेस गर्ने तयारी छ । हिजो समय सकिएको समितिले आज सभामुखलाई प्रतिवेदन बुझाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार जेष्ठ सदस्यको हैसियतमा समितिको संयोजकत्व गरेका लक्ष्मणलाल कर्णले आज दिउँसो ३ बजे सभामुखलाई प्रतिवेदन बुझाउने तय भएको हो । संसद् सचिवालयका अनुसार संसद् भवन नयाँ बानेश्वरमै सभामुखलाई प्रतिवेदन बुझाइनेछ ।

५. नेपालमा बाघको संख्या दोब्बर पार्ने लक्ष्य पुरा 
नेपालमा बाघको संख्या दोब्बर पार्ने लक्ष्य पुरा भएको छ । नेपालमा बाघको संख्या ३ सय ५५  पुगेसँगै लक्ष्य पुरा भएको हो ।

विश्व बाघ दिवसका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले बाघको सङ्ख्या सार्वजनिक गरेका हुन् ।

सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ९३ बाट बढेर १ सय २५ पुगेको छ । यस्तै बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ बाट बढेर १ सय २५ पुगेको छ भने पर्सा निकुञ्जमा १८ बाट बढेर ४१ पुगेको छ ।

शुक्लाफाँटा निकुञ्जमा १६ बाट ३६ पुगेको छ भने बाँके निकुञ्जमा २१ बाट बढेर बाघको संख्या २५ पुगेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । यसअघि सन् २०१० मा नेपालमा १ सय २१ बाघ रहेका थिए ।

सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा बाघ पाइने १३ मुलुकबीचको सम्मेलनले २०२२ सम्म दोब्बर पार्ने लक्ष्य लिएको थियो । लक्ष्य पुरा गर्ने नेपाल पहिलो राष्ट्र बनेको छ । बाघ पाइने पाँच वटै राष्ट्रिय निकुञ्जमा सङ्ख्या बढेको जनाएको हो ।

६. अब विराटनगरबाटै सवारी चालक अनुमति पत्र 
प्रदेश नं १ को राजधानी विराटनगरबाट सवारी चालक अनुमति पत्र वितरण गरिने भएको छ ।

प्रदेश नं १ का यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्र घिमिरेले यातायात व्यवस्था कार्यालयको सेवा कार्यालय विराटनगरमा लिखित तथा प्रयोगात्मक परीक्षा दिने व्यवस्था  मिलाइएको जानकारी दिए। विराटनगरका सेवाग्राहीले यसअघि सुनसरीको इटहरीबाट सवारी चालक अनुमति पत्र लिँदै आएका थिए ।

यातायात व्यवस्था सेवा कार्यालय विराटनगर–४ मा सवारी चालक अनुमति पत्र लिनका लागि अनलाइन फाराम भर्ने कार्य सुरु गरिएको मन्त्री घिमिरेले बताए। कार्यालयले आगामी एक हप्ताभित्र  लिखित र प्रयोगात्मक परीक्षा लिने व्यवस्था मिलाएको छ ।

७. सिराहामा विद्युत् चुहावट घट्यो
सिराहामा विद्युत् चुहावट घटेको छ । विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि आर्थिक वर्ष २०७८/७९ मा सिराहाको लहान क्षेत्रमा विद्युत् चुहावटमा कमी आएको हो ।

जिल्लामा एक हजार ९७२ नयाँ ग्राहक थपिएका छन् । गत आर्थिक वर्ष २०७७/७८ मा ३२ प्रतिशत विद्युत् चुहावट हुँदै आएकामा आव २०७८/७९ मा विद्युत् चुहावट २५ प्रतिशतमा झरेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख जितेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

 यस्तै आव २०७८/७९ मा विद्युत्को महसुल नबुझाउने एक हजार ७९४ ग्राहकको विद्युत् लाइन काट्दा पाँच करोड दुई लाख ६७ हजार बाँकी बक्यौता रकम असुली भएको प्रमुख यादवले बताउनुभयो ।

८. हेटौँडा उपमहानगरले १० हजार लिटरसम्म पानी निःशुल्क दिने
हेटौँडा उपमहानगरपालिकाले नगरवासीसँग १० हजार लिटरसम्मको खानेपानीको पैसा नलिने भएको छ । उपमहानगरले मासिक १० हजार लिटर पानीको पैसा आफैले तिर्ने निर्णय गरेको हो ।

 खानेपानी व्यवस्थापन बोर्डअन्तर्गत जडान भएका धारामा मात्र यो निर्णय लागू हुने हेटौँडाका उपप्रमुख राजेश बानियाँले जानकारी दिए । हेटौँडामा  खानेपानी बोर्डअन्तर्गतका झन्डै २२ हजार धाराको हकमा मात्र यो निर्णय लागू हुने उनले बताए । यसबाट नगरका एक लाख ४५ हजार जनसङ्ख्या लाभान्वित हुने जनाइएको छ ।

खानेपानी उपलब्ध गराएबापत उपमहानगरले खानेपानी बोर्डलाई वार्षिक रु दुई करोड ३९ लाख ७० हजार उपलब्ध गराउने जनाइएको छ ।

९. रुसी सेनाको आक्रमण युक्रेनको उत्तर तथा पूवी क्षेत्रमा केन्द्रित
रुसी सेनाले युक्रेनको उत्तर तथा पूवी क्षेत्रमा आक्रमण तीव्र बनाएको छ । युक्रेन सेना दक्षिणी शहर खर्सोन फिर्ता लिन अघि बढेसँगै  रुसी सेनाले राजधानी किभलगायतका शहरमा आक्रमण तीव्र बनाएको हो ।

युक्रेको मध्यशहरमा रुसी मिसाइल आक्रमणबाट ५ जनाको मृत्यु भएको छ । सोही आक्रमण परी २६ जना घाइते भएको युक्रेनी अधिकारीहरुले उद्धत गर्दै बीबीसीले जनाएको छ यस्तै युक्रेनको पूर्वी शहर बाखमतमा ३ जनाको मृत्यु भएको छ ।

राजधानी किभ नजिकै रुसी आक्रमणबाट १५ जना घाइते भएका छन् ।

१०. टी–ट्वान्टी ले विश्वका शीर्ष खेलाडीलाई मोटो रकम पारिश्रमिक दिने
युएईको फ्रेन्चाईज क्रिकेट प्रतियोगिता इन्टरनेसल लिग टी–ट्वान्टी ले विश्वको शीर्ष खेलाडीलाई मोटो रकम पारिश्रमिक दिने तयारी गरेको छ ।

पहिलो संस्करणका लागि आईएल टी–२० ले विश्वका शीर्ष खेलाडीलाई एक सिजनमा ४ लाख ५० हजार अमेरिकी डलरसम्म पारिश्रमिक दिने तयारी गरेको क्रिकइन्फोले जनाएको छ । जुन पारिश्रमिक भारतको इन्डियन प्रिमियर लिग (आइपीएल) पछिकै सर्वाधिक बढी हो ।

प्रतियोगिता आगामी जनवरी ६ देखि फेब्रुवरी १२ सम्म आयोजना हुनेछ । प्रतियोगितालाई इमिरेट्स क्रिकेट बोर्ड (इसिबी) ले स्वीकृति दिइसकेको छ । प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा कुल ३४ खेल हुनेछ ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  २ : ०६ बजे

कालीगण्डकीको आँधीघाटमा पक्की पुल निर्माण अन्तिम चरणमा

स्याङ्जा– गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्नेगरी कालीगण्डकी नदीमा निर्माणाधीन पुल

नवलपुरमा बस दुर्घटना हुँदा २३ जना घाइते

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनियी त्रिवेणीमा बस

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा– झापाको बिर्तामोडमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको

एन्फा महिला लिगमा आज दुई खेल हुँदै

काठमाडौं– एन्फा महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।

चलचित्र समीक्षा : साम्बालाको सौन्दर्य

मीन भाम निर्देशित साम्बाला बौद्ध दर्शनमा आधारित आदिवासी कथामा निर्मित