दिउँसो १ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

दिउँसो १ बजेसम्मका मुख्य १० समाचार


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउँसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्: 

१. अर्थमन्त्रीमा पुनः जनार्दन शर्मालाई नियुक्त गर्ने 
नेकपा माओवादी केन्द्रले अर्थमन्त्रीमा पुनः जनार्दन शर्मालाई नियुक्त गर्ने भएको छ ।

 माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् । शर्मालाई आज साँझ शपथ ग्रहण गराउने तयारी छ ।

२. गठबन्धन गर्दा आफ्नो पार्टीलाई घाटा लाग्यो : माधव नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दा आफ्नो पार्टीलाई घाटा लागेको बताएका छन् ।

एकीकृत समाजवादी डोटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनको गीत मात्रै गाउँदा स्थानीय तहमा अपेक्षा गरे अनुसारको नतिजा नआएको जिकिर गरेका हुन्।

गठबन्धन भनेर मात्र नहुने र सबै बफादार हुनुपर्ने उनले उल्लेख गरे। उनले निर्वाचनअघि कुनै पनि पार्टीसँग एकता नहुने  पनि स्पष्ट पारे ।

३. भाडा वृद्धिको माग गर्दै पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित
ढुवानी भाडा वृद्धिको माग पुरा नभएको भन्दै पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित भएका छन् ।

बढेको पेट्रोलियम पदार्थको मूल्य अनुसार ढुवानी भाडा समायोजन नगरिँदा आफूहरूलाई नोक्सान भएको भन्दै व्यवसायीहरूले भाडा वृद्धि नभए पेट्रोलियम ढुवानी रोक्ने चेतावनी दिएका छन् ।

महासंघका अध्यक्ष खगेश्वर बोहोराले विज्ञप्ति जारी गर्दै ढुवानी भाडा समायोजनको माग पुरा गर्न निगमलाई आज साँझसम्मको समय सीमा तोकिएको जानकारी दिए ।

सञ्चालक समितिमा विचाराधीन भाडा समायोजनको मुद्दा आजसम्म सम्बोधन नभए साउन २१ गतेबाट देशभरको पेट्रोलियम ढुवानी रोक्ने विज्ञप्तिमा उल्लेख छ ।

४. छुट्टै महानगर सञ्चालन ऐन ल्याउन माग
पोखरामा भएको पहिलो मेयर सम्मेलनले छुट्टै महानगर सञ्चालन ऐन ल्याउन माग गरेको छ। सम्मेलनले ७ बुँदे घोषणापत्र जारी गर्दै सार्वजनिक खरिद ऐन तत्कालै संशोधन गर्नुपर्ने माग गरेको छ।

पोखरामा दुई दिनसम्म चलेको मेयरहरूको सम्मेलनपछि आज संयुक्त घोषणापत्र जारी गर्दै ६ वटै महानगरका मेयरहरूले महानगरपालिकाका लागि छुट्टै ऐनको आवश्यकता औँल्याउँदै संसदबाट ऐन जारी गर्न माग गरेका हुन्।

५. भूकम्पबाट भोजपुरमा दुई घर भत्किए
भूकम्पबाट भोजपुरको भोजपुर नगरपालिका –१२ टक्सारमा दुई घर भत्केको छ । यस्तै खोटाङको साकेला गाउँपालिकामा पनि भूकम्पको कारण  एउटा कच्ची घर भत्किएको छ।

आज बिहान ८ बजेर १३ मिनेटमा खोटाङको मार्तिमविर्ता केन्द्रबिन्दु बनाएर गएको भूकम्पले भोजपुरका स्थानीय प्रमोद हलवाईको घर भत्किएको हो ।

जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले  हालसम्म क्षतिको विवरण आइ नसकेको बताए। आज बिहान खोटाङ केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो।

६. मुगु र जुम्लाको सिमानामा जिप  दुर्घटना हुँदा एकको मृत्यु
मुगु र जुम्लाको सिमानामा पर्ने बुलबुले मैपानीमा जिप दुर्घटना हुँदा एक यात्रुको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा छायाँनाथ रारा नगरपालिका–२ तलितुम तिरुवा बाडा गाउँका २४ वर्षीय दीपक तिरुवा रहेका छन् । सुर्खेतदेखि मुगु गमगढी तर्फ आउँदै गरेको लु १ ज ३७५४ नम्बरको जिप मुगु र जुम्लाको सिमाना पर्ने बुलबुले मैपानी भन्ने स्थानमाआज विहान दुर्घटना भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

७. चन्द्रागिरि नगरपालिकाले ‘घरदैलो नर्स सेवा’ सञ्चालन गर्ने
चन्द्रागिरि नगरपालिकाले नगरवासीको स्वास्थ्यलाई ध्यान दिँदै आफ्ना सबै वडामा ‘घरदैलो नर्स सेवा’ सञ्चालन गर्ने भएको छ ।

यो सेवाबाट विशेष गरी ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती, फरक क्षमता भएका तथा विपन्नहरूलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग मिल्ने जनाइएको छ ।

नगरप्रमुख घनश्याम गिरीले यसै वर्षदेखि नगरका १५ वटै वडामा ‘घरदैलो नर्स सेवा’ थालनी हुने जानकारी दिए।

८. पाकिस्तानको सिन्धप्रान्तमा बाढीका कारण ३० भन्दा बढी गाउँ डुबानमा
पाकिस्तानको सिन्धप्रान्तमा बाढीका कारण थप ३० भन्दा बढी गाउँ डुबानमा परेका छन् ।

बलुचिस्तानबाट बाढी सिन्धप्रान्तमा प्रवेश गरेपछि पछि पहाडी ३० भन्दा बढी गाउँ डुबानमा परेका हुन् । यसअघि सो क्षेत्रमा २० गाउँ डुबानमा परेका थिए ।

एआरवाई न्युजका अनुसार प्रभावित क्षेत्रका जनता आफ्नो ज्यान जोगाउन पहाड र सुरक्षा घाटमा शरण लिन बाध्य भएको स्थानीय स्रोतले जनाएको छ ।

९. मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब रियल मड्रिडकोे जित
प्रि–सिजन टुर अन्तर्गतको मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब रियल मड्रिडले जित निकालेको छ ।

अमेरिकाको क्यालीफोर्नियामा आज बिहान भएको खेलमा रियलले इटालियन क्लब युभेन्ट्सलाई २–० गोल अन्तरले  पराजित गरेको हो ।

रियललाई जित दिलाउन करिम बेन्जिमा र मार्को एसेन्सियोले एक एक गोल गरे ।

१०. साफ यू–२० च्याम्पियनसिपमा नेपाल र भारत भिड्दै
साफ यू–२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज तेस्रो खेलमा साविक विजेता भारतको सामना गर्ने भएको छ ।

नेपाल र भारतबीचको खेल बेलुका ७ः१५ बजे सुरु हुनेछ । भारतविरुद्ध मैदान उत्रँदा नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  १ : ३५ बजे

कालीगण्डकीको आँधीघाटमा पक्की पुल निर्माण अन्तिम चरणमा

स्याङ्जा– गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्नेगरी कालीगण्डकी नदीमा निर्माणाधीन पुल

नवलपुरमा बस दुर्घटना हुँदा २३ जना घाइते

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनियी त्रिवेणीमा बस

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा– झापाको बिर्तामोडमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको

एन्फा महिला लिगमा आज दुई खेल हुँदै

काठमाडौं– एन्फा महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।

चलचित्र समीक्षा : साम्बालाको सौन्दर्य

मीन भाम निर्देशित साम्बाला बौद्ध दर्शनमा आधारित आदिवासी कथामा निर्मित