बन्दीपुर केबुलकार र आईपीओ एकैसाथ खुला हुने « Khabarhub

बन्दीपुर केबुलकार र आईपीओ एकैसाथ खुला हुने


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको केबुलकार र आईपीओ एकैसाथ खुल्ने भएको छ । आईपीओका लागि एसबिआई मर्चेन्टसँग सम्झौता भइसकेको र केबुलकार आगामी वैशाखदेखि सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।

समयअनुरूप पर्यटकहरूलाई नयाँपन दिनका लागि केबुलकारभित्र रेष्टुरेन्ट सञ्चालन गर्ने योजना रहेको बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए। प्रत्येक दिन साँझ ५ बजेपछि केबुलकारले मानिस बोक्ने व्यवस्था बन्द गरी उक्त सेवा सञ्चालन गरिने उनले बताए।

उक्त समयपश्चात् इच्छुक पर्यटकहरूले केबुलकार रिजर्भ गरी केबुलकार भित्रको रेष्टुरेन्टमा मनोरञ्जन लिन पाउनेछन् । केबुलकारभित्र ग्लासको क्याबिन जडान गरिनेछ  । उनले भने, “रेष्टुरेन्टका लागि रु. २५ हजार शुल्क तिरेपछि खाना, बस्न, सुत्न लगायतका सबै सुविधाको व्यवस्था हुनेछ ।”

केबुलकार भित्रै शौचालय सहितको सुविधा सम्पन्न बनाउनका लागि  कति लोड धान्न सक्छ भनेर अनुसन्धान कार्य पनि भइरहेको उनले बताए । अघिल्लो दसैँ देखि केबुलकार सञ्चालन गर्ने तयारी गरिए पनि कृत्रिम अभावका कारण सामान समयमा पाउन नसक्दा निर्माणमा ढिलाइ हुन गएपछि अन्य थप सुविधा थप्दै व्यवस्थित गर्न लागेको उनले बताए ।

आगामी नयाँ वर्षदेखि केबुलकार सञ्चालनमा ल्याउने गरी काम थालिएको उनले जानकारी दिए। केबुलकारका लागि आवश्यक पर्ने सामान र जनशक्ति बाहिरबाट ल्याउनुपर्ने भएकाले ल्याइसकिएको उनले बताए । केबुलकारबाट बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेसन र सोही वडाको बरालथोकसम्म एक किलोमिटर छ सय मिटर दूरीको यात्रा गर्न पाउनेछन् ।

एसियाकै ठूलो दाबी गरिएको बिमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रबिन्दु बन्ने विश्वास गरिएको छ । बन्दीपुर केबुलकार एन्ड टुरिजमको लागत रु एक अर्ब ६६ करोड ८९ लाख रहेको बताइएको छ । केबुलकार र चार तारे होटेल निर्माणसहित कूल रु तीन अर्ब लगानी हुने देखिएको अध्यक्ष शर्माले बताए। पहिला गरिएको सामानको इष्टिमेटको तुलनामा कम्तीमा २५ प्रतिशत सामानको मूल्य वृद्धि भएकाले लागत बढ्ने सङ्केत देखिएको उनले  जानकारी दिए।

केबुलकारसँगै आईपीओ सुरु 

यसैगरी बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडले केबुलकारसँगै आईपीओ सुरु गर्ने जनाएको छ । आईपीओका लागि एसबिआई मर्चेन्टसँग सम्झौता भइसकेको जनाइएको छ । केबुलकार र आईपीओसँगै सञ्चालनमा ल्याइने गरी काम अघि बढाइएको अध्यक्ष शर्माले बताए।

शेयर निष्कासन गरी २० प्रतिशत सर्वसाधारणलाई र १० प्रतिशत कम्पनी भित्रका कर्मचारीहरुलाई प्रदान गरिनेछ । यसअघि बन्दीपुर केबुलकारमा एक हजार चार सय जनालाई शेयर वितरण गरेको छ ।  उक्त परियोजनामा आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्शन लिमिटेड र टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेडको ६१, पञ्चासे केबुलकार एन्ड टुर्स लिमिटेडको २५ र बन्दीपुर गाउँपालिकालगायत स्थानीय लगानीकर्ताको १४ प्रतिशत शेयर रहेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  १ : ३१ बजे

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री