साँझ ५ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

साँझ ५ बजेसम्मका मुख्य १० समाचार


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । साँझ ५ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्: 

 १. जबराविरुद्धको महाअभियोग प्रस्ताव पास गर्नुपर्नेमा सासंदहरुका जोड  
प्रमुख प्रतिपक्षी दलका सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गराएको महाभियोग प्रस्ताव नियत बस लम्बाइएको आरोप लगाएका छन् भने सत्तापक्षका सांसदहरूले महाअभियोग प्रस्तावको बचाउ गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा महाअभियोग प्रस्तावमाथिको छलफलमा भाग लिँदै एमालेका सांसद भीम रावलले देश निर्वाचनमा जान लागेको बेला समयमा नै महाअभियोगको प्रस्ताव अघि बढ्न नसकेको बताएका हुन् । उनले प्रधानन्यायाधीशमाथिको छानबिन समितिको औचित्यमाथि पनि प्रश्न उठाए ।

उनले देशको न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकामा विकृतिको थुप्रो लाग्नु देशका लागि राम्रो नभएको जिकिर गरे त्यस्तै एमालेका अर्का सांसद महेश बस्नेतले महाभियोगलाई लम्बाउनका लागि धेरै पनि सदनमा छलफल गर्न खोजिएको आरोप लगाए ।  उनले न्यायालयलाई धज्जी उडाउने काम कार्यपालिकाले गर्नु गम्भीर विषय भएको बताए ।

त्यस्तै एमालेका अर्का सांसद खगराज अधिकारीले गठबन्धनले अदालतलाई कार्यपालिकाको नियन्त्रणमा राख्ने गरी महाभियोग प्रस्ताव ल्याएको जिकिर गरे ।

यस्तै बैठकमा कांग्रेसका सांसद मीन विश्वकर्माले प्रधानन्यायाधीशले आफ्नो पद अनुसारको काम गर्न नसकेको, बिचौलियाको प्रयोग गरेर फैसलालाई प्रभावमा पार्न खोजेका कारण महाभियोग ल्याउनुपरेको  बताए । गत फागुन १ गते कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का ९८ सांसदको हस्ताक्षरसहित महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।

 २ . सदनमा विभिन्न प्रतिवेदन पेश
प्रतिनिधिसभाको बैठकमा  ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पेश भएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले सो प्रतिवेदन पेश गरेका हुन् ।

प्रतिवेदन पेश गर्दै सभापति सुवेदीले समितिका नौ वटा बैठकमा छलफल गरी सर्वसम्मत रुपमा  सो प्रतिवेदन तयार पारी सदनमा पेश गरिएको जानकारी दिए ।  सो  विधेयकमाथि कार्यदल गठन गरीसमेत छलफल भएको उनको  भनाइ छ ।

यस्तै बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदन, २०७९ पेश गरेका थिए । बैठकमा उपसभामुख पुष्पा भुसाल गौतमले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाइन् ।

३ . एक साताभित्र प्रहरी समायोजन गर्न मधेस सरकारको अल्टिमेटम  
मधेस सरकारले एक साताभित्र  प्रहरी  समायोजन गर्न  सरकारलाई अल्टिमेटम दिएको छ । मधेस सरकारको गृह तथा सञ्चारमन्त्री भरत साहले  प्रदेश प्रमुख मिश्रमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन–पत्र बुझाउँदै आगामी मसिंर ४ गते हुने निर्वाचन अगावै अर्थात् एक साताभित्र प्रहरी प्रशासन मातहत राख्न अल्टिमेटम दिएका हुन् ।

ज्ञापन पत्रमा नेपालको संविधान को धारा २६८ ले प्रदेश प्रहरी संगठनको व्यवस्था गरेको तथा अनुसूची ६ को क्रमसङ्ख्या १ मा प्रहरी, शान्ति सुरक्षा सम्बन्धी अधिकार प्रदेश सरकारको क्षेत्राधिकार भित्र रहे पनि प्रहरी समायोजन नहुँदा प्रदेश सरकारले सरकारको अनुभूति गर्न नसकेको उल्लेख  गरिएको छ ।

प्रधानमन्त्रीलाई यसअघि पनि ज्ञापन पत्र बुझाइएको भन्दै अब एक साताभित्र प्रहरी समायोजन नगरिए शान्तिपूर्ण अहिंसात्मक आन्दोलन गर्न बाध्य हुने चेतावनी  पनि मधेस सरकारले दिएको छ ।

४ . पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकारले काम गरिरहेको छ : मन्त्री श्रेष्ठ
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले कोरोना महामारीले समस्यामा परेका पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकारले काम गरिरहेको बताएका छन् ।

सिंहदरबारमा आज नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान र काठमाडौँ विश्वविद्यालयबिच होटेल व्यवस्थापन अध्यापन गराउने विषयमा सम्झौता हस्ताक्षर कार्यक्रममा मन्त्री श्रेष्ठले पर्यटन पुर्नउत्थानका लागि सरकारले सार्वजनिक गरेको कार्य योजनालाई कार्यान्वयन गराई समस्यामा परेका पर्यटन क्षेत्रलाई पूर्ववत् रूपमा फर्काउने गरी काम गरिरहेको बताएका हुन् ।

उनले पर्यटन क्षेत्रको विकासका लागि सरकारले अघि सारेको कार्य योजनालाई सबै मिलेर कार्यान्वयन गर्न सके नेपालमा अपेक्षित भन्दा धेरै पर्यटक भित्रने दाबी गरे ।उनले बागमती बाहेकका ६ वटा प्रदेशमा प्रतिष्ठान विस्तार गरेर पर्यटन तथा होटेल व्यवस्थापन शिक्षा प्रदान गर्ने गरी काम अघि बढिरहेको जानकारी दिए । काठमाडौँ विश्वविद्यालय र प्रतिष्ठानबिच ६ वटा प्रदेशमा होटेल व्यवस्थापन पढाई गर्ने गरी १० वर्षका लागि सम्झौता भएको हो ।

५ . नेपालमा थप ५५३ जनामा कोरोना पुष्टि  

नेपालमा थप ५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  देशभर गरिएको २ हजार ४० पिसिआर परीक्षणका क्रममा ४ सय ५१ जना र १ हजार ७ सय ४९ एन्टीजेन परीक्षणका क्रममा १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै थप ४ सय ३३ संक्रमित निको  भएका छन् । हाल नेपालमा ५ हजार ६ सय ५९ सक्रिय संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य  मन्त्रालयले जनाएको छ ।

६ . उपत्यकामा पुनः सुरु भयो ‘नो हर्न’ अभियान
काठमाडौँ उपत्यकामा नो हर्न कार्यक्रमलाई पुनः अभियानकै रूपमा अगाडी बढाइएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी र काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहले नो हर्न लेखिएको पहेँलो स्टिकर एक अर्काको सवारी साधनमा टाँसेर कार्यक्रमको समुद्घाटन गरेका हुन् ।

नो हर्न अभियान सफल बनाउनका साथै सडक प्रयोगकर्ताहरूमा सचेतना फैलाउनका लागि पद्मकन्या बहुमुखी क्याम्पसका एक सय जना विद्यार्थीहरू १५ दिनका लागि ट्राफिक प्रहरीसँगै सडकमा खटिएका छन् ।

काठमाडौँ उपत्यकामा ध्वनि प्रदूषण नियन्त्रणका लागि २०७४ साल वैशाख १ गतेबाट नो हर्न लागु गरिएको थियो । जस अनुसार अत्यावश्यक पर्दा बाहेक अन्य अवस्थामा हर्न बजाउन निषेध गरिएको छ ।

७ . एक युवक मृत फेला 
कैलालीमा एक युवक मृत फेला परेका छन् । प्रहरीका अनुसार आज बिहान जिल्लाको गोदावरी नगरपालिका–३ मुक्तिकमैया शिविर बस्ने ३५ वर्षीय श्याम चौधरी मृत फेला परेका हुन।

उनी आफ्नै घरको आँगनमा रहेको जामुनको रुखमा प्लास्टिकको डोरीले पासो लगाएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

८ . गाजामा जारी इजरायली हमलामा इस्लामिक जिहादका शीर्ष कमान्डर मारिए
प्यालेस्टाइनको गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा इस्लामिक जिहादका उच्च कमान्डर खालिद मन्सुर मारिएको लडाकु समूहको सशस्त्र शाखा अल–कुड्स ब्रिगेडले जनाएको छ ।

इजरायली रक्षा बल (आईडीएफ) ले उत्तरी गाजामा इस्लामिक जिहादका एक वरिष्ठ कमान्डर तैसिर जबारी इजरायली हवाई हमलामा मारिएको पुष्टि गरेको छ । ल–कुड्स ब्रिगेडले आज बिहान दक्षिणी गाजामा यसका उच्च–स्तरीय कमान्डर खालेद मन्सुर  गए राति रफाह शहरमा इजरायली हवाई हमलामा मारिएको बताएको छ ।

आईडीएफले शुक्रबार गाजा पट्टीमा प्यालेस्टाइनी आन्दोलन इस्लामिक जिहाद विरुद्ध ब्रेकिङ डन नामक अपरेशन शुरु गरेको छ । यता इजरायली हमलामा मारिएपछि इस्लामिक जिहादका नेता जियाद नाखलाहले तेल अवीवमा क्षेप्यास्त्र आक्रमण गरेर बदला लिने धम्की दिएका छन् ।

प्यालेस्टिनी एन्क्लेभको स्वास्थ्य मन्त्रालयले  हिनो इजरायलको अपरेशन ब्रेकिङ डन अन्तर्गत गाजा पट्टीलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा २४ जनाको मृत्यु भएको र २०३ जना घाइते भएको  जनाएको  छ ।

 ९ . भियनास्थित संयुक्त राष्ट्रसंघका प्रमुखको एक चीन नीतिप्रति स्पष्टोक्ति
संयुक्त राष्ट्रसंघको भियनास्थित कार्यालयले संयुक्त राष्ट्रसंघको महासभाका प्रासङ्गिक प्रस्तावहरूको पालना गर्दै एक चीन नीतिको  पक्षमा रहेको कार्यालयका महानिर्देशकले उल्लेख गरेका छन्।

संयुक्त राष्ट्रसंघको लागुऔषध तथा अपराध नियन्त्रण कार्यालयका कार्यकारी निर्देशक घडा वालीले अमेरिकी सभाकी सभामुख न्यान्सी पेलोसीको चीनको ताइवान क्षेत्रको भ्रमणको प्रतिक्रियामा सिन्ह्वासँगको अन्तर्वार्तामा सो धारणा राखेका हुन्।

उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको  एक चीन नीति बारेको हालैको टिप्पणीलाई उद्धृत गर्दै संयुक्त राष्ट्रसंघ महासभाले पारित गरेको एक चीन नीतिको पक्षमा  विश्व सङ्गठन रहेको बताएका हुन्।

 १०. पीएसजीले स्पेनिस मिडफिल्डर फाबियन रुइज पेनालाई अनुबन्ध गर्ने
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्पेनिस मिडफिल्डर फाबियन रुइज पेनालाई अनुबन्ध गर्ने भएको छ ।

लिग वान क्लब पीएसजीले इटालियन क्लब नापोलीबाट फाबियनलाई अनुबन्ध गर्ने भएको हो ।२६ वर्षीय मिडफिल्डर फाबियन बेटिसबाट नापोली आएका थिए ।

नापोलीका लागि उनले १ सय २५ सिरी ए खेलमा १८ गोल गरेका छन् । स्पेनका लागि उनले १५ खेलमा १ गोल गरेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ५ : ०७ बजे

जलवायु अनुकूलन अबको जीवन पद्धति : मुख्यमन्त्री सिंह

महोत्तरी– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जलवायु अनुकूलनको विषय अब

सागसब्जी खेतीबाटै दैनिक १० हजार कमाई

डोटी– रोजगारीको खोजीमा युवा विदेशिने क्रम बढ्दो छ । भारतसँगै

यो दशैँमा रोकिएला त राजमार्ग छेउका होटलको लुटतन्त्र ?

काठमाडौं – दशैंका बेला काठमाडौं उपत्यकाबाटमात्रै कम्तिमा २५ लाख यात्रु

अन्तराष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन काठमाडौंमा हुने

काठमाडौं– किशोर किशोरीको मानसिक स्वास्थ्यका विषयमा काठमाडौंमा अन्तराष्ट्रिय सम्मेलन आयोजना

पोपद्वारा सुकीलाई शरण दिने प्रस्ताव

एजेन्सी– पोप फ्रान्सिसले हिरासतमा रहेकी म्यान्माकी पूर्वनेता आङ सान सुकीलाई