काठमाडौँ– आज साउन २३, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अगष्ट ८ , २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्:
इजरायली र प्यालेस्टाइनी पक्षबीच युद्ध विरामको सहमति
इजरायल र विद्रोही लडाकु समूहबीचमा युद्ध विराम गर्ने सहमति भएको छ । सोमबार मध्यरातदेखि लागू हुनेगरी युद्ध विरामको सहमति भएको इजरायलका प्रधानमन्त्री याइर लापिडले पुष्टि गरेका छन् ।
लामो समयदेखि उनीहरुका बीचमा युद्ध चलिरहेको भए पनि पछिल्लो तीन दिन लगातार भिडन्त भएको थियो । ठूलो क्षति र सर्वत्रको दबाबपछि युद्ध विराम गर्न दुवै पक्ष सहमत भएका हुन् ।
इजिप्टका मध्यस्थकर्ताहरूको सहयोगमा युद्धविराम भएको खबर थाहा पाएपछि स्थानीय बासिन्दाले खुशीयाली मनाएका छन् । इजरायलबाट भइरहेको आक्रमण रोक्न इजिप्टले पहल गरेर युद्ध विरामको वातावरण बनाएकोमा इस्लामिक जिहादका प्रवक्ताले खुशी व्यक्त गरेका छन् ।
इजरायलले राति इस्लामिक जिहादका प्रमुख भनिएका बसिम सादीलाई पक्राउ गरेपछि तनाव बढेको थियो । इरानले समर्थन गरेको इस्लामिक जिहाद समूह गाजामा सक्रिय सबैभन्दा बलियो विद्रोही समूह मानिन्छ । यस भिडन्तका क्रममा कम्तीमा ५१ मृत्यु भएको थियो ।
पछिल्ला केही दिनयता भएको भिडन्तमा परी यसअघि ४३ जनाको मृत्यु भएको बताइएकोमा इजरायली सुरक्षा फौजले ५१ जनाको मृत्यु भएको पुष्टि गरेकोे हो ।
कुल मृतक मध्ये २४ जना विद्रोही पक्षका लडाकु रहेका छन भने २७ जना गाजा क्षेत्रका स्थानीय बासिन्दा रहेका छन् ।
सरकारी पक्षले भिडन्तका क्रममा मृत्यु भएका ११ जना युद्धमा कुनै पनि पक्षबाट संलग्न नभएको जनाएको छ । घटनामा परी केही बालबालिकाको समेत मृत्यु भएको पाइएको छ ।
“धेरै प्यालेस्टाइनीहरुको मृत्यु इस्लामिक जिहाद समूहका कारणले भएको छ, यसबाट हामीले सिक्न सक्नु पर्दछ,” एक सुरक्षा अधिकारीले भने ।
यता संयुक्त राष्ट्रसङ्घले महासचिव एन्टोनियो गुटर्रेसले इजरायल र गाजामा भएको युद्ध विरामको स्वागत गरेका छन् ।
महासचिव गुटर्रेसले गाजामा भएको आक्रमणबाट यहाँका बालबालिका तथा महिलालगायत सर्वसाधारण नागरिकको ज्यान गएको घटनाबाट आफू दुःखी रहेको बताएका हुन् ।
उनले यस्तो हिंसात्मक हमलाको अन्त्य गरेर सबै प्रकारका समस्याहरूको समाधानका लागि शान्तिपूर्ण माध्यमबाट अघि बढ्न पनि यसअघि आग्रह गरेका थिए ।
संयुक्त राष्ट्रसङ्घका महासचिव गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले महासचिव गुटर्रेसले हाल इजरायल र गाजाका तर्फबाट भएको युद्ध विरामको स्वागत गर्दै आगामी दिनमा दुबै पक्षलाई शान्तिको माध्यमबाट अघि बढ्ने काममा सहयोग गर्ने बताएका जानकारी दिए ।
उनले हिंसात्मक हमलाका घटनाहरू नहोउन् भनेर दुबै तर्फबाट संयमता अपनाउन पनि सबैलाई आग्रह गरेका प्रवक्ता डुजारिकको विज्ञप्तिमा जनाइएको छ ।
ताइवान चीनको हिस्सा : चिनियाँ विदेशमन्त्री यी
चिनियाँ विदेशमन्त्री वाङ यीले ताइवान संयुक्त राज्य अमेरिकाको हिस्सा नभएर चिनियाँ भूमि भएको बताएका छन् ।
अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि अमेरिकी नीतिविरुद्धको पछिल्लो कूटनीतिक आलोचनामा आह्वानमा विदेशमन्त्री वाङ यीको उक्त भनाइ आएको हो ।
बंगलादेश भ्रमणमा रहेका विदेशमन्त्री यीले अमेरिका ताइवान मामिलामा संलग्न भएको आरोप लगाए । ताइवानमा चीनको कार्यहरू न्यायसंगत, उपयुक्त र कानुनी हुनुका साथै देशको पवित्र सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने उद्देश्य रहेको उनले दाबी गरे ।
पेलोसीको ताइवान भ्रमणपछि अमेरिका र चीनबीचको तनाव चर्किएको छ । एसिया भ्रमणका क्रममा सभामुख पेलोसी यसै साता ताइवानको भ्रमण गरेकी थिइन् । अमेरिकाले आगोसँग खेलेको चीनले टिप्पणी गरेको थियो । उनको भ्रमण लगत्तै चिनियाँ जनसेनाले ताइवानको सुरक्षा क्षेत्रमा सैन्य अभ्यास गरेको थियो ।
रोहिंग्या शरणार्थीलाई पुनः स्थापना गर्न बङ्गलादेशद्वारा चीनसमक्ष आग्रह
चीनका विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा रोहिंग्या शरणार्थीलाई म्यानमारमा पुनः स्थापना गर्न चीनबाट सहयोगका लागि बङ्गलादेशले आग्रह गरेको छ ।
भ्रमणका क्रममा दक्षिण एसियाली राष्ट्र बङ्गलादेशको पूर्वाधार विकासका लागि उत्तम व्यापार सम्बन्ध, लगानी र सहयोगको प्रतिवद्धता चिनियाँ विदेश मन्त्रीले गरेका छन् ।
चीनले सन् २०१९ को अगस्तमा म्यानमारमा सैनिक दमनका कारण भागेका करिब सात लाख रोहिंग्या मुस्लिम शरणार्थीहरूलाई पुनस् स्थापना गर्न नोभेम्बर २०१७ को सम्झौता गर्न म्यानमारमा आफ्नो प्रभावको प्रयोग गरेको थियो ।
तिनीहरूलाई फिर्ता पठाउने प्रयास गरे तापनि शरणार्थीहरूले म्यानमारमा आफ्नो असुरक्षा हुनसक्ने भन्दै सम्झौता कार्यान्वयन गर्दा आफूहरूको सुरक्षाको ग्यारेन्टीका लागि अन्तरराष्ट्रिय समुदायसँग माग गर्दै आएको छ ।
सम्झौता कार्यान्वयनमा म्यानमारको प्रशासन इमान्दार नभएको बताउँदै आएका रोहिंग्याहरू गत वर्ष निर्वाचित सरकारलाई अपदस्थ गरी सैन्य सरकार गठन भएपछि थप सशङ्कित बनेका छन् ।
चिनियाँ विदेशमन्त्री वाङ यी शनिबार साँझ ढाका पुगेका थिए । ढाकामा रहाँदा उनले प्रधानमन्त्री शेख हसिना र विदेशमन्त्री एके अब्दुल मोमेनलगायतका उच्च पदस्थ अधिकारीसँग भेट गरेका थिए ।
स्वदेश प्रस्थान गर्नुअघि भएको संयुक्त पत्रकार सम्मेलनमा यीको भ्रमणमा द्विपक्षीय र विश्वव्यापी विषयमा छलफल भएको बङ्गलादेशका परराष्ट्रमन्त्री शाहरयर आलमले बताए ।
कोलम्बियाका राष्ट्रपति पेट्रोद्वारा सपथ ग्रहण
दक्षिण अमेरिकी मुलुक कोलम्बियामा राष्ट्रपतिमा निर्वाचित गुस्ताभो पेट्रोले सपथ ग्रहण गरेका छन् । उनले आइतबार कोलम्बियाको राष्ट्रपतिको रूपमा सपथ ग्रहण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यससँगै उनी कोलम्बियाको पहिलो वामपन्थी राष्ट्रपति बनेका छन् । उनको सपथग्रहण समारोहमा लाखौं मानिसहरुको उपस्थिती रहेको थियो ।
“कोलम्बियाको संविधान र कानूनलाई इमानदारीपूर्वक लागू गर्न म भगवानसँग कसम खान्छु र जनतासँग प्रतिज्ञा गर्छु” ६२ वर्षीय पेट्रोले सपथ ग्रहणका क्रममा भने ।
उनले दशकौंदेखि लागूऔषध विरुद्धको प्रयासलाई लक्षित गर्दै लागूऔषध विरुद्धको युद्ध असफल भएको विषयलाई मान्यता दिन नयाँ अन्तर्राष्ट्रिय महासन्धिको आवश्यकता रहेको टिप्पणी गरेका छन् ।
वन विनाशबाट पीडित कोलम्बियाको अमेजन नदी क्षेत्रका बासिन्दालाई मद्दत गर्न अन्तर्राष्ट्रिय कोष स्थापना गर्न पनि उनले आह्वान गरेका छन् ।
पेट्रोले आफ्नो चार वर्षको कार्यकालमा धनीहरूमाथि कर बढाउने, स्वास्थ्य सेवा र शिक्षामा लगानी गर्ने र गत वर्ष अन्तर्राष्ट्रिय रूपमा आलोचित केही नीतिहरु परिवर्तन गर्ने बाचा गरेका छन् ।
भेनेजुयाली राष्ट्रपति निकोलास मदुरोले पेट्रोलाई भिडियोमार्फत् बधाई दिँदै भनेका छन्, “म कोलम्बियाका जनतालाई र राष्ट्रपति गुस्ताभो पेट्रोलाई मानिसहरू बीचको सम्मान र प्रेमको आधारमा भाइचाराको पुनर्निर्माण गर्न मेरो हात बढाउँनेछु ।”
भारतमा १६ हजारभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमित थपिए
पछिल्लो २४ घण्टामा भारतमा थप १६ हजार जनाभन्दा धेरै कोरोना भाइरसको सङ्क्रमित फेला परेका छन् । सरकारी अधिकारीले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार १६७ नयाँ सङ्क्रमित फेला परेका हुन् ।
यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ४१ लाख ६१ हजार ८९९ सङ्घीय स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको छ ।
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ३६ हजार ५१० रहेको छ ।
यहाँ कोरोना सङ्क्रमणबाट बितेको २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना शुरु भएबाट हालसम्म पाँच लाख २६ हजार ७३० व्यक्तिको मृत्यु भसकेइको छ ।
भारतमा हिजो एक दिनमा १५ हजार ५४९ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३४ लाख ९९ हजार छ सय ५९ जना कोरोना मुक्त भएका छन् ।
एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् ।
भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म २ अर्ब ६ करोड ५६ लाख ५४ हजार ७४१ मात्रा खोप लगाइएको छ ।
भारतमा कोरोना शुरु भएबाट हालसमम ८७ करोड ८० लाख भन्दा बढी व्यक्तिको कारोना भाइरस परिक्षण भएको जनाइएको छ ।
मालीमा भएको आतङ्ककारी हमलामा ४ सैनिकको मृत्यु
पश्चिम अफ्रिकी मुलुक मालीमा भएको आतङ्ककारी हमलामा परी चार जना सैनिकको ज्यान गएको छ ।
त्यहाँका चार जना सैनिक मारिएका मालीको सेनाले प्रकाशन गरिएको विज्ञप्तिमा जनाएको हो ।
साथै सो हमलामा परेर अरु दुई जना सर्वसाधारण पनि मारिएका छन् । सैनिकहरुको गस्तीमा मालीमा रहेको आतङ्ककारी समूहले बम हमला गरेको थियो ।
सो हमलापछि गस्तीमा रहेको मालीको सेनाले पनि प्रत्याक्रमण गरेको थियो । मालीको सेनाको कारवाहीमा पाँच जना आतङ्ककारी लडाकु पनि पनि मारिएका छन् ।
मालीको सैनिकले प्रकाशन गरेको विज्ञप्तिमा सो समूहले मालीको सैनिक गस्तीमा हमला गरेको र त्यसपछि मालीको सैनिकले पनि जवाफी फायर गरेको तथा त्यसमा परी आतंककारी समूहका पाँच जना सदस्य मारिएको दाबी गरेको छ ।
दक्षिण कोरियामा दैनिक कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या घट्दै
दक्षिण कोरियामा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या फेरि घटेको पाइएको छ । स्वास्थ्य अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ५५ हजार २९२ जना सङ्क्रमित भएका छन् ।
योसँगै देशभरी अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ५४ लाख चार हजार ४२० पुगेको छ ।
यसअघि केही दिनदेखि दैनिक एक लाखभन्दा बढी सङ्क्रमित हुने गरेका थिए । अघिल्लो हप्ता औषतमा एक लाख तीन हजार ४११ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अहिले सङ्क्रमित अवस्थामै रहेका मध्ये ३२४ जनाको अवस्था गम्भीर रहेको पाइएको छ । यो सङ्ख्या अघिल्लो दिनको भन्दा २७ बढी हो ।
पछिल्लो एक दिनमा दक्षिण कोरियामा कोरोना कारण २९ जनाको मृत्यु भएको छ ।
योसँगै अहिलेसम्म दक्षिण कोरियामा कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या २५ हजार २९२ पुगेको छ ।
चीनको घरजग्गा बजारमा देखिएको संकटका कारण एसियाकै सर्वाधिक धनी महिलाको सम्पत्ति आधा गुम्यो
चीनमा जारी आर्थिक दुरावस्थाका कारण एसियाकै सबैभन्दा धनी महिलाले पछिल्लो एक वर्षमा आफ्नो आधा सम्पत्ति गुमाएकी छिन् ।
बिलेनियर इन्डेक्सलाई उद्धृत गर्दै बेलायती अखबार द गार्जियनको अनलाइन संस्करणले जनाएअनुसार एसियाकै धनाढ्य महिला याङ हुयियानको सम्पत्ति ५२ प्रतिशतले घटेर ११ अर्ब ३० करोड अमेरिकी डलरमा सीमित भएको छ ।
यसअघि अघिल्लो वर्ष उनको सम्पत्ति २३ अर्ब ७० करोड रहेको ब्लुमबर्ग बिजनेस इन्डेक्सले जनाएको छ । उनी चिनियाँ घरजग्गा कम्पनी कन्ट्री गार्डेनमा बहुमत शेयरधनी रहेको जनाइएको छ ।
उक्त कम्पनीका संस्थापक याङ गुओचियाङकी छोरी समेत रहेकी उनले अधिकांश सम्पत्ति आफ्नो बुवाबाट प्राप्त गरेको द गार्जियनले जनाएको छ ।
पछिल्लो समय चीनमा घरजग्गाको क्षेत्रमा ठूलो वित्तीय समस्या पैदा भएको छ । यसकारण त्यहाँको महत्वपूर्ण घरजग्गा कम्पनी एभरग्राण्ड ऋणमा डुबेको छ भने अरु कम्पनीहरु पनि समस्यामा रहेको जनाइएको छ ।
चिनियाँ घर जग्गा बजारमा देखिएको वित्तीय समस्याले मुलुकका अन्य क्षेत्रलाई पनि प्रभावित बनाउने चिन्ता उत्पन्न भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रतिक्रिया