काठमाडौँ– आज दिनभर अपमानजनक शब्द प्रयोग गरी जारी नागरिकता सच्याउन गृहको निर्देशन, सत्ता गठबन्धनको कार्यदल संयोजकमा सिटौला, सत्ता गठबन्धनको कार्यदल संयोजकमा सिटौला, रेणुका साहकाे मुद्दामा फाइल झिकाउन सर्वोच्च अदालतले आदेश, थप ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि, नर्भिक अस्पताललाई २४ घण्टाभित्र टहरा हटाउन बालेन शाहको निर्देशन लगायतका समाचारले प्रमुख स्थान पाए ।
यी हुन् आज दिनभरका मुख्य समाचारहरू:
अपमानजनक शब्द प्रयोग गरी जारी नागरिकता सच्याउन गृहको निर्देशन
गृह मन्त्रालयले नाम र थरमा अपमानजनक शब्द प्रयोग गरेर बनाएको नागरिकता प्रमाणपत्र सच्याउन निर्देशन दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज एक विज्ञप्ति जारी गरेर अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्न निर्देशन दिनुभएको हो ।
विभिन्न जिल्लाहरुबाट जारी भएका नेपाली नागरिकताका प्रमाणपत्र जारी गर्दा अपमानजनक शब्द राखी जारी भएको सम्बन्धनमा ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ ।
यस्तै, अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउने पनि मन्त्रालयले सम्बिन्धत निकायलाई आग्रह गरेको छ ।
सत्ता गठबन्धनको कार्यदल संयोजकमा सिटौला
आगामी निर्वाचनमा तालमेलको खाका बनाउन सत्ता गठबन्धनले गठन गरेको कार्यदलको संयोजकमा कांग्रेसका नेता कृष्णप्रसाद सिटौला चयन भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पहिलो बैठकले कार्यदलको संयोजकमा सिटौलालाई चयन गरेको हो । कार्यदलले मुल रुपमा सिट बाँडफाँटको प्रतिवेदन तयार पार्ने र शीर्ष नेताहरुलाई बुझाउने कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
बैठकमा कार्यदल सदस्यहरुले गठबन्धनलाई अघि बढाउने बिषयमा आ–आफ्नो पार्टीभित्र भएका छलफलका बारेमा जानकारी गराएका थिए ।
राष्ट्रियसभाको बैठकमा तीन वटा प्रतिवेदन पेश
राष्ट्रियसभाको आजको बैठकमा तीन वटा प्रतिवेदन पेश भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले तीन वटा प्रतिवेदन पेश गरेका हुन् ।
बैठकमा पेश भएका प्रतिवेदनमा न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन, २०७७/७८, राष्ट्रिय महिला आयोगको १४ औँ वार्षिक प्रतिवेदन, २०७७/७८ र महालेखा परीक्षकको ५९ औँ वार्षिक प्रतिवेदन, २०७९ पेश गरिएको हो ।
यस्तै बैठकले ‘कारागार विधेयक, २०७६ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
रेणुका साहकाे मुद्दामा फाइल झिकाउन सर्वोच्च अदालतले आदेश
रेणुका साहलाई उच्च अदालतको न्यायाधीशबाट योग्यताको कारण देखाएर हटाउने न्याय परिषद्को निर्णयसम्बन्धि फाइल झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले आज साहलाई न्यायाधीशबाट हटाउने बेला गरिएको न्याय परिषद्को फाइल इजलासमा ल्याउन आदेश दिएको हो ।
न्याय परिषद्को असार २४ गतेको बैठकले उच्च अदालत तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश साहलाई योग्यता नपुगेको भन्दै पदबाट बर्खास्त गरेको थियो ।
बिभिन्न परिवर्तनमा आदिवासी जनजाति समूदायको योगदान उच्च छ : प्रधानमन्त्री देउवाल
प्रधानमन्त्री शेर बहादुर देउवाले वर्तमान संविधानमा उल्लेख आदिवासीका हकहित स्थापीत गर्न सरकार क्रियाशिल रहदै आएको बताएका छन् ।
विश्व आदिवासी दिवसका सन्दर्भमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले आदिवासी जनजातीको ज्ञान सिप र सांस्कृतिक परम्परालाई संरक्षण गर्दै संविधानमा उल्लेख हकहित स्थापीत गर्न क्रियाशिल रहदै आएको बताएका हुन ।
प्रधानमन्त्री देउवाले आदिवासी जनजातिको पहिचान गरी राज्यको मूलधारमा ल्याएर उनीहरूलाई कुनै पनि किसिमको अवसरबाट बञ्चित हुन नदिन सबै मिलेर काम गर्नुपर्ने बताए । उनले मुलुकको बिभिन्न परिवर्तनमा आदिवासी जनजाति समूदायको योगदानाई उच्च मुल्याङ्कन गरिएको धारणा राखे ।
देश विकासको योजना एमालेसँग मात्रै छ : ओली
नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशका लागि काम गर्ने एक मात्रै पार्टी एमाले भएको बताएका छन् ।
आज रौतहटको गौरमा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देश बनाउने एक मात्र पार्टी एमाले भएको जिकिर गरे ।
एमालेसँग मात्र यो देशलाई कसरी समृद्ध बनाउने भन्ने योजना छ भन्दै उहाँले देश विकासको भिजन भएको पार्टीले मात्र चुनाव जित्ने दाबी समेत गरेका छन । ओलीले तराई मधेसमा हुने डुबान समस्या समाधानका लागि आफूले भारतसँग कुरा गरेको तर अहिलेको सरकारले केही गर्न नसकेको आरोप लगाए ।
जुम्लाबाट चुनाव लड्ने राप्रपाका प्रवक्ता शाहीकाे घाेषणा
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही आगामी प्रतिनिधिसभा चुनावमा जुम्लाबाट उठ्ने घोषणा गरेका छन् ।
काठमाडौंमा आज आयोजित एक कार्यक्रमबीच शाहीले जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा उठ्ने घोषणा गरेका हुन । उनले अहिलेसम्म जुम्लाले धेरै प्रतिनिधि काठमाडौं पठाएपनि कसैले जुम्लाको आवाज नसुनेको बताएका छन् ।
आफुलाई काठमाडौं , चितवन, नवलपरासी रुपन्देहीबाट चूनाव लड्न आग्रह गरेपनि पनि आफूले जन्मथलो जुम्ला रोजेको उनले बताए ।
निर्वाचन घोषणापछि पनि ४० करोड खान खोजिँदै छ : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचन घोषणापछि ४० करोड रुपैयाँ खान खोजिएको आरोप लगाएका छन् ।
निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार कामचलाउ भइसकेको तथा प्रदेश र प्रतिनिधिसभाका सांसदलाई तीन महिना तलब तथा भत्ता दिएर ४० करोड रुपैयाँ व्यर्थ खर्च गर्न खोजिएको आरोप लगाएका हुन ।
राष्ट्रिय स्वतन्त्र पार्टीको काभ्रेपलाञ्चोक जिल्ला भेलालाई बनेपामा सम्बोधन गर्दै लामिछानेले आगामी तीन महिनामा प्रदेशसभा र प्रतिनिधिसभाका सांसदले निर्वाचन प्रचारबाहेकको केही पनि काम नगर्ने भएकाले तलव भत्ता लिन नहुने बताए ।
थप ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको २ हजार ८ सय ६२ पिसिआर परिक्षणका क्रममा ४ सय ९८ जना र २ हजार ४ सय ८९ एन्टीजेन परिक्षणका क्रममा ४ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।। त्यस्तै थप ४ सय ७० संक्रमित निको भएका छन् । हाल नेपालमा ५ हजार ६ सय ८६ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।
नर्भिक अस्पताललाई २४ घण्टाभित्र टहरा हटाउन बालेन शाहको निर्देशन
काठमाडौं महानगरपालिकाले थापाथलीस्थित नर्भिक अस्पताललाई २४ घण्टाभित्र सरकारसँग लिजमा लिएको जग्गामा बनाइएका टहरा हटाउन निर्देशन दिएको छ ।
महानगरपालिका मेयर बालेन्द्र साहले सरकारको नाममा दर्ता कायम रहेको जग्गामा सम्झौता विपरित नक्सा पास नगरी घर टहरा बनाएको भन्दै २४ घण्टाभित्र हटाउन निर्देशन दिएका हुन ।
शहरी व्यवस्थापन विभागका विभागीय प्रमुख सुरज शाक्यको हस्ताक्षरित पत्रमा अन्यथा नियमानुसार कारबाही गर्ने उल्लेख गरिएको छ ।
प्रतिक्रिया