स्मार्ट पार्किङले दिएको ‘सकस’– मासिक ८ हजार पार्किङमै बुझाउनुपर्ने भो ! | Khabarhub Khabarhub

स्मार्ट पार्किङले दिएको ‘सकस’– मासिक ८ हजार पार्किङमै बुझाउनुपर्ने भो !



काठमाडौं – केही दिन अगाडि कलंकीकी रमा खड्काले विशालबजारको रिद्धीसिद्धी ज्वेलर्समा गहना अर्डर गरेकी थिइन् ।

आइतबार उनी गहना लिन पाको, न्युरोडमा स्कुटर पार्किङ गरेर ज्वेलर्स पसलमा पसिन् । केही समयपछि उनी गहना लिएर फर्किन् । र पार्किङमा राखेको स्कुटर सार्न मात्रै के खोजेकी थिइन्, एक व्यक्तिले उनको हातमा कागजको सानो बिल राखिदिए ।

बिलअनुसार उनले २५ रुपैयाँ तिर्नुपर्ने थियो । ‘एकछिन पार्किङ गरेको २५ रुपैयाँ तिर्नुपर्ने ?’ रमाले प्रश्न गरिन् । केही समयसम्म पार्किङका लागि खटिएका युवक र रमाको संवाद चलिरह्यो । अन्ततः उनी २५ रुपैयाँ तिर्न बाध्य भइन् । र, खिन्न मन गर्दै आफ्नो बाटो लागिन् ।

त्यस्तै उद्धव प्रसाईं विगत ७ वर्षदेखि न्युरोडकै एक सहकारी संस्थामा कार्यरत छन् । उनले पनि लामो समयदेखि रामेश्वर मिठाइ पसल अगाडी सडक छेऊमै मोटरसाइकल पार्किङ गर्दै आइरहेका छन् ।

नवीन श्रेष्ठ न्युरोडस्थित सगरमाथा इन्स्योरेन्समा काम गर्छन् । रामेश्वर मिठाइ भण्डार छेउमा उनको कार्यालय छ । ‘कार्यालयमा पार्किङ गर्ने ठाउँ छैन’ उनले भने ‘त्यसैले यही स्थानमा सधैँ पार्किङ गर्दै आएको छु ।’

उनले दैनिकजसो ७/८ घण्टासम्म त्यही स्थानमा मोटरसाइकल पार्किङ गर्ने गरेको सुनाए । ‘दिनमा १ सय ५० रुपैयाँ पार्किङकै लागि बुझाउनुपर्ने बाध्यता छ’ उनले दुखेसो पोख्दै भने,’  धेरै समय पार्किङ गर्दा महिनामा पार्किङमा मात्र ८ हजार खर्च गर्न सकिन्छ ?’

काठमाडौं महानगरपालिकाले हालैदेखि सञ्चालनमा ल्याएको स्मार्ट पार्किङ सेवाका कारण पछिल्लो समय न्युरोड पुग्ने दुई पांग्रे सवारी चालकले सुविधा भन्दा पनि महंगो पार्किङ शुल्क तिर्नु पर्ने बाध्यता बनेको छ ।

स्मार्ट सेवा शुरु भएदेखि उक्त क्षेत्रमा पार्किङ गर्ने दुई पांग्रे सवारीले प्रति घण्टा २५ रुपैयाँ तिर्नु पर्ने हुन्छ । दैनिक कम्तिमा पाँच घण्टा पार्किङ गरेर सवारी राख्नु पर्ने बाध्यता भएको अहिलेको नयाँ शुल्क व्यवस्थाअनुसार १२५ रुपैयाँ तिर्नु पर्छ ।

स्मार्ट पार्किङ सेवाका नाममा महानगरले ठेकेदारी प्रथाअनुसार निजी संस्थालाई त्यसको जिम्मेवारी दिँदा सर्वसाधारणले थप पीडा भोग्न बाध्य भएको श्रेष्ठले बताए ।

अहिले सञ्चालनमा रहेको स्मार्ट पार्किङ सेवा चित्त बुझ्दो नभएको उनी बताउँछन् । उनी भन्छन्, ‘महानगरले न्युरोड क्षेत्रमा पार्किङको व्यवस्थापन भन्दा पनि माफिया पोस्ने खेल खेल्यो ।’

‘सार्वजनिक स्थालमा पार्किङ बनाउने अनि चर्को शुल्क लिने’ उनी प्रश्न गर्छन् ‘यो पनि सुविधा हो ?’ ‘प्रतिघण्टा पार्किङको २५ रुपैयाँ लिनु भनेको सर्वसाधारणमाथि ठगी गर्नु सरह हो ।’

‘पहिले पनि हामीले पैसा तिरेरै पार्किङ गरेका थियौँ’ खबरहबसँगको कुराकानीमा उद्धवले भने ‘तर अहिले त्यसको दोब्बर तिर्नु परेको छ ।’
कार्यालय समयभरी मोटरसाइकल उक्त क्षेत्रमा पार्किङ गर्नु पर्ने बाध्यता छ । उनले गुनासो गरे, ‘यस्तै अवस्था रहने हो भने मासिक साढे सात हजार रुपैयाँ पार्किङमै बुझाउनु पर्ने हुन्छ ।’

उनी मात्र होइनन् । यो क्षेत्रमा काम गर्ने कर्मचारी तथा व्यापारीहरु यति बेला पार्किङ शुल्ककै कारण मारमा परेका छन् । दैनिक पार्किङ गर्ने स्थानीय र व्यापारी सबैभन्दा बढी मारमा परेका छन् ।

स्र्माट सेवा सञ्चालन अघि भने उनीहरुले घण्टाको हिसाबले भन्दा पनि मासिक रुपमा दामासाही हिसाबले समूहमा मिलेर पार्किङ शुल्क तिर्दै आएका थिए । जसबाट उनीहरुलाई राहत मिलेको थियो ।

चार पांग्रेका सवारी चालक भन्छन् : गज्जबको नियम

बानेश्वरका राजन थापाले भने स्मार्ट पार्किङले निकै सहज बनाएको सुनाए । आइतबार उनी न्यूरोडको जुद्ध शालिक छेउमै कार पार्किङ गरेर पत्रिका हेर्दै थिए ।

‘पहिले पार्किङमा निकै समस्या थियो’ उनले भने ‘गाडी लिएर बाहिर निस्किन मन लाग्दैन थियो, अहिले त राम्रो नियम ल्याएको रहेछ’ ।
‘स्मार्ट पार्किङ रे नाम जस्तै साच्ची नै स्मार्ट लाग्यो’ हाँस्दै उनले भने । ‘मोबाइल एपबाटै सबै हेर्न मिल्दो रहेछ’ खबरहबसँगको कुराकानीमा उनले भने ‘पार्किङका लागि बुकिङ गर्न मिल्दो रहेछ, घरबाटै पार्किङ बुक गरेर आएको हुँ ।’ ‘एक घण्टा पार्किङ गरेको ८० रुपैयाँ लाग्दो रहेछ’ उनले भने ‘जे होस् गाडी सुरक्षित हुन्छ नि ! पैसा मात्र ठूलो कुरा होइन ।’

के भन्छ कम्पनी ?

सवारी साधन पार्किङलाई व्यवस्थित बनाउनकै लागि महानगरसँग सहकार्य गरेर ह्विल्स ट्रयुली योर्स प्रालिले गत जेठ १६ गतेबाट न्युरोडमा स्मार्ट पार्किङ सञ्चालनमा ल्याएको हो । शुरुमा न्यूरोडस्थित विशाल बजारमा स्मार्ट पार्किङ सुरु भएको थियो । कम्पनीले औपचारिक कार्यक्रम पश्चात १६ दिनसम्म निःशुल्क पार्किङ सेवा दिएको थियो ।

अहिले न्यूरोडस्थित प्युखा मार्ग (रामेश्वर मिठाई पसल अगाडि र पछाडी ), खिचापोखरी (आरबी कम्प्लेक्स्को अगाडि) र बिशाल बजारमा स्मार्ट पार्किङ सञ्चालन भइरहेको कम्पनीले जनाएको छ । खिचापोखरीमा आइतबार (आज) बाट स्मार्ट पार्किङ सेवा शुरु गरिएको कम्पनीका सिनियर इन्जिनियर बिक्रान्तम कार्कीले जानकारी दिए ।

असार १ गतेबाट दुई पांग्रे सवारीका लागि प्रतिघण्टा २५ रुपैयाँ र चार पांग्रेका लागि ८० रुपैयाँ लिने गरि स्मार्ट पार्किङ सेवा सञ्चालनमा छ ।
विशाल बजारमा दैनिक एक हजारको संख्यामा दुई पांग्रे सवारी पार्किङ भइरहेको जानकारी दिँदै कार्कीले भने ‘धर्मपथ छेउमा चार पांग्रे सवारी दैनिक ६ सयको हाराहारीमा पार्किङ भइरहेका छन्’ ।

सुरुवाती दिनमा प्रयोगकर्ताले असन्तुष्टि जनाएपनि अहिले त्यस्तो समस्या नभएको उनको तर्क छ । सवारी साधन राख्न, निकाल्नका लागि कम्पनीले कामदार राखेकाले प्रयोगकर्ताबाट राम्रो प्रतिक्रिया आइरहेको उनले बताए ।

पाँच स्थानमा एकैपटक स्मार्ट पार्किङ सञ्चालनमा ल्याउने भनिएपनि विभिन्न प्राविधिक कारणले ढिलाइ भएको कम्पनीका सूचना प्रविधि संयोजक हरिश अग्रवालले बताए । न्युरोड क्षेत्रको पार्किङको अस्तव्यस्ततालाई सुधार गरिरहेको अग्रवालले बताए । एक सातापछि दरबारमार्ग क्षेत्रमा पनि स्मार्ट पार्किङ शुरु हुने उनले जानकारी दिए ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  १० : १६ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा