सात वर्षमा पनि सडक कालोपत्र भएन, स्थानीय मारमा  « Khabarhub

सात वर्षमा पनि सडक कालोपत्र भएन, स्थानीय मारमा 


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक बिस्तार सुरु भएको सात वर्षमा पनि पूरा नहुँदा धुलोले स्थानीयवासीको स्वास्थ्यमा समस्या हुन थालेको छ । काम सुरु भएको भएको सात वर्षमा पनि सम्पन्न हुन नसक्दा घाम लागेका बेलामा धुलो र पानी परेका बेलामा हिलोले त्यस क्षेत्रमा समस्या हुने गरेको छ । धुलो यस क्षेत्रमा वायु प्रदूषण पनि हुने गरेको छ । निर्माण भइरहेको धुलाम्य सडकमा निर्माण व्यवसायीले पानी पनि हाल्दैनन् ।

गोकर्णेश्वर नगरपालिका वडा नं १ कारखानाका श्याम लामा आफ्नो घरअघि सधैँ पानी हाल्छन् । सडकको धुलो उडेर घरमा बस्न नसकिने भएपछि पानी हाल्नुपरेको उनले बताए । धुलोले नाक पोल्ने, घाँटी खसखसाउने समस्या हुने गरेको लामाको गुनासो छ ।

आर्थिक वर्ष २०७५/२०७६ मै सक्ने गरी विसं २०७२ मै ठेक्का भएको सात किमी सडक सात वर्षदेखि अलपत्र छ । सुरुमा सडकको दायाँबायाँ घर भएका स्थानीयवासीले मुआब्जा नदिइ काम अघि बढाउन नदिने भनी विरोध गरेपछि बिस्तार हुन सकेको थिएन । केन्द्रबिन्दुबाट दायाँबायाँ ११/११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले गरेको थियो । यो सडकको मापदण्ड विसं २०४५ मै काठमाडौँ उपत्यका विकास प्राधिकरणले केन्द्रबिन्दुबाट दायाँबायाँ ११/११ मिटर गरी २२ मिटरको हुने भनी सूचना प्रकाशन गरेको थियो ।

सात किमीको दूरीमा पर्ने करिब नौ सय घरका धनीले ठेक्का अनुसार बिस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि घर भएको स्थानमा केन्द्रबिन्दुबाट दायाँबायाँ सात÷सात मिटर बिस्तार गर्ने, सार्वजनिक जग्गा भएका स्थानमा भने ११÷११ मिटर नै बिस्तार गर्ने सहमति भएको नगरपालिकाले जनाएको छ । यो सहमतिअनुसार पनि ठाउँ ठाउँमा काम रोकिँदा वर्षौंदेखि स्थानीयवासी र यात्रु हिउँदमा धुलो र वर्षामा हिलोले पीडित छन्

नगरपालिकाले केन्द्रबिन्दुबाट दायाँबायाँ सात/सात मिटर बिस्तार गर्ने सहमति गरेको तीन वर्षसम्म पनि सडक अलपत्र छ । आर्थिक वर्ष २०७६/२०७७ मा सक्ने सहमति कार्यान्वयन नभई थप गरिएको दुई वर्षमा पनि काम सकिएन । आर्थिक वर्ष २०७८/२०७९ को अन्त्यसम्ममा काम सक्ने गरी म्याद थपिएको थियो । त्यो अवधिमा पनि काम सकिएन । ५८ करोड लागतमा भइरहेको काममा बेलाबखत समस्या आउने गरेकाले काममा ढिलाइ भएको बिस्तार आयोजनाका अधिकारीले बताउने गरेका छन् ।

संघीय सरकारले गरेको ठेक्का भएकाले निर्माण व्यवसायीले स्थानीय सरकारले छिटो काम गर्न गरेको अनुरोधलाई पनि वास्ता नगर्ने गरेको गोकर्णेश्वर नगरपालिका वडा नं ८ का पूर्ववडा अध्यक्ष मनोजकुमार ढुङ्गानाको भनाइ छ । पछिल्लो समय कालोपत्र गर्न तयार पारे पनि अझै ढिलाइ भइरहेको स्थानीयवासी बताउँछन् ।

कालोपत्र गर्न ग्राभेल थुपारेको छ महिनासम्म पनि सडकमा बिछ्याइएको छैन । हाल यो सडकको नयाँपाटी पुलबाट सुन्दरीजल खण्डको काम बाँकी छ । अन्य स्थानमा पनि केही काम बाँकी छ । हाल तीन महिनादेखि काम रोकिएको स्थानीयवासीको गुनासो छ । वर्षा रोकिए पनि सडकको काम सुरु भएको छैन । वर्षामा गर्न सकिने खम्बा सार्ने, ढल बनाउने काम पनि अलपत्र छ ।

सडकको धुलोले धेरै स्थानीयवासीलाई घाँटी खसखसाउनेलगायत स्वास्थ्य समस्या देखिएको छ । यो समस्याबाट सडकछेउका धेरै स्थानीयवासी पीडित छन् । स्थानीय स्वास्थ्यकर्मी डा रोशन पोखरेल सडकमा दैनिक उड्ने धुलोका कारण घाँटी, आँखालगायत स्वास्थ्य समस्या आउने गरेको बताउँछन् । धुलोले फोक्सो, श्वासप्रश्वासलगायत समस्या लिएरसमेत क्लिनिकमा आउनेको सङ्ख्या बढ्न थालेको उनले बताए ।

पछिल्लो समयमा सडक बिस्तार आयोजनाका अधिकारीलाई छिटो काम गराउन अनुरोध गरी सम्पर्क गर्दा फोन नउठाउने गरेको स्थानीय नगेन्द्र श्रेष्ठले बताए । सात वर्षदेखि बिस्तार पूरा हुन नसकेको समाचार सङ्कलनका लाग सम्पर्क गर्दा निर्माण व्यवसायी एवं सरोकार भएका निकायका अधिकारी सम्पर्कमा आउन छाडेका छन् ।

त्यसैगरी ढिलोचाँडो सडक बिस्तार हुने भए पनि सात किमीको दूरीमा पर्ने यो खण्डका पाँच वटा ठूला साना खोलामा पुलको अत्तोपत्तो छैन । यस क्षेत्रका चन्द्रमती, सूर्यमती, कोलमती, जम्बोत्तरी र मेलम्चीको सुरुङ निस्कने खोल्सामा पुल नहुँदा सडक बिस्तार भए पनि पुल साँघुरो भएकाले यातायात जाम हुने गरेको छ ।

करोडौँ लागतमा सडक बिस्तार भएपनि पैदल मार्ग छैन । पैदलमार्ग नहुँदा सडक दुर्घटनाको जोखिम बढेको ओखरेनी माध्यमिक विद्यालयको शिक्षकसमेत रहेका स्थानीय मुजुरा मासिकका सम्पादक अनन्त अर्यालले बताए । सडक बिस्तार भएपछि सवारी तीव्रगतिमा कुदाउने चालकको सङ्ख्या बढ्न थालेको छ । विशेषगरी किशोर उमेरका चालकले तीव्रगतिमा बाइक चलाउँदा दुर्घटना बढ्न थालेको हो । सवारीको गति नियन्त्रणका लागि ट्राफिक प्रहरीले ध्यान दिनुपर्ने स्थानीयवासीको माग छ ।

सात वर्षदेखि सडक कालोपत्र नसकिँदा यस क्षेत्रमा यात्रा गर्ने यात्रीले सास्ती खेप्नुपरेको छ । यात्री धुलो, हिलो एवं बनाउन राखिएका निर्माण सामग्रीका कारण जाम भएर सास्ती खेप्न बाध्य हुन थालेका हुन् ।

-रासस

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  १२ : ४७ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद