अलैँचीको घरेलु खपत न्यून « Khabarhub

अलैँचीको घरेलु खपत न्यून


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – ‘वाह अलैँची’ अभियानका ‘ब्रान्ड एम्बेसडर’ मास्टर सेफ सन्तोष साहले स्वदेशमै उत्पादित बहुउपयोगी अलैँचीको घरेलु उपभोग र बजार प्रवर्द्धन हुन नसकेकामा चिन्ता व्यक्त गरेका छन् । 

पूर्वी नेपालको पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङलगायत दर्जनौँ जिल्लामा अलैँचीको उत्पादन हुँदै आएको छ । खानेकुरालाई स्वस्थ र स्वादिलो बनाउन अलैँचीको विश्वभर व्यापक प्रयोग भइरहे तापनि उद्गमथलो नेपालमै यसको उपभोग न्यून भएको उनले बताए ।

विश्वचर्चित ‘बिबिसी मास्टर सेफ प्रतियोगिता’ का विजेता साह अलैँचीको घरेलु खपत बढाउने अभियानका क्रममा झापा र इलामका अलैँची कृषक, व्यवसायी र होटलका कुकहरुसँग भेटघाट र अलैँचीखेती अवलोकनका लागि आज झापा पुगेका हुन् ।

नेपाल अलैँची व्यवसायी महासङ्घले होटल एसोसिएसन अफ नेपाल, कृषि मन्त्रालय र स्वीस विकास सहयोग (एसडिसी) सँगको सहकार्यमा गत साउनदेखि ‘वाह अलैँची’ अभियान सुरु गरेको छ । मास्टर सेफ साह यो अभियानको ब्रान्ड एम्बेसडर हुन् ।

‘विदेशमा रहँदा अलैँचीको खुबै प्रयोग हुन्थ्यो, तर मलाई ती अलैँची आफ्नै देशको उत्पादन हो भनेर थाहा थिएन’, जिल्लाका धुलाबारीमा व्यवसायीसँगको भेटघाटमा उनले भने, ‘जब मैले बिबिसी मास्टर सेफमा भाग लिएँ । त्यहाँ अलैँचीको नाम आयो । अनि मात्र थाहा पाएँ कि अलैँची त हाम्रै देशको उत्पादन पो रहेछ ।’

विदेशबाट आयातित वस्तुको उपभोगमा न्यूनीकरण गरेर स्वदेशी अलैँचीको उपभोगका लागि जनचेतना बढाउन आवश्यक रहेको र आफू त्यसैमा लागिरहेको उनले बताए । नेपालमा विदेशबाट आयातित सुकुमेल हरेक खानेकुरामा प्रयोग हुने गरेको र अलैँची उपेक्षामा परेको उनको भनाइ छ ।

चिया, खाना, तरकारी, मासु, माछालगायत भान्साका हरेक वस्तुमा अलैँचीको प्रयोग गर्न सकिने हुँदा घरेलु बजार प्रवर्द्धनका लागि वाह अलैँची नामक किताब प्रकाशन गर्ने, अलैँची प्रयोग गरिएको खानेकुरा प्रदर्शनी गर्ने र होटलका कुकसँग अन्तरक्रिया गर्ने कार्यक्रम अघि बढाएको उनले जानकारी दिए ।

पाँच प्रतिशत मात्र घरेलु खपत

नेपालमा उत्पादित अलैँचीको पाँच प्रतिशत मात्र घरेलु बजारमा खपत हुने गरेको र बाँकी सामान भारत निकासी हुँदै आएको नेपाल अलैँची व्यवसायी महासङ्घका कार्यकारी अधिकृत अनिल ढुङ्गानाले बताए ।

सिधै तेस्रो मुलुकमा निकासीका लागि सकस हुँदा नेपाली व्यवसायीले भारतीय बजारमा अलैँची बेच्न बाध्य भइरहेको जनाउँदै उनले घरेलु बजारको आयतन बढाउन सक्दा कृषक र व्यवसायी दुवै पक्षलाई फाइदा पुग्ने धारणा व्यक्त गरे । 

महासङ्घको तथ्यांकअनुसार नेपालमा १८ हजार हेक्टरमा अलैँचीखेती हुने गरेको छ । जसअनुसार वार्षिक १३ हजार ४४ मेट्रिकटन उत्पादन हुन्छ । नेपालबाट वार्षिक सात अर्ब बराबरको अलैँची निर्यात हुँदै आएको छ । 

अरबी मुलुकमा मासुमाछामा मसलाका रुपमा अलैँचीको उपभोग हुने गरे तापनि नेपालमा सिलौटामा पिसेर चिया मसलाका रुपमा न्यून प्रयोग हुने गरेको छ । अलैँचीलाई औषधीय गुण भएको मसला मानिन्छ ।

घरेलु उपभोग र बजार प्रवर्द्धनका लागि मास्टर सेफ सन्तोष साहलाई ‘वाह अलैँची’ अभियानका ‘ब्रान्ड एम्बेसडर’ घोषणा गरिएपछि स्वदेशी खपत बढ्ने महासङ्घको अपेक्षा रहेको कार्यकारी अधिकृत ढुङ्गानाले बताए ।

‘ब्रान्ड एम्बेसडर’ साहले आजै इलामको रोङ गाउँपालिकास्थित जिर्मलेमा अलैँची खेतीको अवलोकन गर्ने र त्यहाँका कृषकसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको ढुङ्गानाले जानकारी दिए । अवलोकनमा दातृ संस्था स्वीस विकास सहयोग (एसडिसी)  र अलैँची व्यवसायी महासङ्घका प्रतिनिधिसमेत सहभागी हुने बताइएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  २ : ०३ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद