काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः
१. ‘गठबन्धनमा आबद्ध दलले नै कांग्रेसलाई राष्ट्रघाती भने’
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनमा आबद्ध दलले नै कांग्रेसलाई राष्ट्रघाती भनेको भन्दै चिन्ता व्यक्त गरेका छन् । काठमाडौँको स्वयम्भुमा भएको प्रदेशसभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेसलाई गठबन्धनकै दलका नेताले राष्ट्रघाती भन्ने बताए ।
थापाले चुनावमा चाहि तालमेल गरेर जाने विदेश नीतिको विषय आयो भनेपनि एउटाले अर्कोलाई दलालको आरोप प्रत्यारोप लगाउने गरेको पनि तर्क गरे ।
२. इन्धनको मूल्य घटाउनुपर्छ : नेता सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्य वृद्धि नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् । महँगीको मारमा परेका जनतालाई राहत दिन सरकारले चाहेमा यो काम तुरुन्त गर्न सक्ने उनको भनाई छ ।
आज बिहान काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित सामुदायिक सभा हल उद्घाटन कार्यक्रममा बोल्दै नेता सिंहले स्वचालित मूल्य प्रणाली लागू गरेर इन्धनको मूल्य समायोजन गर्नुपर्नेमा जोड दिए ।
३. प्रचण्डसँग युरोपेली युनियनका राजदूतहरूको भेट
युरोपेली युनियनका राजदूतहरूको प्रतिनिधिमण्डलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटवार्ता गरेको छ । संयुक्त राष्ट्रसंघ, अमेरिका, बेलायत, अस्ट्रेलिया, जर्मनी, स्विजरल्यान्ड युरोपेली युनियनका राजदूतहरूको प्रतिनिधिमण्डलले आज बिहान अध्यक्ष दाहाललाई भेट्न खुमलटार पुगेको हो ।
दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार भेटमा राजदूतहरूले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुग्दै गरेकोमा खुसी व्यक्त गरेका थिए । त्यस्तै भेटमा उनीहरूले गम्भीर मानव अधिकार उल्लंघनका घटना र पीडितहरूको पुनरावेदनको अधिकारबारे पनि चासो व्यक्त गरेका थिए ।
४. आरोही सानु शेर्पालाई स्वागत
नेपाली हिमान आरोही सानु शेर्पालाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल दोहो¥याएर आरोहण गर्ने विश्वकै एकमात्र आरोहीको रेकर्ड बनाएका शेर्पालाई आज विहान स्वागत गरिएको हो ।
शेर्पा नेपालका ८, पाकिस्तानका ५ र चीनको एउटा गरी १४ वटा हिमाल दोस्रोपटक आरोहण गर्न सफल विश्वकै एक मात्र आरोही हुन् ।
५. वाग्मती नदीमा र्याफ्टिङ सञ्चालन
वाग्मती नदीमा आज बिहान र्याफ्टिङ गरिएको छ । वाग्मती सफाइ अभियान साथै २२ औं वाग्मती नदी महोत्सवको अवसरमा आज उपत्यकावासीमा नदी सरसफाइबारे जागरण गराउने उद्देश्यका साथ नेपाल र्याफ्टिङ एजेन्सिज (नारा)ले थापाथलीदेखि सुन्दरीघाटसम्म जलयात्रा आयोजना गरेको हो ।
नदीलाई सफा गर्न सकिन्छ भन्ने सन्देश दिन याफ्टिङमार्फत जल विहार गराएको हो । र्याफ्टिङका साथै अभियन्ताहरुले आज बिहान नदीमा सरसफाइ पनि गरेका छन ।
६. करेन्ट लागेर बाबु र छोराको मृत्यु भएको
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१७ मा करेन्ट लागेर बाबु र छोराको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी करिब ४० वर्षीय पर्शुराम कलवार र २५ वर्षीय बब्लु कलवारको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार अटो रिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा बाबु पर्शुरामलाई पनि करेन्ट लागेको प्रहरीले जनाएको छ ।
७. गुल्मीमा एक महिलाको कंकाल फेला
गुल्मीमा आज एक महिलाको कंकाल फेला परेको छ । इस्मा गाउँपालिका १ हस्तिचौरको बसेनी सामुदायिक बनमा आज विहान महिलाको कंकाल फेला परेको वडा अध्यक्ष शेरबहादुर कुँवरले जानकारी दिए ।
स्थानीयले आज बिहान कंकाल देखेपछि वडा अध्यक्षलाई खबर गरेका थिए । शरीरमा चोलो र हातमा चुरा देखिएको अन्दाजी ६० वर्षीया महिलाको कंकाल हुन सक्ने प्रहरीले जनाएको छ ।
८. पहिरो पीडितका लागि आवास निर्माण अन्तिम चरणमा
लमजुङको मर्स्याङदी गाउँपालिका वडा नं. ३ अर्खलेगाउँका पहिरो पीडितका लागि आवास निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । गाउँमुनिबाट पहिरोले च्याप्दै आएपछि स्थानान्तरणका लागि घर निर्माण गरिएको हो ।
अर्खलेबेंसी र अर्खलेबेंसी पारी मर्स्याङदी गाउँपालिका ६ को लाम्पाटाबगरमा घर निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँका १८ घरलाई स्थानान्तरणका लागि घर निर्माण भइरहेको र अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।
९. रुस नियन्त्रित युक्रेनको आणविक केन्द्रमा
राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त राष्ट्रसंघका अधिकारीहरूलाई रुस नियन्त्रित युक्रेनको जापोरिज्जिया आणविक उर्जा केन्द्रमा भ्रमण र निरीक्षण गर्न अनुमति दिइने बताए ।
क्रेमलिनले पुटिन र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनबीचको भएको टेलिफोन वार्तापछि सो घोषणा गरेको हो । गत मार्चमा कब्जा गरेको आणविक केन्द्रमा रुसको निर्देशनमा युक्रेनको प्राविधिक टोलीले सञ्चालन गरिरहेको छ ।
१०. डाटा सुरक्षित गर्न क्रिक एचक्युसँग क्यानबीच तीन वर्षको सम्झौता
नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटको डिजिटल प्लेटफर्म कम्पनी क्रिकएचक्युसँग सम्झौता गरेको छ । क्यानले आज एक विज्ञप्ति जारी गर्दै न्युजिल्याण्डको कम्पनी क्रिकएचक्युसँग सम्झौता गरिएको जनाएको हो ।
क्यानले क्रिकएचक्युसँग तीन वर्षको सम्झौता गरिएको जनाएको छ । क्यानले क्रिकएचक्युसँगको साझेदारीले सबै तहका क्रिकेटको डिजिटलाइजेसन र लाइभ स्कोरिङ र स्ट्रिमिङलगायत प्राविधिक विकास ल्याउन मद्दत पुग्ने विश्वास लिएको छ ।
प्रतिक्रिया