साँझ ५ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

साँझ ५ बजेसम्मका मुख्य १० समाचार


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । साँझ ५ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

१. निर्वाचन बिथोल्नेलाई कारबाही हुन नसक्दा मनोबल बढ्दै गयो : प्रमुख आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन बिथोल्नेलाई तत्काल कारबाही हुन नसक्दा त्यस्ता तत्त्वहरूको मनोबल बढ्दै गएको बताएका छन्।

आइतबार ललितपुरमा सञ्चारकर्मीसँगको अन्तर्क्रिया कार्यक्रममा थपलियाले निर्वाचन बिथोल्ने कार्य कानून विपरीत भएको भन्दै त्यस्ता तत्त्वलाई कारबाही हुन नसक्दा मनोबल बढ्दै गएको बताएका हुन् ।

उनले स्थानीय तहको निर्वाचन एकै चरणमा गरेको अनुभवका आधारमा सरकारलाई एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न आग्रह गरिएको र सरकारले सोही अनुरूप मिति तय गरेको जिकिर गरे। एकै चरणमा निर्वाचन गर्दा व्यवस्थापनका साथै अन्य निर्वाचन खर्च पनि घट्ने उनको भनाइ छ।

थपलियाले निर्वाचनको तयारीका लागि आयोगले पर्याप्त समय नपाए पनि आयोगले तीव्र रूपमा आफ्नो काम अघि बढाएको जिकिर गरे।

२. थप १११ मेगावाट बिजुली निर्यातको प्रस्ताव

नेपाल विद्युत प्राधिकरणले थप एक सय ११ मेगावाट विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीको लागि भारतमा प्रस्ताव पठाएको छ ।

प्राधिकरणले ४ जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी आईएक्समा प्रतिस्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेश गरेको हो ।

केन्द्रीय विद्युत प्राधिकरणबाट अनुमति पाएपछि थप विद्युत निर्यात सुरु हुने छ । अहिले ३६४ मेगावाट बिजुली भारतमा  निर्यात भइरहेको छ । प्राधिकरणले ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखूखोला ‘ए’, २३.५ मेगावाटको सोलूखोला, २२.१ मेगावाटको चिलिमेको विद्युगृहबाट उत्पादित १११.८ मेगावाट विद्युत निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेश गरिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले थप विद्युत निर्यातका लागि भारत सरकारबाट छिट्टै अनुमति प्राप्त हुने विश्वास व्यक्त गरे ।  चालु आर्थिक वर्ष (आव) २०७९÷८०को पहिलो महिनामा झण्डै २ अर्ब रुपैयाँको विद्युत भारततर्फ निर्यात गरिसकेको छ ।

नेपाल विद्युत प्राधिकरणले चालु आवको साउन महिनामा १ अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत निर्यात गरेको छ ।

३. नेता प्रदीप गिरिको पार्थिव शरीर अन्त्येष्टिका पशुपति आर्यघाट लगियो 

नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिको पार्थिव शरीर अन्त्येष्टिका लागि पार्टी कार्यालय सानेपाबाट पशुपति आर्यघाट तर्फ लगिएको छ ।  गिरिको पार्थिव शरीरलाई  आज बिहान ११ बजेदेखि २ बजेसम्म पार्टी कार्यालयमा राखिएको  थियो ।

श्रद्धाञ्जलीका  प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले  नेता  गिरीको पार्थिव शरीरमा पार्टी झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय नेताहरु सहित विभिन्न पार्टीका नेता तथा शुभचिन्तकहरु पनि  सानेपा पुगेका थिए ।घांटीको क्यानसरबाट पिडित ७५ वर्षीय गिरिको उपचारका क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा गए राति  निधन भएको  हो ।यसैबीच नेपाली कांग्रेसले दिवङ्गत नेता प्रदीप गिरीप्रति उच्च सम्मान प्रकट गर्दै यही भदौ ५, ६ र ७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

साथै पार्टीले शोक श्रद्धाञ्जलीका कार्यक्रमबाहेक अरु सबै कार्यक्रम स्थगित गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले समाजवादी चिन्तक, पूर्वकेन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य गिरीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

यसैगरी कांग्रेसले भदौ ६ गते सोमबार केन्द्र तथा मातहतका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिन (भदौ १६ गते) सम्म केन्द्र र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए। स्वर्गारोहणको १३ औँ दिन (भदौ १६ गते) मा केन्द्र र सबै जिल्लामा शोक सभाको आयोजना गर्ने बैठकले निर्णय गरेको छ ।

४. शोकमा डुब्यो बस्तीपुर
“आब ककरा बाबु कहबै, के कर साहारामे रहबै” (अब कसलाई बुबा भन्नु ? कसको सहारामा बाँच्नु ?) लहान नगरपालिका–१४ बस्तीपुरका जितनीदेवी रामले रोई कराइ गरेपछि उपस्थित गाउँलेहरूले पनि आँसु थाम्न सकेनन् ।

समाजवादी चिन्तक तथा नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनको खबर सुने लगत्तै विक्षिप्त बनेकी जितनीदेवीको आँसु रोकिएको छैन । “आफूलाई छोरी जस्तै बाल्यकालबाटै पाल्नुभएका प्रदीप बाबु छोडेर गएपछि टुहुरी जस्तै भएकी छु”, जितनीदेवीले भनिन्, “अब कसलाई बुवा भनेर बोलाउने ? समस्या पर्दा कसलाई सुनाउने ? अब कोही रहेन, बेसारा जस्तै भएकी छु ।”

भारतको नयाँ दिल्लीमा उपचार गराउन जाने क्रममा उनले जितनी म उताबाट आएपछि तिम्रो सबै समस्या सुनिदिन्छु भनेर गएका सम्झँदै जितनीदेवीले भनिन्, “आश्वासन दिएर जानु भएको प्रदीप बाबु अब मेरो समस्या कहिले नसुन्ने गरी सदाका लागि जानुभयो । अब मेरो समस्या सुनिदिने कोही रहेन, आफू टुहुरी जस्तै भएकी छु”, जितनीले बिलौना गरिन्।

“कुनै बेला पेसाको समस्या पर्दा प्रदीप बाबुले कहिले मसँग छैन, दिन्न भन्नु भएन”, जितनीले भनिन्, “उहाँ कतैबाट आश्रममा आउँदा पहिला जितनी भन्नेर बोलाउनुहुन्थ्यो, मैले ल्याइदिएको पानी खानुहुन्थ्यो त्यसपछि मेरो समस्याबारे सोध्नु हुन्थ्यो ।” अब ती सबै कुराहरु सम्झनामा आइरहन्छ, उनको भनाइ छ ।

जहिले पनि पढ्नुपर्छ, दलितहरू पनि ठूलो मान्छे बन्नुपर्छ भन्ने प्रेरणा दिने व्यक्तिका रूपमा रहेका प्रदीप ठूलो बुवाको निधनले आफूले अभिभावक गुमाएको स्थानीय २० वर्षीय दीप परियार पनि शोकमा छन्।

“आश्रममा जहिले आउँदा मेरो पढाइका बारेमा सोध्नुहुन्थ्यो, अनि पढ्ने नयाँ नयाँ कुरा सिकाउनुहुन्थ्यो”, लहानस्थित जेएस मुरारका क्याम्पसको कक्षा १२ मा अध्ययनरत परियारले भने, “उहाँको प्रेरणाका कारण मेरो पढ्ने, वातावरण बन्यो मेरो पढाइमा उहाँको ठूलो योगदान छ ।” अब उहाँ जस्तो व्यक्तित्व पाउन मुस्किल रहेको उनको भनाइ थियो ।

“प्रदीप बाबु असाध्यै सरल, भावुक स्वभावका व्यक्ति हुनुहुन्थ्यो”, बस्तीपुर गाउँका ५० वर्षीय चेतबहादुर भुजेलले भने , “उहाँ गाउँको मात्र होइन, देशकै प्रतिष्ठा थियो, उहाँको निधनले हामी अभिभावकविहीन भएका छौँ, उहाँको निधनले हामी शोकाकुल भएका छौँ, हामी असल र स्वाभिमानी नेता गुमाएका छौँ”, उनको कथन छ ।

जितनी, दीप र चेतबहादुर मात्र होइन, नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सदस्य प्रदीप गिरीको निधन भएपछि यति बेला बस्ती गाउँ नै शोकमा डुबेको छ । गाउँलेहरू नेता गिरीको पुर्खौली घर अगाडि भेला भएर शोक मनाइरहेका छन् भने कतिपयले गिरीलाई सम्झेर आँसु बगाइरहेका छन् ।

“सरल स्वभावका प्रदीप बाबुसँग चुनावका बेला सँगै घुमेँ”, बस्तीपुरका ५६ वर्षीय महेन्द्र साहले भने, “उहाँले जहिले पनि गाउँको विकास र समाज सुधारका विषयमा कुरा गर्नुहुन्थ्यो, उहाँबाट समाजले थुप्रै सुधारको अनुभूति गरेको छ । उहाँसँग हिँड्दा कहिले पनि बिरानो जस्तो अनुभूति पाइनन्”, उनको भनाइ छ ।

यसैबीच नेता गिरीले कक्षा १ देखि १० सम्म अध्ययन गर्नुभएको बस्तीपुर माविमा पनि आज व्यक्त गरिएको छ । “उहाँ यस विद्यालयमा अध्ययन गर्नुका साथै विद्यालयको विकासका लागि योगदान गर्नुभएको छ”, विद्यालयका लेखापाल सिन्धुप्रसाद साहले भने, “उहाँ यस विद्यालयका पूर्वविद्यार्थीका साथै अभिभावक पनि हुनुहुन्थ्यो, त्यही भएर हामी उहाँको शोक मनाएका छौँ ।”

समाजवादी नेता गिरीले विसं २०१८ मा बस्तीपुर माविबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए । उनी गत २०७४ सालमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा सिराहा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए । नेता गिरीको शोकमा सिराहाको लहान नगरपालिकाले पनि आज सार्वजनिक बिदा दिएको छ ।

नगरपालिकाले असल अभिभावक गुमाएकाले शोकमा बिदा दिने निर्णय भएको नगरप्रमुख महेश चौधरीले बताए। आफूहरूले मत दिएर जिताएका आफ्ना नेता एवं अभिभावक गिरीको उपचार काठमाडौँस्थित मेडिसिटी अस्पतालमा भइरहँदा पनि शीघ्र स्वास्थ्य लाभको कामना गर्दै स्थानीयले शनिबार बिहानैदेखि गाउँमा भजन कीर्तन गरेका थिए । गए राति नै उनको निधन भएको खबर सुनेपछि उनको जन्मस्थल र जिल्लाका स्थानीय शोकमग्न भएका छन् ।

 ५. सामुदायिक विद्यालयका कर्मचारीद्धारा धर्ना

सामुदायिक विद्यालयका कर्मचारीहरुले न्यूनतम पारिश्रमिक पनि उपलब्ध नगराएको भन्दै  आज पनि काठमाडौँमा धर्ना दिएका छन् ।

केन्द्र सरकारको निर्देशनअनुसार स्थानीय तहले थप रकम उपलब्ध नगराएको भन्दै उनीहरूले काठमाडौँको माइतीघरमा धर्ना दिएका हुन् । चालू आर्थिक बजेटमा प्रारम्भिक बाल विकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीलाई सरकारले निर्धारण गरेबमोजिम १५ हजार न्यूनतम मासिक पारिश्रमिक उपलब्ध गराउने उल्लेख रहेको र त्यसका लागि सरकारले मासिक पारिश्रमिक ८ हजार उपलब्ध गराउने तथा न्यूनतम पारिश्रमिकभन्दा कम हुन आउने रकम सम्बन्धित स्थानीय तहले बेहोर्ने व्यवस्था गरिएको छ ।

तर स्थानीय तहहरूले आफूहरूलाई कुनै रकम उपलब्ध नगराएको भन्दै आन्दोलन गर्नुपरेको उनीहरूको भनाई छ । धर्नाबाट पनि आफूहरूको माग पुरा नभए अर्को चरणको आन्दोलन गर्ने चेतावनी उनीहरूले दिएका छन् ।

 ६. ७ अंकले घट्यो नेप्से 

कारोबारको  पहिलो दिन आज   नेप्से परिसूचक घटेको छ  ।नेप्से आज ७ दशमलव ७२ अङ्कले घटेर २ हजार ६० दशमलव ५५ विन्दुमा पुगेको हो । आज दुई सय १८ वटा कम्पनीको ५३ लाख ३९ हजार  ४  कित्ता शेयर दुई अर्ब चार करोड ७० लाख ९३ हजार   ६ सय ८९ रुपैयाँमा कारोबार भएको छ ।

आज सबैभन्दा धेरै रिडी हाइड्रो पावरको १२ करोड २८ लाख र अपी पावर कम्पनीको १० करोड रुपैयाँको शेयर  कारोबार भएको छ । आज बैंक, होटल, निर्जीवन बीमा र उत्पादन समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ ।

समग्रमा बजार बढे पनि मन्दाकिनी हाइड्रो र अपर हेवाखोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

७.  डडेलधुरामा जिप दुर्घटना हुँदा ८ जना घाइते 

डडेलधुरामा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।  डोटीको दिपायलबाट डडेलधुरा सदरमुकाम  जाँदै गरेको से१ज ५०४ नम्बरको जिप केआइसिंह राजमार्गअन्तर्गत ऐर गाउँको मोडमा  आज दिउँसो साढे १ बजे दुर्घटना भएको हो ।

घाइते ८ जनलाई उपचारका लागि डडेलधुरा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ । उनीहरूको परिचय खुल्न भने बाकी रहेको छ । सडकबाट करिब चार सय मिटर तल खसेको छ ।

 ८.  भारतको उत्तरी र पूर्वी  भागमा बाढी र पहिरोमा परी मृत्यु हुनेको  संख्या ५० पुग्यो   

भारतको उत्तरी र पूर्वी   भागमा  भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी  मृत्यु हुनेको  संख्या ५० पुगेको छ । तीव्र मनसुनी वर्षाका कारण आएको बाढी र पहिरोले उत्तरी र पूर्वी भारतमा गत तीन दिनमा ५० जनाको मृत्यु भएको अधिकारीहरूले  आज  जानकारी दिएका हुन् ।

हिमाञ्चल  प्रदेशमा भारी वर्षा पछि आएको बाढीमा परी ३६ जनाको मृत्यु भएको छ । भारतको पूर्वी राज्य ओडेसामा पनि बाढी कारण  ६ जनाको मृत्यु भएको छ ।

यस्तै उत्तराखण्ड राज्यमा बाढी कारण ४ जनाको मृत्यु भएको छ भने अन्य १३ जना बेपत्ता भएका छन् । बाढी कारण विभिन्न  राज्यका ८ लाख मानिसहरू विस्थापित भएका  छन् ।वर्षाले बिजुली र पानी आपूर्तिमा अवरोध पुर्‍याएको छ, र सडक पूर्वाधारमा क्षति पुगेको छ । अझै पनि विभिन्न जिल्लामा उद्धार कार्य जारी रहेको छ।

९. सोमालियाको होटलमा अल शबाबको आक्रमणपछि जारी हिंसा अन्ततः ३० घण्टापछि समाप्त, ४० जनाको मृत्यु

अल–शबाब आतङ्ककारीहरूले सोमालियाको राजधानी मोगादिसुको हयात होटलमा आक्रमण गरेको झण्डै ३० घण्टापछि घेराबन्दी समाप्त भएको छ । झण्डै ३० घण्टासम्म विद्रोहीको कब्जामा रहेको होटल सुरक्षाकर्मीको नियन्त्रणमा आएको  स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अल–शबाब आतङ्ककारीहरूले गरेको आक्रमणमा जनाको ४० मृत्यु हुनुका साथै ७० भन्दा बढी घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार सुरक्षा अधिकारी र आक्रमणकारीहरूबीच झण्डै ३० घण्टासम्म गोली हानाहान जारी रहेको छ ।अल–कायदा आतङ्ककारी समूहसँग आबद्ध अल–शबाबले सोमालियाको सरकारविरुद्ध सशस्त्र सङ्घर्ष गरिरहेको छ र अझै पनि देशको दक्षिणी र मध्य भागमा ठूलो भूभागमा नियन्त्रण गरिरहेको छ ।

भारतले मोगादिसुको हयात होटलमा भएको आक्रमणको  कडा शब्दमा निन्दा गरेको छ । यसले पीडित परिवारप्रति हार्दिक समवेदना पनि व्यक्त गरेको छ ।

१०. इंग्लिस प्रिमियर लिग फुटबलमा आज तीन खेल हुँदै

इंग्लिस प्रिमियर लिग फुटबलमा  आज तीन खेल हुँदै छन् । पहिलो खेलमा चेल्सीले लिड्स युनाईटेडको सामना गर्दैछ । यस्तै, वेष्ट ह्याम युनाईटेडले ब्राइटनसँग प्रतिस्पर्धा गर्नेछ । दुबै खेल पौने सात बजे सुरु हुनेछ । यता, साविक विजेता म्यानचेष्टर सिटीले न्युक्यासल युनाइटेडको भ्रमण गर्दै छ । खेल राति सवा ९ बजे सुरु हुनेछ ।

 लिगको तेस्रो चरणमा सिटी सत प्रतिशत जित यात्रालाई निरन्तर दिन चाहन्छ । पेप ग्वार्डिओलाको सिटीले दुई खेलमा ६ अंक जोडेको  ।  यता, न्युक्यासल समेत आफ्नो अपराजित यात्रा कायम गर्न चाहन्छ । घरेलु मैदानमा बलियो मानेको सिटीलाई स्तब्ध बनाउने रणनीतिमा छ ।

 जारी लिगका तीन खेलमा सत प्रतिशत जित सहित आर्सनल शीर्षस्थानमा छ । ७ अंक जोडेको टोटनहम दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ५ : ०१ बजे

आज २०८१ साल असोज ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज ९ गते बुधबार तदनुसार

१७९ कैदीलाई प्यारोलमा राख्न सिफारिस

काठमाडौं – सङ्घीय प्यारोल बोर्डको बैठकले १७९ जना कैदीलाई प्यारोलमा

इजरायल-हिज्बुल्लाह संघर्ष : सीमा क्षेत्रबाट लाखौं सर्वसाधारण विस्थापित

एजेन्सी – पश्चिम एसियाको इजरायल-लेबनान सीमा क्षेत्रबाट केही दिनभित्रै लाखौं

नेपाल र ओमान बीचको खेल वर्षाले रोकियो

काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमान

नेपाल प्रहरीका १४३ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीले एकैपटक १४३ प्रहरी नायब उपरीक्षक (डीएसपी)