काठमाडौँ : बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । अपरान्ह ४ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः
१ . माओवादी र नेकपा (एस) को एउटै चुनावी घोषणापत्र बन्ने
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच पार्टी एकताका लागि संयोजन समिति बनाउने सहमति भएको छ । ललितपुरमा हात्तिवनस्थित बसेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल सहभागी बैठकले एकता संयोजन समिति गठन गर्ने र चुनावी घोषणा पत्र एउटै बनाउनेबारे निर्णय गरेको हो ।
दुई शीर्ष नेता आगामी प्रदेश र प्रतिनिधि निर्वाचनमा एउटै चुनावी घोषणापत्र लिएर जान समेत दुवै दल सहमत भएका हुन् । यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनमा अन्तरघात गर्नेलाई कारबाही गरिने बताएका छन् ।
पार्टी कार्यालय कोटेश्वरको पेरिसडाँडामा समिति संयोजक टंक राईले पेश गरेको प्रतिवेदन बुझ्दै अध्यक्ष दाहालले प्रतिवेदन पदाधिकारीका बीचमा छलफल हुने र आवश्यक कारबाही अघि बढाइने बताएका हुन् । यस्तै दाहालले राजनीतिलाई सही ढंगले अघि बढाउन र राजनीतिमा देखिएको विकृति विसंगतिलाई समाधान गर्न प्रतिवेदनको अर्थ रहने बताए ।
२ . आयव्यय विवरण नबुझाउनेलाई निर्वाचनमा सहभागी नगराइने
निर्वाचन आयोगले वार्षिक आयव्यय विवरण नबुझाउने राजनीतिक दललाई आगामी संघ र प्रदेशको निर्वाचनमा सहभागी नगराउने भएको छ । आयोगले वार्षिक आयव्यय विवरण नबुझाउने दललाई निर्वाचनमा सहभागी नगराउने भएको जनाएको हो ।
दल दर्ताका लागि आवश्यक कागजातमध्ये राजनीतिक दलको वार्षिक आयव्यय विवरण (अडिट रिपोर्ट) पनि अनिवार्य बुझाउनुपर्ने व्यवस्था रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल बताए । आयोगमा १ सय १६ वटा राजनीतिक दल दर्ता रहेका र त्यसमध्ये आगामी मंसिर ४ गते हुने संघीय र प्रदेशको निर्वाचन प्रयोजनका लागि भने ८४ वटा राजनीतिक दल मात्रै दर्ता भएका निर्वाचन आयोगले जनाएको छ ।
यस्तै आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहितामा चुनाव प्रचारमा विदेशी नम्बर प्लेटका सवारी साधनलाई अनुमति नदिने उल्लेख गरिएको छ । भारतीय सीमानासँग जोडिएका प्रदेश १, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका जिल्लाको चुनावलाई लक्षित गरी आयोगले यस्तो प्रस्ताव ल्याएको हो ।
३ .नेपाली नर्सलाई रोजगारी प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर
बेलायत र नेपाल सरकारबीच बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई रोजगारी प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सिंहदरबारमा आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवरको उपस्थितिमा मन्त्रालयका सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीबाट नेपाली स्वास्थ्यकर्मीहरूलाई विधिसम्मत तवरले बेलायतको स्वास्थ्य क्षेत्रको रोजगारीमा सहज संलग्नताको वातावरण तयार हुने र जनशक्तिको विकास समेत मद्दत पुग्ने मन्त्रालयले जनाएको छ । बेलायतमा स्वास्थ्य सेवामा कार्यरत रहँदा नेपाली स्वास्थ्यकर्मीको सेवा सुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मीसरह हुने व्यवस्था मिलाइएको छ ।
नेपाली स्वास्थ्यकर्मी छनौट, पदस्थापन, सेवा सुविधा सम्बन्धी मापदण्ड हाल छलफलमा रहेको र यससम्बन्धी सबै व्यवस्था जिटुजी प्रक्रिया बमोजिम हुने सचिव अर्यालले बताएका छन् । परीक्षणको पहिलो चरणमा नेपाली नर्सहरूलाई बेलायतमा पदस्थापन गर्ने कार्यलाई इम्प्लिमेन्टेन्सनको प्रोटोकल स्पष्ट व्यवस्था गरिने र नियुक्ति प्रक्रियाका कुनै शुल्क नलाग्ने एवं रोजगारीका लागि छनौट भएकाहरूको लागतको सोधभर्ना समेत हुने सचिव अर्यालले बताए ।
त्यस्तै नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटले नेपाली स्वास्थ्यकर्मीहरूलाई बेलायतमा रोजगारी दिन पाउनु खुसीको कुरा भएको भन्दै आगामी दिनमा स्वास्थ्य क्षेत्रको निरन्तर सुदृढीकरण र आधुनिकीकरणमा सहयोग जारी रहने बताए ।
बेलायत सरकारले बेलायतको नेशनल हेल्थ सर्भिसेस अन्तरगतका स्वास्थ्य संस्थाहरूमा काम गर्न १० हजार नेपाली नर्सिङ जनशक्तिको माग गरेको छ । तर, पहिलो चरणमा परीक्षणका रुपमा केही सङ्ख्यामा मात्रै नर्सहरू पठाइने मन्त्रालयले जनाएको छ ।
४. प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित
प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ । प्रतिनिधि सभाको आज बसेको बैठकले कांग्रेस सांसद प्रदिप गिरीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।
बैठकमा सभामुख अग्नि सापकोटाले शोक प्रस्ताव पढेर सुनाउनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक भोलि बिहान १० बजेका लागि बोलाइएको छ । त्यस्तै आज नै बसेको राष्ट्रियसभाको बैठकले पनि गिरीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाको अर्को बैठक भाद्र १२ गते आइतबार बस्नेगरि स्थगित भएको छ ।
२०५१ सालको प्रतिनिधि सभा निर्वाचनमा सिरहा जिल्ला क्षेत्र नं. ५ बाट निर्वाचित सदस्य, वि.सं. २०६४ र वि.सं. २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित सदस्य, वि.सं. २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा सिरहा जिल्ला क्षेत्र नं. १ बाट निर्वाचित सांसद गिरीको ७५ वर्षको उमेरमा शनिबार निधन भएको थियो । गिरीको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो ।
७ . नेप्से ७ दशमलव ४१ अंकले घट्यो
शेयर बजार परिसुचक नेप्से आज पनि घटेको छ । नेप्से आज ७ दशमलव ४१ अंकले घटेर २ हजार ५३ दशमलव १३ विन्दुमा पुगेको हो । आज दुई सय २२ वटा कम्पनीको ५२ लाख ३० हजार ७ सय ६३ कित्ता शेयर कुल १ अर्ब ७२ करोड ६२ लाख ८७ हजार ४ सय ३० रुपैयाँमा कारोबार भएको छ ।
आज म्युचअल फण्ड बाहेक सबै समुहको शेयर ओरालो लागेको छ । सम्रग बजार घटेपनि अपर हेवाखोला हाइड्रो पावर कम्पनी लिमिटेडको शेयर १० प्रतिशतले र मन्दाकिनी हाइड्रो पावरको मूल्य ९.९७ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीको २८ करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
८. अफगानिस्तानको पूर्वी पाक्तिया प्रान्तमा बाढीमा परी १४ जनाको मृत्यु
अफगानिस्तानको पूर्वी पाक्तिया प्रान्तमा भीषण वर्षापछिको बाढीका परी १४ जनाको मृत्यु भएको छ । अअन्य १२ जना घाइते भएका राज्य सञ्चालित बख्तर समाचार समितिले आज जानकारी दिएको हो ।
प्रान्तीय राजधानी गार्डेज र पक्तिया प्रान्तका केही जिल्लाहरूमा भारी बाढीका कारण प्रभावित भएको बताएका छन् । मनसुनी बाढीले कम्तिमा २० एकड जमिन बगाएको र तीन सय ५८ आवासीय घर पूर्णरुपमा क्षति पुगेको जनाएको छ ।
गत शनिबार पक्तियाको छिमेकी लोगार प्रान्तको खुशी जिल्लामा अचानक आएको बाढी र आँधीले १५ जनाको ज्यान गएको र नौ जना घाइते भएका थिए ।
९. फिलिपिन्समा आजबाट विद्यालय पुन सञ्चालनमा
फिलिपिन्समा साढे दुई वर्षदेखि बन्द रहेका विद्यालय आजबाट पुन सञ्चालन भएको छ । कोरोना महामारी सुरु भएपछि बन्द रहेका विद्यालय आजदेखि खुलेका र लाखौँ विद्यार्थी कक्षाकोठामा पुगेका समाचार संस्था अलजजिराले जनाएको छ । सन् २०२० को मार्चपछि आज पहिलो पटक विद्यालय भौतिक उपस्थितमा नै पठनपाठन सुरु गरिएको हो ।
बालबालिकालाई मास्क, स्यानिटाइजर र तापक्रम मापन अनिवार्य गरिएको छ । फिलिपिन्सका नवनिर्वाचित राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले कार्यकाल सम्हाल्ने बित्तिकै पुनः खुला गर्ने घोषणा गरेका थिए ।
लामो समय अनलाइनबाट मात्रै कक्षा सञ्चालन गर्दा विद्यार्थीको शैक्षिक गुणस्तर खस्किएको फिलिपिन्सको शिक्षकहरूको गठबन्धनको राष्ट्रिय अध्यक्ष भ्लादिमिर क्वेटुआलेलाई उद्धत गर्दै अलजजिराले जनाएको छ । बालबालिकाका लागि संयुक्त राष्ट्रसंघीय निकाय (युनिसेफ) ले फिलिपिन्समा विद्यालयहरू पुनः खोलेकोमा स्वागत गरेको छ ।
१०. केन्या भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
नेपाल क्रिकेट संघ (क्यान) ले केन्या भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ । काठमाडौंमा आज क्यान अध्यक्ष चतुरबहादुर चन्दले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेका हुन् ।
नेपालले केन्यासँग ५ खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्ने छ । ५ खेलको टी–ट्वान्टी सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ भने ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ । नेपाल र केन्याबीच सुरुआतमा ५ खेलको टी–ट्वान्टी सिरिज हुनेछ । त्यसपछि एकदिवसीय सिरिज हुनेछ ।
राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले केन्या भ्रमणबाट औपचारिक रुपमा नेपाली टिम सम्हाल्ने छन् । बिदाई कार्यक्रममा मुख्य प्रशिक्षक प्रभाकरले टिममा यसअघि देखिएको कमी कमजोरीलाई सुधारेर लैजाने बताए ।
त्यस्तै क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपाली टीम नयाँ ऊर्जाका साथ अघि बढेको र उत्साहित रहेको बताए ।
प्रतिक्रिया