आज भदौ ६ २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अगष्ट २२, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :
पाकिस्तानी प्रहरीद्वारा पूर्व प्रधानमन्त्री इमरान खानविरुद्ध अनुसन्धान सुरु
पाकिस्तानको प्रहरीले देशका पूर्वप्रधानमन्त्री इमरान खानमाथि अनुसन्धान सुरु गरेको छ । उनीमाथि प्रहरी र न्यायपालिकाविरुद्ध धम्की दिएको आरोप लागेको छ । गत शनिबार एक कार्यक्रममा उनले यी संस्थाबारे विवादास्पद अभिव्यक्ति दिएका थिए ।
अहिले पाकिस्तानमा राजनीतिक तनाव उच्च रहेको जनाइएको छ । खानका समर्थकहरूले उनको घर बाहिर भेला भएर इमरानलाई गिरफ्तार गरिए कब्जा गर्ने चेतावनी दिएका छन् । अप्रिलमा सत्ताच्युत भएपछि खान सरकार र देशको सेनाको प्रखर आलोचक बनेका छन् ।
पूर्वक्रिकेटरसमेत रहेका खानले आफ्ना नजिकका सहयोगीलाई यातना दिएको आरोप लागेपछि प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको हो । उनका सहयोगी देशद्रोहको आरोपमा हिरासतमा छन् ।
खानले इस्लामावादका प्रहरी प्रमुख र एक महिला न्यायाधीशलाई हिरासतमा राखेको र आफ्नो पार्टी सहकर्मीलाई दुर्व्यवहार गरेको आरोपको निन्दा गरेका थिए ।
ताइवानमा तनाव
ताइवानको रक्षा मन्त्रालयले ताइवान स्ट्रेट मध्य रेखा पार गर्ने पाँच वटा विमानसहित आइतबार ताइवानको वरिपरि १२ चिनियाँ विमान र पाँच चिनियाँ जहाज भेटिएको जनाएको छ ।
अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले हालै ताइवानको भ्रमण गरेपछि चीनले ताइवान वरिपरि सैन्य अभ्यास थालेको थियो । ताइवान सरकारको कडा आपत्तिको बाबजुद चिनियाँ सेनाको जहाजले फेरि मध्यरेखा पार गरेको हो ।
ताइवानलाई चीनले आफ्नो महत्त्वपूर्ण अंश मान्छ भने ताइवान आफूलाई सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र देश सम्झन्छ ।
पाकिस्तानमा सडक दुर्घटना
पाकिस्तान नियन्त्रित काश्मिरको बाग जिल्लामा भएको सडक दुर्घटनामा कम्तीमा नौ पाकिस्तानी सैनिकको मृत्यु भएको छ । घटनामा अन्य चार जना घाइते भएको उद्धार सेवाले सिन्ह्वालाई जानकारी दिएको छ ।
प्राप्त जानकारी अनुसार जिल्लाको शुजा अबाद क्षेत्र नजिकै सैनिकहरू सवार गाडी गहिरो खाल्डोमा खस्दा दुर्घटना भएको हो । दुर्घटनालगत्तै उद्धारकर्मी घटनास्थलमा पुगेर उद्धार कार्यमा खटिएको पनि अधिकारीहरूले बताएका छन् ।
पाकिस्तानमा प्रायः सडक दुर्घटनाहरू गुणस्तरहीन सवारी साधन, जीर्ण सडक र सडक सुरक्षा उपायहरूको लापरवाहीका कारण हुने गर्दछन् ।
भारी मनसुन वर्षाका कारण उत्तरी पाकिस्तानमा हालैका दिनहरूमा सडक दुर्घटनामा उल्लेखनीय वृद्धि भएको पाइएको छ ।
भारतमा कोरोना भाइरस
भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या दश हजार भन्दा कम भएको छ ।
यहाँ २४ घण्टाको समयावधी अर्थात आइतबार मध्यरातिसम्म नौ हजार पाँच सय ३१ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको छ ।
यसैसँगै भारतमा चार करोड ४३ लाख ४८ हजार नौ सय ६० जना कोराना भाइरस सङ्क्रमित भएका छन् । भारतमा एक दिन अगाडि अर्थात आइतबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा ११ हजार पाँच सय ३९ जनामा सङ्क्रमण देखिएको थियो ।
दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ९७ हजार छ सय ४८ जना रहेका छन् ।
गत २४ घण्टाको समयअवधीमा कोरोना सङ्क्रमणबाट यहाँ ३६ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म यहाँँ पाँच लाख २७ हजार तीन सय ६८ व्यक्तिको मृत्यु भइसकेको छ ।
भारतमा हिजो एक दिनमा १२ हजार सात सय ८३ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३७ लाख १२ हजार दुई सय १८ जना कोरोनामुक्त भएका छन् ।
नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो ।
सो समयबाट हालसम्म दुई अर्ब दश करोड २४ लाख भन्दा बढी मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसम्म ८८ करोड ६० भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।
भारतमा बाढी
भारतको उत्तरी र पूर्वी भू–भागमा जारी वर्षा र बाढीबाट कम्तीमा पनि ५० जनाको ज्यान गएको छ । भारी वर्षाका कारण आइतबार रातिसम्म मृत्यु हुनेको संख्या ५० पुगेको भारतीय अधिकारीहरुले जनाएका छन् ।
पहाडी राज्यहरू हिमाचल प्रदेश, र उत्तराखण्ड, पूर्वी राज्यहरु उडिसा, झारखण्ड र भारत–प्रशासित काश्मीरमा बाढी र पहिरोमा परी उनीहरूको मृत्यु भएको भारतीय उद्धार अधिकारीहरुले जानकारी दिएका छन् ।
हिमाचल प्रदेशको उत्तरी पहाडी क्षेत्रमा पहिरो गएको छ । त्यस पहिरोमा परेर ३६ जनाको ज्यान गएको भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ ।
त्यहाँ अरु केही अझै बेपत्ता रहेका छन् । त्यसैगरी उडिसा र झारखण्डमा पनि भारी मात्रामा वर्षा र पहिरो गएको छ । त्यहाँ कतिपय विदेशी पर्यटकहरु फसेको बताइएको छ । उनीहरुको उद्धार जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।
यसअघि यहाँ आइतबार नै पहिरोको एउटा घटनामा एकै परिवारका आठ जनाको मृत्यु भएको समाचार आएको थियो । बाढीपहिरो प्रभाावित राज्यका पुल, सडक र राजमार्गजस्ता भौतिक संरचना नराम्ररी क्षतिग्रस्त भएकाले आवतजावतमा अवरोध भएको छ ।
बाढीपहिरोका कारण फसेका हजारौँ स्वदेशी तथा विदेशी पर्यटकको उद्धारको काम जारी रहेको प्रहरीले जनाएको छ ।
बाइडेनले शिखर सम्मेलन गर्ने
अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना ह्वाइट हाउस शिखर सम्मेलनको आयोजना गर्ने भएका छन् । सम्मेलनको मुख्य उद्देश्य अमेरिकामा घृणाले उत्तेजित हिंसाको विरूद्ध लड्ने रहेको र त्यसको नारा राष्ट्रको आत्मालाई निको पार्ने अभियान रहने बताइएको छ ।
ह्वाइट हाउसले यसबारे जानकारी दिंदै राष्ट्रपति बाइडेनले सार्वजनिक सुरक्षा र लोकतन्त्रलाई बलियो बनाउन आगामी सेप्टेम्बर १५ मा युनाइटेड वी स्ट्यान्ड शिखर सम्मेलनको आयोजना गर्ने जनाएको छ । एल पासो, टेक्सास, पिट्सबर्ग र ओक क्रिक, विस्का‘न्सिन लगायत शहरहरूमा घृणा सञ्चालित हिंसालाई न्यूनीकरण र सम्बोधन गर्ने लक्ष्य राख्दै सो सम्मेलन आयोजना हुनेछ ।
गत मे महिनामा न्युयोर्कको बफेलो, सुपरमार्केटमा १० जना काला जातिका मानिसहरू मारिएपछि अधिकारकर्मीहरूले राष्ट्रपति बाइडेनलाई जातीय हिंसा विरुद्ध लड्ने यस्ता कार्यक्रम आयोजना गर्न दबाब दिएका थिए ।
सो सम्मेलनले घृणा र उत्तेजना नियन्त्रित जातीय हिंसा लगायातका अन्य विभेदको अन्त्यका लागि उबाब सृजना गर्ने अपेक्षा गरिएको छ ।
सुडानमा आपतकाल घोषणा
सुडानका छ राज्यमा आपतकाल घोषणा गरिएको छ । अत्याधिक बर्षापछि आएको बाढीका कारण सङ्कट उत्पन्न भएकाले आपतकाल घोषणा गरिएको हो ।
“आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले देशका छ राज्यमा आपतकाल घोषणा गर्ने निर्णय गरेको छ, ती राज्यहरुमा उच्च सतर्कता आपाउनु पर्ने भएको छ,” एक मन्त्रीले भने ।
सरकारी अधिकारीहरुका अनुसार रिभर नाईल, गेजिरा, ह्वाइट नाइल, वेस्ट कोर्डोफन, साउद डार्फर र कसला राज्यमा आपतकाल लागू गरिएको हो ।
मन्त्रीपरिषद्ले प्रभावित क्षेत्रमा उद्धारकर्ताहरु परिचालन गर्ने र आवश्यक सहयोगको प्रवन्ध गर्ने निर्णय पनि गरेको कार्यबहाक मन्त्री ओस्मन हुसेन ओस्मनले जानकारी दिएका छन् ।
बाढी पहिरो पीडितहरुलाई सहयोग गर्न सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगदाताहरुलाई अनुरोध गरेको छ । स्वदेशी तथा विदेशी सहयोग संकलनका लागि बैंक खाता खोल्ने निर्णय भएको पनि मन्त्री हुसेनले जानकारी दिए । बाढी पहिरोबाट पीडितलाई सहयोगका लागि प्रभावकारी उपाय अपनाउन पनि सरकारी अधिकारीहरुले निर्देशन दिएका छन् ।
अफगानिस्तानमा बाढी
अफगानिस्तानको पूर्वी पाक्तिया प्रान्तमा आएको भीषण वर्षापछिको बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ । बाढीबाट अरु १२ जना घाइते भएका राज्य सञ्चालित बख्तर समाचार समितिले सोमबार जनाएको छ ।
आइतबार राति प्रान्तीय राजधानी गार्डेज र पक्तिया प्रान्तका केही जिल्लाहरूमा भारी बाढीका कारण १४ जनाको ज्यान जानुको साथै १२ जना घाइते भएका राज्य सञ्चालित समाचार समितिले जानकारी दिएको छ ।
मनसुनी बाढीले कम्तिमा २० एकड जमिन बगाएको र तीन सय ५८ आवासीय घर पूर्णरुपमा र छ सय ७६ अन्य आंशिक रुपमा ध्वस्त भएका बख्तरले जानकारी दिएको छ ।
बाढीले यस प्रान्तमा एक हजार चार सय ३० भन्दा बढी गाईवस्तुको ज्यान गएको र सयौं किलोमिटर सडक, असङ्ख्य सुरक्षाका पर्खालहरु, पुल र बाँधमा क्षति पुगेको बख्तर जनाएको छ ।
पक्तियाको छिमेकी लोगार प्रान्तको खुशी जिल्लामा अचानक आएको बाढी र आँधीले १५ जनाको ज्यान गएको र नौ जना घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता अहमदउल्लाह अनासले पुष्टि गरेका छन् ।
सोमालियामा जिहादी आक्रमणमा सरकारको जवाफदेहीता
अफ्रिकी मुलुक सोमालियाका प्रधानमन्त्रीले अल–शबाब जिहादीहरुले राजधानी मोगादिसुमा रहेको होटेलमा गराएको घातक हमलाका लागि सरकार जवाफदेही हुने बताएका छन् ।
प्रधानमन्त्री हम्जा अब्दी बारेले पनि सोमालियालीहरूलाई अल–कायदा सम्बन्धित समूहविरुद्ध लड्न एकजुट हुन आह्वान गरेका छन् । यस देशमा अल–शबाब जिहादीहरुले १५ वर्ष भन्दा बढी समयदेखि रक्तपातपूर्ण विद्रोह गरिरहेका छन् ।
‘सरकारमा जवाफदेहिता हुनेछ, सरकारमा कोही पनि जवाफदेहिताबाट उम्कने छैन, जो कोहीले आफूलाई सुम्पिएको जिम्मेवारीलाई बेवास्ता गरे जवाफदेही बनाइनेछ,’ बारेले बताएका छन् ।
अल–शबाब आतङ्ककारीले सोमालियाको राजधानी मोगादिसुको हयात होटलमा आक्रमण गरेको झण्डै ३० घण्टापछि सैनिक कारवाही समाप्त भएको थियो ।
अल–शबाब आतङ्ककारीले गरेको आक्रमणमा ४० जनाको मृत्यु हुनुका साथै ७० भन्दाबढी घाइते भएका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार सुरक्षा अधिकारी र आक्रमणकारीबीच झण्डै ३० घण्टासम्म गोली हानाहान जारी रहेको थियो ।
प्रतिक्रिया