दलहरुको चुनावी एजेन्डा : मुद्दा कि मुहार ? « Khabarhub

दलहरुको चुनावी एजेन्डा : मुद्दा कि मुहार ?

आदर्श राजनीति मुर्झाएका बेला जनतालाई आश्वासन दिने आधार के ?


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : केही वर्ष अघि मात्रै प्रचण्ड नेतृत्वकै माओवादी केन्द्रले चुनावमा घर घरमा वाईफाई पुर्याउने घोषणा गरेको थियो । जुन उसको चुनावी एजेन्डा बन्यो । माओवादीले खुबै प्रचार पनि गरेको थियो । तर त्यो त्यत्तिकै सेलायो । न माओवादीले घर घरमा वाईफाई दियो । न त त्यही नाराले भनेजस्तो चुनाव जित्यो ।

केही वर्ष अघि नै नेकपा एमालेले देशलाई लोडसेडिङमुक्त बनाउने घोषणा चुनावी एजेन्डामा लेख्यो । तर एमालेले होइन कि प्रचण्ड प्रधानमन्त्री भएका बेला जनार्दन शर्मा ऊर्जामन्त्री हुँदा कुलमान घिसिङलाई विद्युत प्राधिकरणको नेतृत्व दिलाएर माओवादीले नै देशलाई लोडसेडिङमुक्त बनायो । तर एमालेको चुनावी एजेन्डा केवल नारा मात्रै बन्यो ।

कांग्रेसले कम्युनिष्टजस्तो खास नारा दिलाउन नसकेपनि उसका चुनावी मुद्दा पनि खोक्रो राजनीतिक नै छन् । गएको संसदीय चुनावमा एमाले र माओवादी मिलेर राष्ट्रवादलाई हतियार बनाए । जुन चुनावमा मुद्दा थिएन, केवल एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डको मुहारलाई एक ठाउँमा देखेपछि कार्यकर्ताले एकता बलियो बनाए ।

ओली र प्रचण्डको तुलनामा कांग्रेस सभापति शेरबहादुर देउवाको मुहार बलियो देखिएन । जसकारण देउवा स्वतः कमजोर भए । चुनाव हारे । ठीक पाँच वर्षपछि अवस्था यति फेरिएको छ कि अहिले देउवा, ओली र प्रचण्ड कसैको अनुहार पनि पत्याउन जनता तयार छैनन् । अझ भनौँ उनीहरुको अनुहार पत्याउन लायक छैन ।

मुखमा एउटा, व्यवहारमा अर्को भइरहेको छ । त्यो पार्टीमा होस् वा सरकारमा । नेताहरु मुखैपिच्छे आफ्नो व्यक्तिगत स्वार्थ र पैँसाको राजनीति गरिरहेको कुरा कसैबाट लुकेको छैन । आजको तथ्य, कम्तीमा नेताहरुबाट देखिएको यही सत्य हो । भलै आवरण र आँकलन फरक फरक होलान् ।

केवल सत्ताका लागि हानथाप गर्ने नेताहरुको अनुहार जनतालाई दिक्दारी मात्रै छ । उनीहरु नेताबाट आश गर्न सक्ने ठाउँमा पनि छैनन । किनकी आधारभूत आवश्यकता परिपूर्ति गर्नै हम्मेहम्मे परेका बेला जनता भारत, खाडी देश र युरोपदेखि कोरियासम्म हानिन बाध्य छन् ।

सकेको व्यक्तिले राजनीति गर्दा मुद्दाभन्दा पैँसालाई पहिलो प्राथमिकतामा राखेको देखिन्छ । जसले अकुत पैँसा कमाएर खर्च गर्न सक्छ । उसले चुनाव जित्ने कुरामा नेताहरुको मत नै बलियो बन्दै गएको छ । यस्तो परिदृश्य हावी रहेका बेला आउँदो चुनावमा मुद्दा चल्छ कि नेताहरुको मुहार ? प्रश्न पेचिलो छ ।

यतिबेला कांग्रेस, माओवादी, नेकपा एकिकृत समाजवादी एक ठाउँमा छन् । जसलाई सत्ता गठबन्धनको नाम दिइएको छ । देउवा, प्रचण्ड र माधव नेपाल एक ठाउँमा भएपछि कार्यकर्ता पनि मिलेर चुनाव जित्न सजिलो ठानिरहेका छन् ।

अनि तीन अनुहार एक ठाउँ आउँदा गएको चुनावमा देउवाजस्तै एक्लिएका पात्र हुन्, केपी शर्मा ओली । उनलाई कोसँग मिल्ने ? कसरी चुनाव लड्ने ? कुन मुद्दा उठाउने ? तनाव बढेको छ । त्यही पनि प्रचण्ड र माधव नेपाललाई फकाउन सकिन्छ कि ? भन्ने आश ओलीमा कायमै छ ।

नेताहरु फकाउने, स्वार्थ देखाउन, प्रधानमन्त्री र मन्त्री पद बाँड्ने अनि आफू सत्तामा रमाउने शीर्ष राजनीतिक पार्टीका नेताहरुको प्रवृत्तिबाट जनता वाक्कदिक्क छन् । अनुहारबाटै वाक्क दिक्क भएका नेताहरुबाट जनताले ठूलो चुनावी एजेन्डाको खास आश गरेका छैनन् ।

त्यसमाथि संघीयता, समावेशी, स्वतन्त्रता सबै एजेन्डा स्थापित छन् । तर व्यवहारिक बन्न सकेका छैनन् । यस्तोमा भ्रष्टाचारविरुद्ध नारा दिन झनै सुहाउँदैन । नेताहरु सबै भ्रष्ट छन् । त्यसमा पनि सबैभन्दा ठूलो भ्रष्टचारी राजनीतिक दलका नेता कार्यकर्ता नै छन् ।

यस्तो बेला अहिले चुनाव नजिकिदै जाँदा घोषणापत्रमा के लेख्ने भनेर कांग्रेस, माओवादी र एमाले नै अन्यौलमा परेको देखिन्छ । जबकी त्यो घोषणापत्र केवल घोषणामै सीमित हुनेछ । जनताले दलहरुका घोषणापत्र केवल खोक्रा नारा हुन् भन्ने बुझेका छन् ।

त्यसमाथि अहिले सत्ता गठबन्धनले मिलेर घोषणापत्र बनाउने तयारी गरेको छ । एमाले एक्लै घोषणापत्र बनाउनुपर्ने बाध्यतामा छ । दुवैको नलेखिने मुद्दा क्लियर छ, त्यो भनेको जसरी हुन्छ सत्तामा जाने । दल फुटाएर हुन्छ वा कसैसँग एकता वा गठबन्धन गरेर सत्तामा जाने नेताहरुको स्पष्ट घोषणा छ ।

यस्तो बेलामा जनताले नेताहरुको मुहार मात्रै पत्याउने आधार नहुँदा उनीहरुले बनाउने मुद्दाको घोषणापत्र कस्तो हुन्छ भन्ने चाँसो त छ । तर भरोसा छैन ।

भरोसा नभएका नेताहरुकै कारण हिजोआज स्वतन्त्र युवाहरुले उठाएको ‘नो नट अगेन’ अभियान झन् चर्किने सम्भावना पनि छ । जसलाई पन्छाउन देउवा, प्रचण्ड, केपी ओली, माधव नेपालदेखि बाबुराम भट्टराई र वामदेव गौतमसम्मलाई हम्मे हम्मे पर्न सक्छ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ४ : ०८ बजे

शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले गरेँ पद बहाली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । प्रधानमन्त्री

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित

काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित भएका छन्

चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (तस्बिरहरू)

 काठमाडौं– चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९ औँ संस्करणको

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको