दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू (अडियोसहित)


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज दिनभर देउवा र ओलीबीच भेटवार्ताले राजनीतिमा तरंग, नेकपा एमालेको केन्द्रीय कमिटी बैठकका एजेण्डा तय, राष्ट्रपतिकाे गतिविधिले आशंका पैदा गरेको अध्यक्ष नेपालको टिप्पणी, माओवादीले माग्यो केन्द्रीय सदस्यहरुको सम्पत्ति विवरण, महानगरले अल्फा बिटाको अवैध संरचनामा डोजर चलायो लगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

देउवा र ओलीबीच भेटवार्ताले राजनीतिमा तरंग
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि सिट बाँडफाँटमा सत्तारुढ गठबन्धनभित्र खटपट चलिरहेको बेला नेपाली कांग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री शेरवहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ताले राजनीतिमा तरंग उत्पन्न भएको छ ।

प्रधानमन्त्री देउवाको निमन्त्रणामा उपाध्यक्षद्धय सुवास नेम्वाङ र विष्णु पौडेलसहित प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका ओलीले प्रधानमन्त्रीसंग ४ बुँदे सवाल राखेका छन । विकसित राजनीतिक घटनाक्रमासंगै ६ महिनापछि देउवा र ओलीबीचको झण्डै २ घण्टा लामो भेटवार्ताले महत्वपूर्ण राजनीतिक अर्थ राख्ने विश्लेषण गरिएको छ ।

सरकारले चुनावको मिति घोषणा गर्ने बेला परामर्श नलिएको गुनासो गर्दै आएको विपक्षी दल एमालेसंग चुनावको मिति नजिकिँदै जाँदा प्रधानमन्त्री देउवाले गरेको संवाद राजनीतिक रुपले अर्थपूर्ण देखिन्छ । देउवा र ओलीबीच राजनीतिक घटनाक्रका विषयमा पनि छलफल हुनुले राजनीतिमा बहुआयामिक अर्थ दिएको छ ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकका एजेण्डा तय
नेकपा एमालेको पोलिटब्यूरो बैठकले केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गरेको छ ।

पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको बैठकले आगामी निर्वाचनको तयारी, निर्वाचनमा उम्मेद्वारको छनौटसम्बन्धी मापदण्ड, वर्तमान अवस्था समेटिएको अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन पेश गर्ने लगाएतका केन्द्रीय कमिटीका एजेण्डा तय गरिएको एमाले प्रचार बिभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

त्यस्तै संगठीत सदस्यहरुको व्यवस्थापन, परिषद् तथा आयोगको प्रतिवेदन पेश गर्ने लगाएतका एजेण्डा समेत तय भएको उनले बताए । बैठकमा अध्यक्ष ओलीले आफ्नो राजनीतिक प्रतिवेदनबारे जानकारी गराएका थिए भने १५ जना पोलिट्व्युरो सदस्यहरुले प्रतिवेदनमाथि धारणा राखेको गुरुङले जानकारी दिए ।

सैनिक अधिकारीसँग राष्ट्रपति भण्डारीको परामर्श अस्वाभाविक : सत्ता गठबन्धन
राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक अधिकारीहरुसँग गरेको परामर्शलाई सत्ता गठबन्धनले अस्वभाविक भनेको छ । बिहीबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा राष्ट्रपति भण्डारीका पछिल्ला गतिविधिबारे समीक्षा भएको थियो ।

त्यस बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति भण्डारीको गतिविधिबारे चासो व्यक्त गरेका थिए । यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको कदम स्वभाविक नभएको बताएका थिए।

बैठकमा प्रधानमन्त्री देउवाले नागरिकता विधेयक फिर्ता गरेपछि राष्ट्रपतिले निरन्तर गरिरहेको परामर्शबारे सत्ता गठबन्धनका अन्य नेताहरुको धारणा बुझेका थिए । राष्ट्रपति भण्डारीले बुधबार सेनाका बहालवाला र अवकास प्राप्त अधिकारीहरुसँग छलफल गरेकी थिइन ।

यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिको कदमलाई असंवैधानिक भनेका थिए । बैठकमा एकीकृत समाजवादीले सेनासँगको परामर्शलाई स्वभाविक मान्न नसकिने धारणा व्यक्त गरेको छ ।

राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाले प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक फिर्ता गरेकी थिइन्। उनले फिर्ता गरेपछि सरकारले जस्ताको त्यस्तै विधेयक पठाइने निर्णय गरेको थियो ।

राष्ट्रपतिकाे गतिविधिले आशंका पैदा गरेको अध्यक्ष नेपालको टिप्पणी
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो गतिविधिले आशंका पैदा भएको बताएका छन ।

समाजवादी पार्टी पुनर्गठन दिवसका अबसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपालले राष्ट्रपति भण्डारीको पछिल्लो गतिविधिका बारेमा गठबन्धन बैठकमा पनि छलफल भएको र कतै अनिष्ट त हुन लागेको होइन भन्ने प्रश्न उठेको बताएका हुन । राष्ट्रपतिले पूर्वआर्मी चिफ बोलाएर भोजन दिने कामले शंका जन्माएको उनको भनाई छ ।

लुम्बिनी प्रदेशमा गठबन्धनका नेता र एमाले नेता बिच आरोप प्रत्यारोप
नेपाली काँग्रेसका लुम्विनी प्रदेश सभापति अमर सिंह पुनले मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धन दलहरुले सांगठनिक हैसियतका आधारमा सिट बाँटफाँट गर्नुपर्नेमा जोड दिएका छन्।

विहिवार रिपोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेश कार्यालयले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पुनले स्थानिय तहको सिटको आधारमा आगामी एमालेले चुनावमा हार्ने निश्चित भएको ठोकुवा गरे । उनले दलहरुको हैसियतको आधारमा सिट बाँटफाँट गरे जीत हासिल गर्न सकिने जिकिर गरे ।

त्यस्तै नेकपा एमाले लुम्विनी प्रदेशका उपाध्यक्ष एंव प्रदेश सांसद भोज प्रसाद श्रेष्ठले पाँच दलिय गठबन्धनको कुनै औचित्य नरहेको बताउदै पाँच दलिय गठबन्धनले संविधानलाई कमजोर वनाएर देशलाई डुवाउने काम गरेको जानकारी दिए ।

त्यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा लुम्विनी प्रदेश संसदिय दलका प्रमुख सचेतक तुलाराम घर्तीले नेपाली राजनितिमा विश्वासको संकट परेको बताए ।

साक्षात्कारमा नेकपा एसका लुम्विनी प्रदेश सचिव राजु गुरुङले एउटै दलका नेताले चुनाव जित्दा अहंकार वढ्दै गएको वताउँदै आगामी चुनावमा युवा पुस्तालाई जिताउनु पर्ने औल्याए ।

माओवादीले माग्यो केन्द्रीय सदस्यहरुको सम्पत्ति विवरण
नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्यहरुको सम्पत्ति विवरण माग गरेको छ । पार्टी केन्द्रीय कार्यालयले सदस्यहरुलाई पत्राचार नै गरेर एक साताभित्र सम्पत्ति विवरण पठाउन सूचित गरेको हो ।

केन्द्रले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५३ को प्रयोजनको लागि पार्टी केन्द्रीय सदस्यहरुले आफ्नो चल अचल सम्पत्तिको विवरण पार्टी केन्द्रीय कार्यालयमा खाम बन्दी गरी हप्ता दिन पठाई दिन निर्देशन दिएको हो ।

सम्पत्ति विवरणमा केन्द्रीय सदस्यको सम्पूर्ण विवरणसहित घर तथा जग्गा धनीको नाम कित्ता नम्बर, बर्गमिटर, प्राप्तिको स्रोत, खरिद गरेको भए खरिद मूल्य खुलाउन भनिएको छ ।

महानगरले अल्फा बिटाको अवैध संरचनामा डोजर चलायो
काठमाण्डौ महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको अल्फा बिटा कम्प्लेक्सको अवैध संरचनामा डोजर चलाएको छ । आज बिहीवार दिउँसो महानगरको दलबलसहित अल्फा बिटा कम्प्लेक्स पुगेर अवैध संरचना डोजर चलाएको हो ।

यसअघि आज बिहान अवैध संरचना हटाउन पुग्नुभएका मेयर र कम्प्लेक्सका निर्देशक द्विराज शर्माबीच चर्काचर्की भएको थियो । अल्फा बिटाले सडकपेटीमै पार्किङ गराइरहेको र नक्सामा उल्लेख भएभन्दा बाहेकको संरचना बनाएको भन्दै मेयर बालेन्द्रले तत्काल भत्काउन निर्देशन दिएका थिए ।

आफूले नक्सा पासअनुसार नै संरचना बनाएको निर्देशक शर्माले जवाफ दिएपछि मेयर साहले नक्सा माग्दा चर्काचर्की परेको थियो । अहिले महानगरले अवैध संरचना र पार्किङको नक्सा पास गरेर अरू नै प्रयोजनमा लगाउनेमाथि कारबाही थालेको छ । यसअघि सुन्धारा र न्युरोड क्षेत्रमा बनाइएका अवैध संरचना भत्काएको थियो ।

कोरोनाका कारण थप ३ जनाको ज्यान गयो
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण तीन जनाको ज्यान गएको छ । थप तीन जनाको ज्यान गएसँगै नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नौ सय ९८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा चार सय ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार नौ सय ५४ जनाको नमुना परीक्षण गर्दा चार सय ४४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा तीन सय सात जना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार एक सय ९९ रहेको छ । यसैबीच थप पाँच हजार पाँच सय ९७ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अडियाे सुन्नुहाेस्:

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ९ : २८ बजे

अनेरास्ववियुको चुनावी घोषणापत्र सार्वजनिक

सुर्खेत– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियन

प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लबद्वारा लुम्बिनी पराजित

 भैरहवा– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लबले

७ महिनामा प्रदेश सरकारले गरे ५१ अर्ब ९० करोड खर्च 

काठमाडौं– चालु आर्थिक वर्ष २०८१/०८२ को सात महिना अर्थात् माघ मसान्तसम्ममा

विषम परिस्थितिमा साथ दिएका नागरिक कांग्रेससँग असन्तुष्ट छन् : गगन थापा 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिको विषम परिस्थितिमा

सात महिनामा १६ अर्ब ६६ करोडको धितोपत्र नेप्सेमा सूचीकृत 

काडमाडौं– चालु आर्थिक वर्षको सात महिनाको अवधिमा १६ अर्ब ६६