बिहान १० बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

बिहान १० बजेसम्मका मुख्य १० समाचार


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन् :

१. मंसिर ४ अघि देउवा विदेश भ्रमण नजाने
प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकाको औपचारिक भ्रमणमा र संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका नजाने भएका छन् । संयुक्त राष्ट्रसंघको ७७औँ महासभामा असोज ४ गतेदेखि उच्च नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यसअघि असार अन्तिम सातालाई तय भएको अमेरिकाको औपचारिक भ्रमण हुन नसकेपछि दुई देशबीच कूटनीतिक संयन्त्रमा प्रधानमन्त्रीको भ्रमणको गृहकार्य भइरहे पनि प्रधानमन्त्री देउवाले महासभामा नजाने निर्णय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

२. उम्मेदवार सिफारिसमा कांग्रेसको निर्देशन
नेपाली कांग्रेसले तालमेल हुँदा आफूले नपाउने निर्वाचन क्षेत्र छाड्ने प्रतिबद्धतासहित पार्टीका उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको छ। कांग्रेसको जारी परिपत्रमा सिफारिसमा परेकाबाट पार्टीका उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउने प्रतिबद्धता खोजिएको छ। कांग्रेसले सबै प्रदेश, जिल्ला, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र प्रदेश सभा क्षेत्रीय कार्यसमितिलाई परिपत्र गरी भदौ २० भित्र केन्द्रमा उम्मेदवारको नाम सिफारिस गर्न मापदण्डसहित परिपत्र गरेको हो।

३. एमाले केन्द्रिय कमिटी बैठक आज पनि
एमालेको केन्द्रिय कमिटीको  बैठक आज पनि बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बिहान साढे १० बजे बस्ने बैठकमा  हिजो प्रस्तुत भएका सबै प्रतिवेदमाथि  ९ वटा समितिले आफ्नो सुझाव प्रतिवेदन पेश गर्ने एमालेले जनाएको छ । केन्द्रिय कमिटीको हिजोको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, सल्लाहकार परिषद्को प्रतिवेदन, अनुशासन आयोग लेखा आयोग लगायतको प्रतिवेदन पेश गरिएको  थियो ।

४.  साल्ट ट्रेडिङको चिनी खरिद प्रक्रिया 
चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले १० हजार टन चिनी खरिद गर्ने भएको छ। दसैँ नजिकिँदै गर्दा चिनीको मौज्दात सकिएपछि १० हजार टन चिनी खरिद प्रक्रिया अघि बढाएको लिमिटेडले जनाएको छ । लिमिटेडका सूचना अधिकारी कुमार राजभण्डारीले दुई महिनाअघि नै चिनीको मौज्दात सकिएको र खरिद प्रक्रिया पनि बीचमै रोकिएकोले यस वर्षको दशैका लागि सहुलियत मूल्यमा चिनी बिक्री गर्न नसकिने बताए । चिनी खरिद गरेर बिक्री गर्नका लागि अर्थमन्त्रालयमा प्रस्ताव रोकिएकाले समस्या भएको उनको भनाई छ ।

५. आज बुबाको मुख हेर्ने दिन
आज कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिन । आजको दिन आफ्ना बुबालाई मिठो खाना र राम्रा कपडा दिएर सम्मान गर्ने गर्छन् । यस दिन बुवाको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खास गरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने गरिन्छ । संस्कृतिविद् हरिराम जोशीले छोराछोरी आमा बाबुकै प्रतिरूप भएकोले माता पिताको आदर सत्कार गर्नु छोरा छोरीले स्वयम् आफूले आफैँलाई चिन्नु भएको बताएका छन् ।

६. मोतीराम भट्टको १५७औँ जयन्ती मनाइँदै
नेपाली साहित्यका विशिष्ट व्यक्तित्व मोतीराम भट्टको  १५७ औँ जन्म जयन्ती  आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । नेपाली गजल साहित्यका  महानायक  भट्टको विसं १९२३ सालको भाद्र कृष्ण औँसी (कुशे औँसी)का दिन जन्म भएकोले यस दिनलाई मोतीजयन्तीका रूपमा मनाइने गरिएको हो । श्रृङ्गार रसलाई केन्द्रविन्दुमा राखेर गजल साहित्यका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका भट्टले कथा, नाटक र निबन्धसमेतको रचना गरेका थिए ।

७. देउवाले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्दै
बुटवलमा  निर्माण भएको  अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको  प्रधानमन्त्री  शेरबहादुर देउवाले आज उद्घाटन गर्ने भएका छन् । सम्मेलन केन्द्रको  प्रधानमन्त्री देउवाले  आज बिहान १० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए । पूर्वपश्चिम राजमार्गसँग जोडिएको बुटवल उपमहानगरपालिका–१० रामनगरस्थित बुटवल मण्डपको साढे ९ बिघा क्षेत्रफलमा बनेको सम्मेलन केन्द्र एक अर्ब ११ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो।

८. कैलालीमा हत्कडीसहित भागेका युवक पक्राउ
कैलालीमा हत्कडीसहित भागेका युवकलाई  प्रहरीले पक्राउ गरेको छ । आफ्नै बुवालाई कुटपिट गरेको आरोपमा प्रहरीले घरबाट नियन्त्रणमा लिने क्रममा हत्कडीसहित भागेका जोशीपुर गाउँपालिका–४ वाणीका २८ वर्षीय शंकर चौधरीलाई प्रहरीले  पुन  पक्राउ गरेको हो ।  चौधरीलाई जोशीपुर गाउँपालिका–४ कै हसानापुर क्षेत्रबाट पक्राउ गरेर इलाका प्रहरी कार्यालय भजनीको नियन्त्रणमा राखिएको छ ।

९.इथियोपियाको उत्तरी क्षेत्रमा हवाई आक्रमणमा ७ जनाको मृत्यु 
इथियोपियाको उत्तरी क्षेत्रमा भएको हवाई आक्रमणमा परेर ७ जनाको मृत्यु भएको छ । टिग्रे क्षेत्रको मेकेल शहरमा  हवाई आक्रमणमा परेर ३ बालबालिकासहित  ७ जनाको मृत्यु भएको हो ।  अन्य ९ जना घाइते भएका छन् । टिगे्रई  र अम्हारा क्षेत्रको सिमानामा राष्ट्रिय सरकार र टिग्रेई  सेनाबीच युद्धविराम भङ्ग भएको दुई दिनपछि मेकेलेमा हवाई आक्रमण भएको समाचार संस्था रोर्यटसले जनाएको छ।

१०. एसिया कप क्रिकेट आजदेखि
एसिया कप क्रिकेट आजदेखि सुरु हुँदैछ । यूएईमा हुने टी–२० फर्म्याटको प्रतियोगितामा ६ टोली सहभागी छन् । प्रतियोगिताको उद्घाटन खेलमा आज बेलुका पौने आठ बजे अफगानिस्तान र श्रीलङ्का भिड्नेछन् । एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’ मा साविक विजेता भारतसहित पाकिस्तान र हङकङ रहेका छन् । समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  १० : १४ बजे

अरुण नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन

भोजपुर – अरुण नदीमा बेपत्ता भएका दुई बालिका अझै भेटिएका

प्रदेश सरकार खेलकुदको विकासका लागि प्रतिबद्ध छः मुख्यमन्त्री सिंह

धनुषा – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खेलाडीले मेहनत गरेर

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

कास्की – पर्यटन राजधानी पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवातालको ताल

दृष्टि मिडियाका अध्यक्ष र कार्यकारी सम्पादक धरौटी तिरेर रिहा

काठमाडौं – अदालतको अवहेलनासम्बन्धी मुद्दामा दृष्टि मिडिया प्रालिका अध्यक्ष शम्भुलाल

बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ

सिरहा – सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंक शाखाबाट रु नौ