सिट बाँडफाँडको सकसले नेताहरु नै अन्यौलमा | Khabarhub Khabarhub

चुनावी चिन्ता

सिट बाँडफाँडको सकसले नेताहरु नै अन्यौलमा

कांग्रेसको दुई लाइन संघर्षले शीर्ष नेताहरुकै जित-हार अनिश्चित !


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अहिले धमाधम प्रदेश र प्रतिनिधिसभा उम्मेदवारका लागि नाम सिफारिस भइरहेको छ । हरेक निर्वाचन क्षेत्रबाट कम्तीमा ३ जनाको नाम सिफारिस चलिरहेको छ । कतिपय शीर्ष र प्रभावशाली नेताहरूले एकभन्दा बढी क्षेत्रबाट पनि नाम सिफारिस गरेका छन् ।

चुनावी माहोल र गठबन्धनमा कति सिट पाइने हो भन्ने एकिन नभएका कारण नेताहरू एकिनका साथ उम्मेदवार बन्छु भन्नेमा ढुक्क छैनन् । तर पनि नेताहरू टिकटका लागि लागिरहेका छन् । अहिले एमालेमा एकतर्फी कुनै तनाव नभई उम्मेदवार सिफारिस भइरहेका छन् ।

तर गठबन्धनमा आबद्ध दलका नेताहरू भने टिकट पाउने हो कि होइन भनेर सिफारिसमा परेका छन् । कतिपयलाई सिफारिसमा पर्न पनि सकस देखिएको छ । कतिपय नेताहरू सिफारिसकै लागि भनसुन गर्नेदेखि मोटो रकमको बार्गेनिङ गर्ने क्रम चलिरहेको छ ।

तर सिफारिसका लागि दौडधुप गरिरहेका नेताहरू टिकट पाउनका लागि यो भन्दा बढी संघर्ष गर्नुपर्ने अवस्थामा छन् । गठबन्धन भएकाले कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीका नेताहरू अहिलेभन्दा बढी ठूलो दौडधुप गर्नुपर्ने अवस्थामा हुनेछन् ।

सिट बाँडफाँड नहुँदा नेताहरू नै अन्यौलमा

१६५ निर्वाचन क्षेत्रका लागि अहिले सत्ता गठबन्धनमा कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी दौडमा छन् । कांग्रेसले १०० भन्दा तल झर्न नसकिने बताउँदै आएको छ । माओवादीले ६० र समाजवादीले ४० सिट दाबी गरिरहेको छ ।

जसपा र जनमोर्चाको दाबी पनि छ । माओवादीको चुनाव चिन्ह लिएर वामदेव गौतम र बाबुराम भट्टराई पनि दुई सिट खोजिरहेका छन् । बटम लाइन बनाएका शीर्ष नेताहरू दर्जनौँ पटक बैठक बसेपनि टुंगोमा पुग्न सकेका छैनन् ।

बरु उनीहरु सार्वजनिक मञ्चमा एकले अर्कोलाई घोचपेच गरिरहेका छन् । हालै नेकपा समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेस जम्मा २३ सिटे हैसियतको पार्टी भएको भन्दै ठुलो भाग खोज्न नहुने तर्क गरे । उनले गएको चुनावमा कांग्रेस कमजोर पार्टी भएको भन्दै अहिले ठूलो भाग खोज्न नहुने बताइरहेका छन् ।

तर अहिले बलियो संगठन भएका कारण सबैभन्दा ठूलो पार्टी बन्ने सम्भावना छ । कांग्रेसको संगठन बलियो भएकै कारण १०० सिट दाबी गरिरहेको छ । उसले दाबी गरेका ठाउँमा जित्ने सम्भावना पनि छ । ठिक यति बेला एमाले फुटेको र माओवादी कमजोर भएका कारण कांग्रेसलाई फाइदा बढी छ ।

तर एमालेबाट फुटेको समाजवादीको कुनै जिल्लामा पनि बलियो संगठन छैन । संगठन बलियो नभएका कारण उसका उम्मेदवारलाई जित्न सकस छ । त्यसकारण माधव नेपाल कांग्रेस र माओवादीको भरमा छन् । तर उनी सिट बाँडफाँड टुंगिन नसक्दा कांग्रेसलाई गाली गर्ने अवस्थामा पुगिसकेका छन् ।

सिट बाँडफाँड टुंगिन नसक्दा शीर्ष नेताहरू नै अन्योलमा परेका छन् । कार्यकर्ताहरूको तीव्र दबाब र आकांक्षाले गर्दा शीर्ष नेताहरू कति सिट पाइने हो भन्नेमा अन्यौलमा देखिएका हुन् ।

शीर्ष नेताहरुकै जित हार अनिश्चित !

कांग्रेसमा दुई लाइन संघर्षका कारण शीर्ष नेताहरुको जित हारमा पनि शंका उब्जिएको छ । अहिले कुनै पनि पार्टी एक्लै हरेक ठाउँमा चुनाव जित्न सक्ने ठाउँमा छैनन् । जित्ने आधार भए पनि प्रतिपक्षी दलका नेताहरुको चलखेलले गर्दा जितभन्दा हार मात्रै निश्चित देखिएको छ ।

कांग्रेसमा दुई लाइन संघर्षले एकले अर्कोलाई हराउन पूरा भूमिका खेल्ने काम भइरहेको छ । यसअघि स्थानीय चुनावमा पनि कांग्रेसको दुई लाइन संघर्षले गर्दा धेरै ठाउँमा उसकै उम्मेदवार हारेका थिए । अहिले नेताहरुको व्यक्तित्व र प्रवृत्ति हेरेर गठबन्धन हुँदा पनि समर्थन गर्ने गरिन्छ ।

गठबन्धनमा नेताहरुमध्ये एउटाले जित्ने सम्भावना भए पनि व्यक्तिगत प्रवृत्तिका कारण विपक्षीसँग मिलेर हराइदिने प्रवृत्ति भएका कारण माओवादीबाट प्रचण्ड र समाजवादीबाट माधव नेपालले पनि चुनाव जित्नेमा आंशका व्यक्त गरिरहेका छन् ।

यस्तोमा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनअनुसार गठबन्धनका प्रभावशाली नेताहरुलाई हराउन एमालेले पनि भूमिका खेल्न सक्छ । सोही कारण छिटो सिट बाँडफाँडको विषय टुंग्याएर कार्यकर्ताहरुलाई गठबन्धनमा प्रतिबद्ध गराउनुपर्ने दबाब शीर्ष नेतालाई छ ।

अन्यथा हरेक पार्टीमा दुई लाइन संघर्ष चलिरहेका बेला शीर्ष नेताहरुको जित हारमा पनि निश्चित हुन सकेको देखिँदैन । जसकारण नेताहरुलाई दबाब यति धेरै बढेको छ कि गठबन्धन हुन नसके एक्लै एक्लै लड्नुपर्ने विकल्प पनि खुल्ला गर्नुपर्ने बाध्यता छ ।

अथवा कांग्रेससँगको गठबन्धन फाइदाजनक नभए प्रचण्ड र माधव नेपाल वाम गठबन्धनका लागि एमालेसँग जानुपर्ने बाध्यताको चेपुवामा छन् । आफूले एक्लै लडे नजित्ने भएका कारण उनीहरू गठबन्धनमा सम्मानजनक सिट बाँडफाँडमा चिन्तित बन्न थालेका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  १ : १३ बजे

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास