भट्ट फाँटका कुमाल ड्रागन खेतीतर्फ आकर्षित « Khabarhub

भट्ट फाँटका कुमाल ड्रागन खेतीतर्फ आकर्षित


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

गण्डकी– एक दशकअघिसम्म लटरम्म भट्ट फल्ने भएकाले गोरखाको पालुङटार नगरपालिका-७ च्याङ्ली भट्ट फाँटका रुपमा परिचित थियो । ‍समयक्रमसँगै कृषिप्रतिको अनिइच्छाका कारण यतिखेर यो गाउँमा अहिले पहिलेको जस्तो भट्ट पाइँदैन । च्याङ्लीको कालो भट्टको बजारमा राम्रो माग भए पनि अहिले उक्त भट्ट नै लोपोन्मुख अवस्थामा पुगेको छ ।

त्यही भट्ट फाँटमा युवा केबी कुमालले यतिखेर १२ रोपनी क्षेत्रफलमा ड्रागनखेती थालेका छन् । एक वर्षअघिदेखि चार हजार बिरुवा लगाएका उनको गण्डकी ड्रागन फ्रुट तथा कृषि फार्ममा एक वर्षमा नै ड्रागन फलको उत्पादन सुरु भइसकेको छ । मुख्य पेशा बैंकिङ रहे पनि विद्यार्थीकालदेखि नै कृषिप्रति आकर्षित कुमालले एक हजार खम्बामा चार-चारवटा बिरुवाका दरले चार हजार बिरुवा लगाएका छन् । 

मलेसियन प्रजातिको रातो ड्रागन फलका बिरुवा नवलपरासीबाट ल्याएको जानकारी दिँदै लगाएको एक वर्षमा नै फल्न थालेपछि आफू उत्साहित बनेको उनले बताए । हालसम्म ७० किलो बिक्री गरिसकेको र बजारमा प्रतिकिलो ८०० दरले बिक्री भइराखेको उनले बताए । 

कुमालको फार्ममा पृथ्वीराजमार्गको पोखरा-काठमाडौँ मार्गको डुम्रे बजारबाट तीन किलोमिटर तल नयाँ पुल बजारबाट करिब डेढ किमी दूरी पार गरेपछि पुग्न सकिन्छ । फार्मसम्म आउनका लागि ग्राभेलयुक्त बाटो रहेको उनले जानकारी दिए ।

यसका लागि बजार समस्या नरहेको जानकारी दिँदै उनले मुख्य बजारमा यसको माग रहेको बताए । उनका अनुसार सामान्यतः एउटा बोटबाट १५/२० किलोसम्म फल्ने देखिएको छ ।  यो फल दक्षिण अमेरिकाको मेक्सिकोमा फल्ने सिउँडी प्रजातिको रैथाने फल हो । यसको बोट सिउँडीको जस्तै हुन्छ । एशियामा पहिलोपटक भियतनामले भित्र्याएको यो फल  थाइल्यान्ड, मलेसिया र इन्डोनेसिया हुँदै पछिल्लो समयमा नेपालीको पनि आकर्षण बन्दै गएको छ ।

‘हाइलोसेरुस अन्डटुस’ वैज्ञानिक नाम रहेको यसलाई मुन लभर्स, रात कि रानी, रातकी घण्टी, क्यान्डेलेरा आदि नामले पनि चिनिन्छ । नेपालमा पहिलोपटक २०५७ सालमा भित्रिएको मानिने यो फलको पछिल्ला वर्षमा ठाउँठाउँमा व्यावसायिक खेती थालिएको छ ।

यसको खेतीका लागि धेरै पानी तथा मल आवश्यक नपर्ने पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले जानकारी दिए । नेपालका धेरै स्थानमा यसको खेती गर्न सकिने बताउँदै उनले यसबाट सर्वसाधारणलाई आयआर्जनसँग जोड्ने पर्याप्त सम्भावना रहेको बताए ।

बहुऔषधीय गुण रहने यो फल मधुमेह, बाथरोग, क्यान्सर, पेटको समस्या लगायतमा उपयोगी हुने प्रमाणित भइसकेको छ । पछिल्ला समयमा प्रमुख बजारमा बिक्रीवितरण हुने गरेको यसको राज्यस्तरबाट प्रवर्द्धनको खाँचो रहेको व्यवसायी कुमालले बताए ।

कृषि महाशाखा प्रमुख कडरियाका अनुसार ड्रागनका लागि दक्षिणी मोहडायुक्त, घमाइलो स्थान आवश्यक हुन्छ । यसको बिरुवा एक वा एक वर्षभन्दा बढी उमेरको बिरुवाबाट काटेर निकाल्न सकिन्छ । एकपटक उत्पादन सुरु गरिसकेपछि करिब २५ वर्षसम्म यसको उत्पादन निरन्तर लिन सकिन्छ ।

प्रमुख मात्रामा एन्टिअक्सिडेन्ट, ओमेगा, भिटामिन सी, फलाम र प्रशस्त मात्रामा पानी पाइने यस फलमा छालालाई चाहिने तत्व पाइनुका साथै प्रशस्त फाइबर हुने भएकाले पाचन प्रणालीलाई समेत यसले चुस्तदुरुस्त बनाउने गर्दछ । यसमा क्यालसियम पाइने भएकाले दाँत र हड्डी बलियो बनाउँछ । त्यस्तै डेङ्गु, सुगर, मुटु आदि रोगीका साथै बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिलाका लागि उपयोगी हुन्छ । उच्च रक्तचाप र कोलेस्ट्रोरको सन्तुलनका साथै कब्जियत, मोटोपन, क्यान्सर आदिमा यो उपयोगी हुन्छ ।

बिरुवा लगाउँदा सकेसम्म एक फिटसम्मको बिरुवा आवश्यक हुने बताउँदै कुमालले सकेसम्म कलिलो बिरुवा लगाउन नहुने कुमालले जानकारी दिए । कुमालले भट्ट फाँटमा ड्रागनखेती गरेसँगै च्याङ्लीका अन्य स्थानीय पनि दङ्ग छन् । गाउँमा नयाँ जातको खेती सुरु गरिँदा आफूहरूमा पनि यसबारे जिज्ञासा बढाएको स्थानीय बासिन्दा देउकुमारी कुमालले बताइन् । 

–वासुदेव पौडेल रासस

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  २ : ३७ बजे

यी भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

क्वार्टरफाइनल समीकरण पूरा, कुन टिम कोसँग ?

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा क्वार्टरफाइनल समीकरण पूरा भएको

कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै

१३ मिनेटमा ३ गोल गर्दै इजिप्टविरुद्ध अर्जेन्टिनाको पुनरागमन जित

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना अन्तिम ८ मा