दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज दिनभर दुर्घटना रोकथाम तथा यातायातको व्यवस्थापनका लागि ६ सदस्यीय समिति गठन, असोज २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसक्न आयोगको निर्देशन, राष्ट्रपति भण्डारीविरुद्धको रिटको सुनुवाई आइतबार हुने, संविधान खुलेआम मिच्ने काम संविधानको पालकबाट नै भएको प्रचण्डको आरोप लगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

दुर्घटना रोकथाम तथा यातायातको व्यवस्थापनका लागि ६ सदस्यीय समिति गठन
सरकारले नजिकिएको चाडपर्वका बेलामा दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि ६ सदस्यीय समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्व नजिकिएका बेलामा भइरहेका सडक दुर्घटना तत्काल न्यूनिकरणलाई आवश्यक व्यवस्थापनका लागि निर्देशन दिएअनुसार गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरेको हो ।

समितिमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी, यातायात व्यवस्था विभागका महानिर्देशक डा टोकराज पाण्डे, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा, नेपाल प्रहरी टा«फिक निर्देशनालयका प्रहरी नायब महानिरीक्षक वसन्त कुँवर र यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वार सदस्य रहेको समिति बनाएको गृहमन्त्रालयले जनाएको छ ।

समितिले सडक दुर्घटना न्यूनिकरणका लागि के गर्नुपर्छ ? सार्वजनिक यातायातको व्यवस्थापन कसरी गर्ने ? आम नागरिकलाई सहरबाट गाउँगाउँसम्म कसरी सुरक्षितरूपमा पु¥याउने भन्नेबारेमा अध्ययय गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने छ ।

असोज २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसक्न आयोगको निर्देशन
निर्वाचन आयोगले यही असोज १५ देखि २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसक्न निर्देशन दिएको छ । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सो अवधिमा कार्यालय स्थापना गर्ने गरी आयोगले निर्णय गरेको हो ।

निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि सो बारेमा जानकारी आयोगलाई गराउनुपर्ने छ । निर्वाचन अधिकृतले कार्यालय स्थापना गरेपछि आयोगको पूर्व सहमतिबिना तोकिएको निर्वाचन क्षेत्र नछाड्न सबै निर्वाचन अधिकृतलाई जानकारी गराउने निर्णय गरेको छ ।

राष्ट्रपति भण्डारीविरुद्धको रिटको सुनुवाई आइतबार हुने
नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्च अदालतमा दायर भएका पाँचवटा रिटको सुनुवाइ आइतबारका लागि सरेको छ ।

राष्ट्रपति भण्डारीले संघीय संसदका दुवै सदनबाट पारित भएर दोस्रोपटक शितलनिवास पुगेको नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेको भन्दै अधिवक्ता सुनिल रञ्जन सिंह, सागर बराल लगायतका पाँच जनाले छुट्टाछुट्टै दायर गरेको रिट आज डा मनोज शर्माको इजलासमा तोकिएको थियो ।

भोलि सार्वजनिक बिदा भएकाले सो रिटमाथि को सुनुवाइ आइतबारका लागि सरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए । संसदको दुबै सदनबाट पारित गरेर दोस्रो पटक प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी थिइनन ।

संविधान खुलेआम मिच्ने काम संविधानको पालकबाट नै भएको प्रचण्डको आरोप
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान खुलेआम मिच्ने काम संविधानको पालक र संरक्षकबाट भइरहेको बताएका छन ।

काठमाडौंमा आज अखिल नेपाल किसान महासंघको भेललाई सम्बोधन गर्दै प्रचण्डले प्रतिगमनको षडयन्त्र नरोकिएको भन्दै संविधान खुलेआम मिच्ने काम संविधानको पालक र संरक्षकबाट भइरहेको बताउनुभएको हो ।

उनले नागरिकता बिधेयक प्रमाणीकरण गर्ने काम संविधानमाथिको प्रहार भएको बताए । सतर्कता गुमाएमा कुनै पनि दिनमा प्रतिगमन हुने खतरा रहेको उनको भनाई छ ।

चुनावी तालमेलबारे वार्ता गर्न लोसपोको समिति गठन
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नेकपा एमाले लगायतका दलसँग चुनावी तालमेलबारे छलफल गर्न समिति गठन गरेको छ ।

राजेन्द्र महतोको नेतृत्वमा बनेको समितिमा शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनल रहेका थिए ।

सो समितिले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ एमाले लगायतका विचार मिल्ने दलहरुसँग सहकार्य गर्न वार्ता गर्ने जनाइएको छ ।

कोइराला समुहले भोलि खबरदारी सभोको आयोजना गर्ने
नेपाली कांग्रेसका शेखर कोइराला समुहले भोलि काठमाडौँमा खबरदारी सभाको आयोजना गर्ने भएको छ । बानेश्वर ब्याक्वेटमा भोलि दिउँसो १ बजेलाई खबरदारी भेला आयोजना गरेको नेता जगदीश्वरनरसिंह केसीले जानकारी दिए ।

नेपाली कांग्रेसमा टिकट वितरणमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी गर्ने प्रयास भइरहेको भन्दै नेता कोइराला पक्षले दबाब बढाइरहेको छ । कोइराला समूहका नेताहरुले दिनहुँजसो समानान्तर बैठक, भेला र छलफल कार्यक्रम राखेर सभापति देउवाविरुद्ध दबाब बढाएका हुन् ।

सुदूरपश्चिम प्रदेश मन्त्री सोडारीकी पत्नी विरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री दीर्घबहादुर सोडारीकी पत्नीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मन्त्री सोडारीकी पत्नी गीता सोडारीविरुद्ध अख्तियार आयोगले आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो । गीताविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम कैद सजाय र जरिवाना मागदाबी गरिएको छ ।

शैक्षिक योग्यताका प्रमाणपत्र भारतबाट नक्कली बनाएर सरकारलाई ढाँट्ने र नोक्सान पु¥याउने काम गरेको अख्तियारले जनाएको छ । सोडारीले बोर्ड अफ सेकेन्डरी एजुकेसन, दिल्ली भारतबाट एउटै तहका दुईवटा माध्यामिक शिक्षा उत्तीर्ण सरहका कक्षा १०को शैक्षिक योग्यताका प्रमाणपत्रहरु नक्कली बनाएको अख्तियारले दाबी गरेको छ ।

पल शाहविरुद्धको फैसलाको पूर्णपाठ सार्वजनिक
नवलपुर जिल्ला अदालतले , बलात्कारको आरोप लागेका अभिनेता पल शाहविरुद्धको मुद्दामा गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । आफू स्टार हुँ भन्ने एउटा वयस्क व्यक्तिले पर्दामा मात्र होइन, वास्तविक दुनियाँमा पनि नायकीपन प्रस्तुत गर्नुपर्ने अदालतले फैसलाको पूर्णपाठमा उल्लेख गरेको छ ।

यस्तै पूर्णपाठमा सार्वजनिक सञ्चार माध्यमले गरेको ’मिडिया ट्रायलदेखि पीडितको अभिभावकको भूमिकासम्मलाई लिएर व्याख्या गरेको छ । फैसलाको पूर्णपाठ आएसँगै उच्च अदालत पोखरामा यसविरुद्ध पुनरावलोकन गर्ने तयारी भएको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले बताए ।

गत भदौ २१ गते जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले नाबालिकामाथि बलात्कारको मुद्दामा पललाई सफाइ दिदैँ बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद सजाय सुनाएको थियो । यस्तै पीडित नाबालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको थियो ।

डा . केसीको समर्थनमा भोलि प्रदर्शन हुने
बृहत् नागरिक आन्दोलनले आमरण अनरसरत डा. गोविन्द केसीको समर्थनमा भोलि प्रदर्शन गर्ने भएको छ । माइतीघर मण्डलामा भेला भएर भोलि मध्यान्ह १२ बजे प्रदर्शन गर्न लागिएको बृहत् नागरिक आन्दोलनले जनाएकोे छ ।

आन्दोलनले आज वक्तव्य जारी गर्दै केसीको स्वास्थ्यप्रति संवेदनशील बन्न र केसीका प्रतिनिधिसँग सार्थक वार्ता गर्न आग्रह गरेको छ ।

विगतमा भएका सहमति कार्यान्वयन लगायतका सातबुँदे माग राखेर डा. केसीले १२ दिनअगाडि धनगढीमा अनशन सुरु गर्नुभएको थियो। अनशनका क्रममास्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उहाँको अहिले काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

अवैध लागू औषधसहित २ जना पक्राउ
सिराहामा अवैध लागू औषधसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

सिरहा नगरपालिका–१६ काली चोकबाट अवैध लागू औषध नाइट्राभेट १५ पिस, स्पास्मो ८ पिस र कोरेक्स जस्तो देखिने तरल पदार्थको ६ सय एमएलको १ थान डिब्बा सहित २ उदयपुर त्रिवेणी गाउँपालिका–८ बस्ने सुरेश कुमार धमला र कटारी नगरपालिका–२ बस्ने ३६ वर्षीयईश्वर खत्रीलाई आज पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीले स.९ प ५१० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा सो परिमाणको लागूऔषध प्रहरीले फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

थप ७६ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ८ सय ३० पिसिआर परिक्षणका क्रममा ५३ जना र २ हजार २ सय ३९ एन्टीजेन परिक्षणका क्रममा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै थप ७८ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ हजार ३ सय ७१ सक्रिय संक्रमित आइशोलशेनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

डेंगुबाट २ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा डेंगुबाट २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै डेंगुबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । पछिल्लो २४ घण्टामा १५ सयभन्दा बढी डेंगुका बिरामी थपिएका छन्।

१५ सय ८६ जना डेंगुका बिरामी थपिँदा कुल बिरामीको संख्या २१ हजार ३ सय ५२ पुगेको मन्त्रालयले जनाएको छ। डेंगुका सबैभन्दा बढी बिरामी बागमती प्रदेशमा रहेका छन्। बागमतीमा १६ हजार २ सय ३६ जना डेंगुका बिरामी छन्। कर्णाली प्रदेशमा सबैभन्दा थोरै २ सय २९ जना डेंगुका बिरामी रहेका छन्।

 

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ९ : १० बजे

लिङदेन नेतृत्व असफल भएको राप्रपा शीर्ष नेताको निष्कर्ष, पूर्वराजा पनि असन्तुष्ट

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व

क्याम्पस प्रमुखको दौडमा रहेका प्राध्यापकलाई ‘बौद्धिक चोरी’ आरोप

काठमाडौं- सानोठिमी क्याम्पसक प्रमुखको दौडमा रहेका एकजना प्राध्यापकलाई बौद्धिक चोरीको

लोसपाद्वारा विभिन्न पार्टीसँग संवादका लागि समिति गठन

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले कार्यगत एकता एवं

लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यकः महामन्त्री शर्मा

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताको लोकप्रिय मत

भारी हिमपातले बेलायत र जर्मनीको जनजीवन प्रभावित

लन्डन – भारी हिमपात र चिसो वर्षाले आइतबार युरोपभर व्यापक