काठमाडौँ : एलिसन फेलिक्स एथलेटिक्स जगतकी शीर्ष खेलाडी । सन् २००० देखि २०२१ सम्म ओलम्पिक खेलकुद माइकल फ्लेप्सको सेरोफेरोमा घुमेको थियो । फेलिक्स पनि त्यसै समयकी खेलाडी । यस कारण फ्लेप्सको प्रभावका बितेको त्यो कालखण्डमा फेलिक्स लगायत धेरैको चर्चा हुन नै पाएन ।
माइकल फ्लेप्सको सनसनीपूर्ण त्यो युगमा धावक युसेन बोल्टको पनि उदय भए पछि यी दुईकै सेरोफेरोमा विश्व खेलकुद घुमेको थियो । मास गेममा लीयोनल मेसी र क्रिस्टीयानो रोनाल्डो बिच उत्कृष्टताको होडबाजी चलेको युगमै क्लास गेममा फ्लेप्स र बोल्टको सामु अन्य कुनै स्टारको त्यस समयमा चर्चा हुन नै पाएन ।
यसरी यी दुईको छायामा परेर सुपरस्टारको रूपमा संसारमा माझमा छवि बनाउन असफल व्यक्तित्व मध्यकी एक स्टार फेलिक्स अहिले पनि धेरै ‘मिडिल स्प्रिज्ट’ धावकका लागि प्रेरणाको श्रोत हो । टोकियो ओलम्पिकमा आइपुग्दा श्रीमानलाई छोरा बोकाएर आफू ट्रयाकमा ओर्लने गरेकी यी धाविकाका हरेक दौड हेर्न आतुर हुनेको सङ्ख्या संसारमा पक्कै कम छैन ।
फेलिक्स मात्र होइन, फ्लेप्स बोल्टको छायामा धेरै ओलम्पियन रहे । अमेरिकी पौडी वाज रेयन लोक्टे, र जमैकाका स्टार सानी अल फ्रेजियर यसबीचमा फ्लेप्सको छायामा परेका नाम हुन् ।
सबै भन्दा बढी छायामा त अमेरिकी पौडीबाज रेन लोक्टे नै रहे । फ्लेप्स भन्दा एक वर्ष जेठा लोक्टे ओलम्पिकमा यात्रामा भने अलि पछाडि रहे । फ्लेप्स सन् २००० मा पहिलो पटक १५ वर्षको उमेरमा ४ सय मिटर व्यक्तिगत मेड्लीमा सहभागिता जनाएका थिए । सो ओलम्पिकमा उनले कुनै स्वर्ण पदक जित्न सकेका थिएनन् ।
लोक्टीको उदय सन् २००४ को ओलम्पिकमा भएको हो । त्यसो त उनी सुरुमा ब्याकस्ट्रोक र फ्रिस्टाइलका राम्रा पौडीबाज थिए । कलेज सुरु भए पछि उनलाई प्रशिक्षक ग्रेग टोयले मेड्लीमा पनि प्रयोग गरेका थिए ।
सन् २००४ को ओलम्पिकमा चर्चा सुरु हुँदा उनलाई राम्रो पौडीबाजको गणना कसैले पनि गरेका थिएनन् । उनी फ्लेप्स भन्दा पछाडि रहँदै ओलम्पिकका लागि २ सय मिटर व्यक्तिगत मेड्लीमा छनोट भएका थिए । त्यस ओलम्पिकमा पनि उनले रजत पदक जिते ।
त्यसै ओलम्पिकमा उनी र फ्लेप्स सहितको टोलीले ४ गुणा २ सय मिटर रिलेको स्वर्ण पदक पनि जितेको थियो । सन् २००८ मा २ सय मिटर ब्याकस्ट्रोकमा उनले विश्व कीर्तिमान पनि कायम गरेका थिए । त्यस स्पर्धामा उनले ओलम्पिक स्वर्ण पदक पनि जितेका थिए ।
सन् २००९ को विश्व च्याम्पियनसिपमा दुई विश्व कीर्तिमान कायम गरेका उनले सन् २०१२ को ओलम्पिकमा पनि अमेरिकी टोलीको प्रतिनिधीत्व गरेका थिए । २००८ मा उनले २ सय मिटर व्यक्तिगत मेड्ली र ४ गुणा २ सय मीटर फ्रिस्टाइल रिलेमा स्वर्ण पदक जितेका हुन् ।
२०१२ को लन्डन ओलम्पिकमा भने उनी ४ गुणा २ सय मिटर रिलेमा स्वर्ण पदक जित्न सफल भएका थिए । यसै गरी ४ सय मिटर व्यक्तिगत मेड्लीमा पनि उनले स्वर्ण पदक जिते । ४ गुणा १ सय मिटर रिलेमा भने अमेरिका बलियो अवस्थामा रहे पनि उनकै कमजोरीका कारण रजत पदकमा सीमित भएको थियो ।
उनले फ्लेप्स भन्दा पछाडि रहँदै २ सय मिटर व्यक्तिगत मेड्लीमा रजत तथा तथा २ सय मिटर ब्याकस्ट्रोकमा कांस्य पदक जिते । सन् २०१६ को लन्डन ओलम्पिकमा भने उनी लगातार चौथो पटक रिलेको स्वर्ण पदक जित्न सफल भएका थिए ।
फेलिक्सले सन् २००३ देखि २०१३ सम्म २ सय मिटरमा प्रभाव जमाएकी थिइन् । यसै इभेन्टमा उनले सन् २०१२ को लन्डन ओलम्पिकमा स्वर्ण पदक पनि जितेकी थिइन् । त्यसपछि ४ सय मिटरमा आफूलाई केन्द्रित गरेकी उनले लन्डन ओलम्पिकमा रिलेका दुई स्वर्ण पदक पनि जितेकी थिइन् ।
यस अगाडी उनी सन् २००४ को एथेन्स ओलम्पिकमा २ सय मिटरमा रजत पदक जित्न सफल भएकी थिइन् भने सन् २००८ को बेइजिङ ओलम्पिकमा २ सय मीटरमा रजत तथा ४ गुणा ४ सय मिटर रिलेमा स्वर्णपदक जित्न सफल भएकी थिइन् ।
रियो ओलम्पिकमा ४ सय मिटरमा रजत पदक जितेकी उनले त्यसै ओलम्पिकमा दुवै रिलेमा स्वर्ण पदक जितेकी थिइन् । गत वर्ष भएको ओलम्पिकमा उनले ४ सय मिटरमा कांस्य तथा चार गुणा ४ सय मिटर रिलेमा स्वर्ण पदक जितेकी थिइन् । त्यो नै उनको अन्तिम ओलम्पिक थियो ।
यसै वर्ष भएको विश्व च्याम्पियनसिपमा उनी ४ गुणा ४ सय मिटर रिलेको हिट चरणमा दौडिएकी थिइन् । अमेरिकी टोली पहिलो भए पछि त्यस स्पर्धामा स्वर्ण पदक जित्दै खेल जीवनको सुखद रूपले ओलम्पिक अभियानको अन्त्य गर्न सफल भइन् । ४ गुणा ४ सय मिटर मिश्रित रिलेमा उनको टोली कांस्य पदकमा सीमित भएको थियो ।
ओलम्पिक भन्दा विश्व च्याम्पियनसिप भने उनका लागि स्वर्णिम बनेका थिए । सन् २०१९ मा पनि ४ गुणा ४ सय महिला र मिश्रित दुवै रिलेमा स्वर्ण पदक जित्न उनी सफल भएकी थिइन् । त्यस अगाडी २०१७ मा भएको विश्व च्याम्पियनसिपमा उनले ४ सय मिटरमा कांस्य दिक जितेकी थिइन् भने ४ गुणा १ सय र ४ गुणा ४ सय मीटरमा स्वर्णपदक जितेकी थिइन् ।
सन् २०१५ को बेइजिङ विश्व च्याम्पियनसिपमा भने उनले ४ सय मिटरमा स्वर्ण तथा दुई रिलेमा रजत पदक जितेकी थिइन् । उनले पहिलो पटक सन् २००३ मा विश्व च्याम्पियनसिपमा सहभागिता जनाए पनि पदक जित्न सकेकी थिइनन् । सन् २००५ र २००७ को विश्व च्याम्पियनसिपमा उनले दुई सय मीटरमा स्वर्ण पदक जितेकी थिइन् । साथै सन् २००७ मा रिलेका दुई स्वर्ण पदक पनि जितेकी थिइन् ।
सन् २००९ को विश्व च्याम्पियनसिपमा उनले २०० मिटरमा स्वर्ण पदक जित्नुका साथै ४ गुणा ४ सय मिटर रिलेको पनि स्वर्ण पदक जितेकी थिइन् । सन् २०११ को विश्व च्याम्पियनसिपमा उनले दुवै रिलेमा स्वर्ण पदक जित्नुका साथै २ सय मिटरमा कांस्य तथा ४ सय मिटरमा रजत पदक जितेकी थिइन् । त्यसपछि सन् २०१३ मा भएको विश्व च्याम्पियनसिपमा भने उनले चोट बोकेको कारण कुनै पदक जित्न सकेकी थिइनन् ।
संसारमा खेल होस या प्रविधि सर्वत्र अमेरिकी उत्कृष्टता सर्वविदित विषय हो । दुई महत्त्वपूर्ण खेलकुद एथलेटिक्स र पौडीको अमेरिकी इतिहास सधैँ गर्विलो रहेको थियो ।
त्यो गर्विलो इतिहासमा धेरै जनाको नाम स्वर्णिम अक्षरले लेखिएका छन् । सन् १९७० को दशकमा स्टार पौडीबाज मार्क स्पीट्ज देखि ८० का दशकमा धावक कार्ल लुइससम्मलाई आदर्श मान्नेको जमात संसारमा उत्तिकै थियो । खेलकुदको इतिहास पढ्नेका लागि ती नाम अहिले पनि उत्तिकै आदर्श नाम हुन् ।
आफूहरूको पूर्ण पकड रहेको क्षेत्रमा युसेन बोल्टको उदय अमेरिकी वृत्तमा केही समय धक्काको विषय पक्कै हो । भलै बोल्ट युग पछि एथलेटिक्सको स्प्रिन्ट स्पर्धामा अमेरिकाको प्रभाव छँदै छ ।
यो लामो इतिहासमा अमेरिकी प्रभाव कायम राख्न धेरै स्टारको भूमिका छँदै छ । फ्लेप्स युगमै अमेरिकी दबदबालाई कायम राख्ने थप सारथी भने फेलिक्स र लोक्टे थिए । जो सदाबहार थिए । जो दुई दशक पुल र ट्याकमा उत्तिकै छाइरहेका छन् ।
प्रतिक्रिया