राउटे बस्तीमा दसैंको चटारो « Khabarhub

राउटे बस्तीमा दसैंको चटारो


१६ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


798
Shares
  • change font
  • change font
  • change font

दैलेख – दसैंको रौनकले राउटे बस्तीलाई छाएको छ। उनीहरुले सो पर्वको भव्य तयारीमा जुटेका छन्। फिरन्ते जीवन बिताउँदै आएका उनीहरु जाजरकोटदेखि आएर दैलेखको भगवतीमाई–१ मनघर बायुतडा लेकमा एक महिनादेखि बस्दै आएका थिए। अहिले सोही गाउँपालिकाको वडा नं १ बेँसीमा पर्ने बेस्तडा बजार नजिकै जङ्गलमा सरेका छन्।

लेकमा चिसो बढ्न थालेपछि बेँसी झरेको उनीहरुको भनाइ छ। महामुखिया महिनबहादुर शाहीले बस्ती सरेपछि किनमेल गर्न सजिलो भएको सुनाउनुभयो। “दसैँ आइसक्यो, खसीबोका र चामल किन्न सजिलो होला भनेर यहाँ सरेका हौँ, चिसो बढ्यो, दसैँ मनाएर अन्तै सर्नुपर्ला।” बेस्तडा जङ्गलमा काठ अभाव रहेकाले धेरै बसाइ नहुने शाहीको भनाइ छ।

फिरन्ते जीवन बिताउने यो समुदायका ४६ घरधुरीमा गरेर एक सय ४३ जना छन्। बस्तीमै पुगेर राउटे समुदायलाई खसी, चामल, चिसोमा न्यानो गराउने पिफर्म वितरण गरेको भगवतीमाई गाउँपालिका अध्यक्ष गणेश थापाले बताए।

गुराँस गाउँपालिका–८ ले परिचयपत्र दिएर नेपाली नागरिकको रूपमा सामाजिक भत्ता बस्तीमै पुगेर वितरण गर्दै आएको छ। सरकारले अतिलोपोन्मुख यस समुदायका लागि प्रतिव्यक्ति मासिक चार हजार प्रदान गर्दै आएको छ।

दसैं नजिकिँदै गर्दा चामल, खसीबोका, नुन–तेललगायत आवश्यक सरसामानको जोहो गर्न थालेका छन्। किनमेलका लागि स्थानीय बेस्तडा बजार हुँदै दैलेख सदरमुकामसम्म पुग्ने उनीहरूको योजना छ। राउटे समुदायमा मुख्य मान्छेलाई महामुखिया भनिन्छ।

महामुखिया शाही छन् भने मुखिया दुई जना सूर्यनारायण र वीरबहादुर शाही छन्। उनीहरू महामुखियाका हातबाट चामलको सेतो टीका थाप्ने, नाचगान गर्ने, खसीबोका काट्ने गर्दछन्। यो दसैँलाई ‘असोजे दसैँ’ भन्छन्। यसका लागि राउटेले अगाडि नै खसीबोका जम्मा गरिराख्छन्।

दसैँका दिन सबैले आफ्नै छाप्रोमा बनाएको जाँड खान्छन्। दसैँको मुख्य दिनमा बिहानको खानपिन गरेर दिउँसो राउटेले आफ्नो परम्परागत लुगा लगाएर नाचगान गर्छन्। मुजा परेको सेतो जामा, शिरमा सेतो पगरी, खुट्टामा फलामको कल्लीजस्तो बज्ने गहना लगाएर मादल बजाई लहरै घुमी नाच्छन्।

देवी–देवताको पूजा गर्ने, चाडपर्व मनाउनेलगायतका हिन्दू संस्कारप्रति राउटे पनि विश्वास गर्छन्। यद्यपि उनीहरूको मृत्यु संस्कार भने फरक शैलीको छ। आफ्ना सदस्यको मृत्युमा जलाएर अन्त्येष्टि, काजकिरिया, जुठो बार्ने गर्दैनन्। जहाँ मर्यो त्यही गाडेर बस्ती सर्छन्। कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यान र जाजरकोटको आसपासका क्षेत्रमा यो समुदायले बसोबास गर्दै आएको छ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  १० : ०८ बजे

मौद्रिक नीतिले उच्च आर्थिक वृद्धि र स्थायित्वबीच सन्तुलन कायम गर्नुपर्छ : कार्यवाहक गभर्नर पण्डित

काठमाडौं- नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा कार्यवाहक गभर्नर किरण

गुणस्तरहीन खाना बेच्ने होटल–रेस्टुरेन्टलाई गृह मन्त्रालयले हदैसम्मको कारबाही गर्ने

काठमाडौं- मुलुकमा सञ्चालित कतिपय होटल तथा रेस्टुरेन्टहरूमा खानाको गुणस्तर र

मौद्रिक नीतिले ब्याजदरभन्दा संरचनात्मक सुधारमा जोड दिनुपर्छ : बैंकिङ विज्ञ भट्टराई

काठमाडौं– बैंकिङ प्रणालीमा पर्याप्त तरलता, न्यून ब्याजदर र ऋण प्रवाह

वीर अस्पताल र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनपछि वीर अस्पताल