कैलालीमा बाढी : सयौँ परिवार विस्थापित | Khabarhub Khabarhub

कैलालीमा बाढी : सयौँ परिवार विस्थापित


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

टीकापुर– कैलालीको भजनीका कृष्ण चौधरी हुलाकी सडकबाट घर फर्किएको एक साता मात्रै भएको थियो । दसैँ नजिकिएपछि दसैँ मनाउनका लागि घर गएको उनको परिवार पुनः बाढी आएपछि सडकमै फर्किएको छ । 

यही असोज १ गते आएको बाढीले हुलाकी सडकमा विस्थापित भएकाहरू पुनः शुक्रबार बाढी आउँदा सडकमा फर्किएका हुन् । कृष्णजस्तै भजनी नगरपालिकाका सयौँ परिवार सडकमा आएका छन् । मनसुन बाहिरिने समयमा भएको भारी वर्षाले कर्णाली र चुरेबाट निस्कने खोलाहरुले कैलालीमा बाढीको स्थिति ल्याएपछि यहाँका नागरिकको विचल्ली भएको छ । असोज १ गतेको बाढीले भजनीमा ७ हजार परिवार विस्थापित भएका थिए । विस्थापित भएकाहरु दसैँ आएसँगै घर फर्किएका थिए । घर फर्किएर दसैँको टीकासमेत राम्ररी लगाउन पाएनन् । 

‘दसैँको टीकासमेत राम्ररी लगाउन पाएनौँ, घरमा केही छैन । बाढीले सबै तहसनहस पारिसकेको थियो’, भजनीका रमा धामीले भने, ‘छिमेकीसँग बाँडीचुँडी खाऊला भनी फर्कियौँ, फेरि बाढीले डुबायो । शुक्रबार फेरि सडकमा आएका छौँ ।’ उनले बाढीका कारण आफूहरू बिचल्लीमा परेको गुनासो गरे । ‘बाढीले केही राखेन, न घरका सामान, अन्न राख्यो, न खेतमा रहेको धानबाली रह्यो’, उनी भन्छन् , ‘हामी के खाने ?  बस्तुभाउलाई के खुवाउने ? अब यो ठाउँ नै छोडेर कतै जानुपर्छ जस्तै भएको छ ।’

बुधबार रातिदेखि भएको अविरल वर्षाले नदी र खोलामा बाढीको अवस्था ल्याएको हो । कर्णाली नदीमा शनिबार बिहान बाढीको सतह ९ दशमलव ८ मिटर पुगेको गेज रिडर पार्वती गुरुङले जानकारी दिए । १० मिटरमाथि जल सतह पुगेमा खतरा मानिन्छ । कर्णाली प्रदेशमा अत्यधिक वर्षा भइरहेकाले भेरीलगायत नदीले खतराको तह पार गर्दा कर्णाली नदीमा जल सतह बढेको हो । यसअघि असोज १ गते शनिबारका दिन दिउँसो २ः५० बजे कर्णालीमा बाढीको तह १०.८० मिटर रेकर्ड भएको थियो । पछिल्ला वर्षहरूमा बेमौसमी वर्षापछि आउने बाढीले ठूलो नोक्सान गरिरहेको छ । 

कैलालीको चुरेबाट निस्कने काँडा, कान्द्रा र पथरैया नदीमा बाढी बढेर भजनीमा गाउँ पसेको हो । यी नदीबाट आएको बाढीले तटीय क्षेत्रको भजनी नगरपालिका–२, ७ र ८ का सयौँ घरमा बाढी पसेको हो । भजनी नगरपालिका प्रमुख केवल चौधरीले बाढीबाट विस्थापितहरू कोही उच्च घर, कोही विद्यालय र कोही सडकमै फर्किएका बताए । उनले भजनीमा बाढीले तहसनहस गरेको बताए । असोजको पहिलो साताको बाढीले खेतीपाती सखाप भइसकेका यहाँ नागरिक पुनः बाढी आएपछि थप पीडामा छन् । फर्किएको एक साता नबित्दै भजनीवासी पुनः विस्थापित हुनु परेपछि निकै दुःखी भएका छन् । 

निरन्तरको वर्षाका कारण अधिकांश किसानको पाकेको धान खेती हावा लागेर ढलेको छ । पाकेको धान खेतमा सड्ने र उम्रने जोखिम बढेको किसान मणिराम रावलले बताए । ‘खुल्ला खेतमा धान ढलिसकेको छ । पाकेको धान हावाले समेत ढल्न थालेको छ’, उनले भने, ‘वर्षा नरोकिए धान खेती रहन्न । मौसम यस्तै रहे यहाँ त भोकमरी हुने चिन्ता बढेको छ ।’ किसानहरू वर्षा रोकिएको भए बाला काटेर भए पनि धान खेती जोगाउन हुन्थ्यो भन्न थालेका छन् । ‘खुल्ला खेतमा पानी रोकिएको एक सातासम्म धान काट्न सकिँदैन’, किसान परमभक्त देवकोटाले भने, ‘पानी रोकिएको भए धानका बाला मात्र काटेर भए पनि अन्न जोगाउन हुन्थ्यो । अझै दुई-तीन दिन वर्षा भएमा धान नोक्सान हुन्छ ।’

मौसम विज्ञान विभागका मौसमविद् मञ्जु वासीका अनुसार शुक्रबारको तुलनामा शनिबार आइतबार झन् बढी वर्षा हुनेछ। वर्षा निरन्तर रहेको र यहाँका नदीहरुमा पानीको सतह बढ्दै गएकाले तटीय क्षेत्रमा थप जोखिम रहेको बताइएको छ । यहाँका पालिकाहरुले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सर्न सूचना गरिसकेका छन् । यसका साथै खोज तथा उद्धारमा सबै सरोकारवालाई परिचालन हुन आग्रह गरेका छन् । 

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  १२ : ३६ बजे

कृषिमा पकेट क्षेत्र तोकिएसँगै तिलोत्तमाका कृषक लाभान्वित

तिलोत्तमा– तिलोत्तमा-१४ का कृषक नरिश्वर सापकोटा पहिले करिब पाँच बिघामा

मनसुनजन्य विपदबाट तनहुँमा ६६ हजार नागरिक प्रभावित हुने अनुमान

दमौली– मनसुनजन्य विपद्बाट यस वर्ष तनहुँमा ६६ हजारभन्दा बढी नागरिक

हिमनदी पग्लिँदै गए हुनसक्छ ठुलो ज्वालामुखी विस्फोट : अध्ययन

काठमाडौं– विश्वभरका हिमनदी पग्लिएपछि ज्वालामुखी विस्फोटको डर बढ्दै गएको छ

त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेसलिष्ट पारित

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा

सर्बिया र ग्रीस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया र ग्रीस पठाइदिन्छु रकम