चितवनमा तिहारका लागि फूल र मालाको मूल्य निर्धारण | Khabarhub Khabarhub

चितवनमा तिहारका लागि फूल र मालाको मूल्य निर्धारण


१ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


867
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चितवन जिल्लामा रहेर फूल खेती गर्ने किसानले तिहारका लागि फूल र मालाको मूल्य निर्धारण गरेका छन् । व्यावसायिक रुपमा पुष्प खेती गर्ने कृषकले बजारमा एकरुपता ल्याउनका लागि फूल र मालाको मूल्य निर्धारण गरेका हुन् ।

आज आयोजित पत्रकार सम्मेलनका क्रममा तिहारको तीन दिनका लागि सयपत्री फूलको माया प्रतिगोटा खुद्रा मूल्य रु ९० देखि १०० र होलसेल मूल्य रु ६० देखि ७० कायम गरिएको जानकारी दिइएको हो । तिहारपछिका लागि खुद्रा मूल्य रु ७० र होलसेल मूल्य रु ५० राखिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

सयपत्री फूल प्रतिकिलो रु तीन सय ५० देखि चार सय कायम गरिएको कृषकले बताएका छन् । सिजनबाहेक अन्य समयमा यसको मूल्य न्यून रहने गरेको छ ।

भारतबाट आयात हुने मालाले नेपाली मालाको बजार विस्थापित गर्न खोजेको भन्दै किसनाले मालाको मूल्य निर्धारण गरेका हुन् । फ्लोरिकल्चर एशोसिएशन चितवनका कोषाध्यक्ष सुलभ श्रेष्ठले नेपाली मालाको मूल्य बढी हुँदा भारतीय मालाको आयात बढ्ने भएकाले मूल्य निर्धारण गर्न बाध्य भएको बताए । जिल्लालाई यही उत्पादित मालाले पुग्ने भन्दै उनले भारतीय मालाको प्रयोग नगर्न उपभोक्तालाई अनुरोध गरे ।

जिल्लामा अहिले ४० देखि ५० बिघा क्षेत्रफलमा फूल खेती गरिएको सो अवसरमा जानकारी दिइएको थियो । फूलमाला फर्मका सञ्चालक गोविन्द बास्तोलाले तिहार लक्षित गरेर भारतीय माला नेपालमा आइसकेको जानकारी दिए । चितवनमा मात्रै एक ट्रक माला आएको र ठूलो मात्रामा माला आउन लागेको उनले बताए ।

उनले भने, “भारतीय माला नेपालका विभिन्न चिस्यान केन्द्रमा राखिएको छ । अब केही दिनमा बजारमा ल्याउने तयारी गरिँदै छ ।” यसको विरोधमा कृषकले तिहार सुरु भएलगत्तै स्थानीय प्रशासनको सहयोगमा त्यस्ता माला नष्ट गर्ने उनको दाबी थियो ।

भारतीय मालामा केमिकलको प्रयोग गरिएको हुने हुँदा बजारमा ल्याएको केही समयमानै कालो हुन थाल्ने उनको भनाइ छ । मालामा सुतरीको प्रयोग गरिने र छिटो बिग्रने हुँदा मानिसको स्वास्थ्य र कपडामा समेत असर गर्ने उनले बताए । बास्तोलाले अहिले कालिका नगरपालिका वडा नम्बर २ मा २ बिघा क्षेत्रफलमा फूल खेती गरिरहेका छन् । पेशाले प्राध्यापक भए पनि उनले फूलमाला फार्म मार्फत पुष्पव्यवसाय गर्दै आएका छन् ।

असोजदेखि मङ्सिरसम्म यो व्यवसाय हुने उनको भनाइ थियो । जिल्लामा ठूलो मात्रामा व्यवसाय गर्ने कृषक १० देखि १५ जना रहेका छन् । उनीहरूले एक बिघा क्षेत्रफलभन्दा बढी क्षेत्रफलमा पुष्प व्यवसाय गरेको उनले जानकारी दिए ।

रत्ननगर कृषि शाखाका प्रमुख प्रवीण लामाले अहिले एक बिघा १० कट्ठामा पुष्प व्यवसाय गर्दै आएका छन् । तीन जना मिलेर सुरु गरेको व्यवसाय राम्रो भए पनि बजारमा मूल्य निर्धारण भएसँगै कृषकको मनोबल बढ्ने उनले बताए ।

तिहारका लागि जिल्लामा पाँच लाख मालाको माग भएको भन्दै उनले जिल्लाले यो माग धान्न सक्ने बताए । अहिले व्यावसायिकरुपमा पुष्पखेती गर्ने कृषकले जिल्लामा तीनदेखि चार लाख माला उत्पादन गर्ने उनले जानकारी दिए । जसमध्ये ५० हजारदेखि एक लाख माला मखमली फूलको उत्पादन हुने छन् ।

जिल्लामा उत्पादित मालाबाट कृषकले रु चार करोडको कारोबार हुने अपेक्षा राखेका छन् । गत वर्ष जिल्लाको उत्पादनले यहाँको बजारको ६० प्रतिशत पुगेकोमा अहिले ८० प्रतिशत पुग्ने उनीहरूको अनुमान रहेको छ । बीस प्रतिशत माला गाउँघरमा आफैँ बनाउने गरेकाले यहाँको बजारलाई माला प्रर्याप्त हुने कृषकले बताएका छन् ।

नेपालमा स्वरोजगार बन्नका लागि यो व्यवसाय उत्तम व्यवसाय भएको अर्का कृषक सुन्दर बस्नेतले बताए । उनका अनुसार पुष्प व्यवसायलाई आत्मनिर्भर बनाउनका लागि कृषकले मालाको मूल्य तय गरेका हुन् । अहिले यो व्यवसायबाट दुई सयले रोजगार पाइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । तिहारको समयमा ८० प्रतिशत लागत मूल्य उठ्ने कृषकको भनाइ छ ।

विचौलियका कारण माला बिक्री नहुने चिन्ता बढेको भरतपुर महानगरपालिका–९ की लक्ष्मी सापकोटाले बताइन् । उनले भनिन्, “यस वर्ष मौसमका कारण उत्पादन राम्रो छ तर भारतीय मालाका कारण समस्या आउने चिन्ता बढी रहेको छ । हामीले दुःख गरेका छौँ तर भारतीय माला बजारमा आउन सुरु भइसक्यो ।’’ कृषकले तिहारलाई लक्षित गरेर आजदेखिनै माला तयार गर्न लागेको सो अवसरमा जानकारी दिइएको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ६ : ५५ बजे

ग्याल्पो ल्होसारले राष्ट्रिय एकतालाई सुदृढ गर्न प्रेरणा मिल्छ : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

रुस-युक्रेन युद्ध अन्त्य गर्न अमेरिका र बेलायत सहमत

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार युक्रेनमा रुसको आक्रमण अन्त्य

समुन्नत मुलुक निर्माणमा क्रियाशील हुनुपर्छ : माधव नेपाल

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

स्वास्थ्य सेवाको गुणस्तर र संरचनाले फेरिएको दुर्गमको कोल्टी अस्पताल

धनगढी– कोल्टी अस्पताल कोल्टीमा केही वर्ष पहिला न औषधी पाइन्थ्यो, न

खानेपानी ट्यांकी प्रयोग नहुँदै जीर्ण

दाङ– तुलसीपुर उपमहानगरपालिका–१९ स्थित सक्राममा बनेको खानेपानी ट्यांकी प्रयोग नहुँदै