तिहारअघि नै सयपत्री फूलको माग बढ्यो « Khabarhub

तिहारअघि नै सयपत्री फूलको माग बढ्यो


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – फूलहरूको पर्व अर्थात् तिहार आउनुअघि नै सयपत्री फूलको माग बढेको छ। आसन्न मङ्सिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारलाई विजय गराउन गरिने विभिन्न राजनीतिक दलका कार्यक्रम, सहकारीका साधारणसभा र अन्य कार्यक्रममा समेत सयपत्री फूलको माला लगाइदिने प्रचलन बढेसँगै फूलको माग बढेको हो।

मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा मेची सामुदायिक घरबास (होमस्टे) सञ्चालन गर्दै आएका १४ महिलाले मिलेर सामूहिक सयपत्री फूलको खेती गरेका छन्। आठ कठ्ठा जमिन लिजमा लिएर व्यावसायिकरूपमा गरेको सयपत्री फूलको खेतीबाट उनीहरू सन्तुष्ट भएको मेची सामुदायिक होमस्टे सञ्चालक समितिका अध्यक्ष भावना गुरुङले बताए।

‘माग धान्नै गाह्रो भइरहेको छ’, उनले भने, ‘तिहारका लागि मात्र एक हजार पाँच सय माला माग छ। तर चुनावी कार्यक्रममा दैनिक सयभन्दा बढी माला गइरहेकाले माग गरेको माला दिन नसकिने भो भनेर चिन्तित छौँ।’ तीस वटा थुँगाको एउटा माला बन्ने र प्रतिमाला रु ८० का दरले बिक्री भइरहेको उनको भनाइ थियो।

पहिलोपटक फूलखेती गरेका महिलाले मागअनुसारको माला पुर्‍याउन गाह्रो भएपछि अर्को वर्षदेखि एक बिघा जमिनमा फूलको व्यावसायिक खेती गर्ने सोचमा रहेको उनले सुनाए। ‘फूल फुलाउनु मात्र पर्दोरहेछ, किन्ने ग्राहक बारीमै आउँछन्। थोरै खर्च र मेहेनतमा आम्दानी पनि धेरै हुँदोरहेछ’, उनले भने।

उनीहरूलाई सयपत्री फूलको व्यावसायिक खेतीमा मेचीनगर नगरपालिका वडा नं ४ का वडाध्यक्ष अर्जुन कार्कीले समेत सहयोग गर्दै आएका छन्। फूलखेतीका लागि महिलाले जमिन लिजमा लिए पनि घेराबारा गर्नेदेखि उनीहरूलाई विज्ञ व्यक्ति ल्याएर तालिम गराउनसमेत वडाध्यक्षकै भूमिका रहेको छ।

मेचीनगर–९ मा डिएण्डडी बायोप्लान्टेक नामक कम्पनी दर्ता गरेर विगत आठ वर्षदेखि नर्सरी व्यवसायमा लाग्नुभएका डिल्लीराम उप्रेतीले विर्तामोड नगरपालिका–६ बुट्टाबारीमा एक बिघा जमिन लिजमा लिएर सयपत्री फूलको व्यावसायिक खेती गर्दै आएका छन्।

कलकते लोकल र कर्मा ५५५ जातको सयपत्री फूलको खेती गर्दै आउनुभएका उप्रेतीले विगतको भन्दा यस वर्ष झापामा फूलको व्यावसायिक खेती घटेको बताए। फूलको माग भए पनि उत्पादन कम भएका कारण गाह्रो भइरहेको उनले बताए। ‘हामी माला उनेर बेच्न भ्याउँदैनौँ’, उनले भने, ‘बारीमा पसेर उहाँहरु आफैँले टिप्नुहुन्छ, तीन सय थुँगाको रु पाँच सय गरेर रकम लिन्छौँ।’

तरकारी, खरबुजालगायतका व्यावसायिक खेती गर्दै आएका उनले चित्तबुझ्दो खेतीको रूपमा सयपत्री फूलको भएको बताए। सयपत्री फूलको खेती थोरै लगानीमा धेरै आम्दानी हुने उनको बुझाइ छ। सयपत्री फूलको खेतीतर्फ किसानको आकर्षण बढ्दै गए पनि व्यावसायिकरूपमा गर्न नसक्दा फूलको परनिर्भरतालाई अझै हटाउन नसकिएको उनको भनाइ छ। उनले कृषि ज्ञान केन्द्र र स्थानीय सरकारले किसानलाई प्रोत्साहनस्वरुप सुलभ कर्जा र अन्य अनुदानमा लगानी बढाउने हो भने फूलमा जिल्लालाई आत्मनिर्भर बनाउन समस्या नहुने बताए।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ९ : ५९ बजे

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि