आगामी निर्वाचनका लागि जसपाको चुनावी घोषणापत्र तयार | Khabarhub Khabarhub

आगामी निर्वाचनका लागि जसपाको चुनावी घोषणापत्र तयार


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश सरकारलाई प्रभावकारी र अधिकारसम्पन्न बनाउने नीतिसहित आगामी निर्वाचनका लागि पार्टीको चुनावी घोषणापत्र तयार गरेको छ । मङ्सिर ४ गते हुने संघीय तथा प्रदेश निर्वाचनका लागि जसपाले संघीयता, समावेशी समानुपातिक र लोकतान्त्रिक गणतन्त्रलगायतका मूलभूत विषयमा घोषणापत्र तयार गरेको जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिए । 

‘प्रादेशिक सरकारलाई बलियो बनाउने गरी घोषणापत्रमा उल्लेख गरेका छौँ’, उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउने र समानुपातिक समावेशिता र पहिचानको अधिकारलाई सुनिश्चित गर्ने विषयमा हाम्रो मुख्य ध्यान केन्द्रित रहेको छ ।’ जसपाले सबै मित्रराष्ट्रसँग समान सम्बन्ध रहने अवधारणासहित घोषणापत्रमा समेटेको छ । कृषिको आधुनिकीकरण गरी आत्मनिर्भर उत्पादनलाई प्राथमिकता दिइएको छ । आगामी निर्वाचनका लागि तयार गरिएको पार्टीको चुनावी घोषणापत्र छठ सकिएलगत्तै सार्वजनिक गरिने प्रवक्ता सुमनले बताए ।  

जसपाले समतामूलक समाजको निर्माणसँगै समानता, स्वतन्त्रता, भाइचारा, सामाजिक न्याय तथा भ्रातृत्वको उच्चतम् अभ्यास गर्दै संघीयता, समावेशी एवं सहभागितमूलक लोकतन्त्र, समानुपातिक प्रतिनिधित्व र समतामूलक समाज निर्माण गर्ने लक्ष्य लिएको छ ।देशमा गरिबी बेरोजगारी र अशिक्षाको अन्त्य गरी शिक्षा, स्वास्थ्य, आवास, रोजगार र सुरक्षामा सबैको समान पहुँच र अधिकारको प्रत्याभूति गराउने, सामाजिक न्याय स्थापित गर्दै सबै जाति, भाषा, धर्म, संस्कृति र समुदायका जनताको हित रक्षाका लागि काम गर्ने घोषणापत्रमा उल्लेख छ । त्यस्तै सामाजिक न्याय र सुशासनको प्रत्याभूतिसहितको जनमुखी प्रशासन कायम गर्ने, आदिवासी जनजाति एवं पिछडिएका वर्ग र समुदायको उत्थान प्रवर्द्धन गर्ने जनाइएको छ ।

जसपाले संघीयताको प्रभावकारी कार्यान्वयन गर्दै सङ्घले बृहत्तर नीति निर्देशन तथा ठूला अन्तर-प्रादेशिक पूर्वाधारको मात्र जिम्मा लिने र अन्य सबै नीति योजना निर्माण, कार्यान्वयन र स्रोत परिचालनको जिम्मा प्रदेश र प्रदेशमार्फत स्थानीय तहलाई दिने नीति लिएको छ । ठूला भौतिक पूर्वाधार, ऊर्जा, प्राविधिक शिक्षा आदिमा विशेष जोड र उद्योग/पर्यटनलगायतलाई महत्व दिने जनाएको छ ।

‘संघीय समुन्नत समाजवाद’ को सैद्धान्तिक आलोकमा समावेशी विकास र समतामूलक समृद्धिको नीति कार्यक्रममार्फत ‘जनताको आवाज, अग्रणी परिवर्तनसहित समृद्ध समाज’ लाई सार्थक बनाउन प्रयास गरिने जसपाले उल्लेख गरेको छ । यस्तै, पहिचानसहितको सङ्घीयता संस्थागत गर्ने, समाजवादी अर्थ-राजनीतिक कार्यदिशा लागू गर्ने, सहभागितमूलक समावेशी लोकतन्त्र स्थापित गर्ने, सुशासन र सदाचारका माध्यमबाट आर्थिक तथा सामाजिक न्यायसहितको समतामूलक समृद्धि र मानवीय खुसी हासिल गर्ने नीति अघि सारिएको छ ।

लोसपाको घोषणापत्र कहिले?

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि चुनावी घोषणापत्रको तयारी गरिरहेको छ । लोसपाका कार्यकारिणी सदस्य केशव झाले चुनावी घोषणापत्रको अन्तिम तयारीमा रहेको र छठपछि सार्वजनिक गरिने बताए । लोसपाले पनि प्रदेश सरकारलाई अधिकार सम्मपन्न बनाउँदै, समानुपातिक सहभागिता, पहिचान र अधिकारको सुनिश्चितता, उत्पीडित समुदायको पहिचान र अधिकारको सुनिश्चिततालगायत विषयलाई घोषणापत्रमा समेटेको छ । घोषणापत्रको तयारीसँगै चुनावी प्रचारप्रचारको दौरानमा दुवै पार्टीका शीर्ष नेताहरू निर्वाचन क्षेत्रमा घरदैलो अभियानमा केन्द्रित रहेका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ५ : ३९ बजे

स्याङ्जामा पहिरोमा परी आमा–छोरीको मृत्यु

स्याङ्जा- स्याङ्जामा पहिरोले घर बगाउँदा दुईजनाको मृत्यु भएको छ ।

बागलुङ पहिरो अपडेट : दुईजनाको मृत्यु, दुई घाइते

बागलुङ– बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ

गुल्मीमा पहिरोमा पुरिएर तीनजनाको मृत्यु, दुईजना बेपत्ता

गुल्मी– गुल्मीमा गएराति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै

‘यश कुमार अब अमर छ’

काठमाडौं – यश कुमार बहुप्रतिभाशाली कलाकार हुन् । उनले गायक, संगीतकार,

पुस्तकालय रेखदेख गर्ने कर्मचारी राख्न माग

काठमाडौं– नेपाल सामुदायिक पुस्तकालय सङ्घले प्रदेश र स्थानीय तहमा पुस्तकालय