चितवन राष्ट्रिय निकुञ्जमा नयाँ घाँसेमैदान तयार गरिने « Khabarhub

चितवन राष्ट्रिय निकुञ्जमा नयाँ घाँसेमैदान तयार गरिने


२३ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०७९-८० मा ५० हेक्टर क्षेत्रफलमा नयाँ घाँसेमैदान तयार गरिने भएको छ । दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, पाटेबाघ, हरिणलगायतका जनावरको संरक्षणका लागि यस वर्ष पनि निकुञ्जले घाँसेमैदानको कामलाई प्राथमिकता दिएको हो । यस वर्ष निकुञ्जले दुई सय २५ हेक्टर क्षेत्रफलमा घाँसेमैदान व्यवस्थापनको काम गर्ने जनाएको छ । 

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले घाँसेमैदान व्यवस्थापनका लागि बोलपत्र आह्वान भएर सम्झौताको चरणमा रहेको बताए। उनले निर्वाचनलगत्तै घाँसेमैदान व्यवस्थापनको काम सुरु गरिने जानकारी दिए । यस वर्ष नयाँ घाँसेमैदान निर्माणका लागि २५ लाख र व्यवस्थापनका लागि ३३ लाख बजेट विनियोजन भएको तिवारीले बताए । उनले बजेट अभावका कारण थोरै क्षेत्रफलमा मात्रै घाँसेमैदान निर्माण र व्यवस्थापनको काम गर्न लागिएको जानकारी दिए । 

निकुञ्जमा आर्थिक वर्ष २०७६-७७ मा छ सय हेक्टर क्षेत्रफलमा नयाँ घाँसेमैदान निर्माण र ५८ हेक्टरमा व्यवस्थापनको काम भएको थियो । यस्तै २०७७-७८ मा सात सय हेक्टरमा निर्माण र चार सय हेक्टरमा व्यवस्थापनको काम भएकामा आर्थिक वर्ष २०७८-७९ मा ५० हेक्टरमा नयाँ घाँसेमैदान निर्माण र तीन सय आठ हेक्टरमा व्यवस्थापनको काम भएको निकुञ्जले जनाएको छ ।

निकुञ्जभित्र घाँस प्रजातिले ढाकेको क्षेत्रलाई घाँसेमैदानका रुपमा लिइन्छ । निकुञ्जको नौ सय ५२ वर्गकिलोमिटर क्षेत्रफलमध्ये करिब १० प्रतिशत मात्रै घाँसेमैदान छ । साना किरा फट्याङ्ग्रा, सरिसृपदेखि ठूला स्तनधारी प्रजाति गैंडा, बाघ, हात्तीलगायत अन्य खुर भएका प्रजातिका वन्यजन्तुलाई घाँसेमैदान विचरण गर्न, खेल्न, हिँड्डुल गर्न, घाम ताप्न, आराम गर्नका लागि अत्यन्तै उपयोगी हुने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए। निकुञ्जका जनावर मात्र नभएर जैविक विविधताको संरक्षण र पर्यावरणमा सन्तुलन कायम राख्नसमेत घाँसेमैदानले ठूलो भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।

‘निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रका घाँसेमैदानमा मुख्य घाँस प्रजातिमध्ये दुबो, काँस, सिरु, बरुवा, नर्कट, थमेडा, ढड्डी आदि पाइन्छन्’, आचार्यले भने, ‘निकुञ्जको घाँसेमैदानमा ५० भन्दा बढी प्रजातिका घाँस छन् जुन यहाँका वन्यजन्तुको मुख्य आहारसमेत हो ।’ 

निकुञ्जले यस आर्थिक वर्षमा पूर्वको सौराहा घाटदेखि पश्चिमको पुरानो टाइगर टप क्षेत्रसम्म घाँसेमैदान निर्माण र व्यवस्थापनको काम गर्ने जनाएको छ । घाँसेमैदान व्यवस्थापनअन्तर्गत अग्लो घाँस-ढड्डी काट्ने, आगो लगाएर जलाउने, जरासहित रूख हटाउने, स-साना पोथ्रा हटाउने, रूखको मुना हटाउनेजस्ता काम हुने आचार्यले बताए ।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले निकुञ्जभित्रको घाँसेमैदान राम्रो व्यवस्थापन हुन नसकेमा वन्यजन्तु मानवबस्ती आउन सक्ने बताए । घाँसेमैदान व्यवस्थापन र नयाँ निर्माणमा निकुञ्जको बजेट थोरै भएको बताए । निकुञ्जभित्र राम्रो घाँस खान नपाएमा दुर्लभ एकसिङ्गे गैँडा र बाघका आहारा प्रजाति खानाका लागि मानवबस्ती प्रवेश गर्ने र दुःख दिने उनको भनाइ छ । मानव र वन्यजन्तु बीचको द्वन्द्व कम गर्नका लागि निकुञ्जभित्रको घाँसेमैदान व्यवस्थित हुनुपर्ने उनले बताए ।

घाँसेमैदान व्यवस्थापनपछि बाघ र गैँडाको सङ्ख्यासमेत वृद्धि भएको निकुञ्जले जनाएको छ ।  पछिल्लो तथ्यांकअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ९४ वटा गैँडा र एक सय २८ वटा बाघ रहेका छन् । 

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ५ : १२ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका