तपाईं मत बदल्नुस्, हामी अवस्था बदल्छौँ : अध्यक्ष लिङ्देन | Khabarhub Khabarhub

तपाईं मत बदल्नुस्, हामी अवस्था बदल्छौँ : अध्यक्ष लिङ्देन


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

वालिङ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले मत बदले देशको अवस्था राप्रपाले बदल्ने बताएका छन् । स्याङ्जाको वालिङमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले देशमा ठूला भनिएका पार्टी तथा नेतालाई धेरै पटक विजयी बनाए पनि देशको अवस्था उही रहेकाले एकपटक राप्रपालाई मतदान गर्न आग्रह गरेका छन् ।

‘कांग्रेस, कम्युनिष्टलाई धेरै पटक विजयी बनाउनुभयो, मत बदल्नुभएन र देशको अवस्था उही रह्यो’, उनले भने, ‘एकपटक मनलाई मतसँग जोड्नुहोस् र मत बदल्नुहोस्, हामी देशको अवस्था बदल्छौँ ।’आगामी मङ्सिर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन आवधिक मात्रै नभई असल पार्टी र नेता चुन्नुपर्ने उनको भनाइ थियो ।

‘यो निर्वाचन आवधिक निर्वाचन मात्रै होइन, असल पार्टी र नेता चुन्नेमात्रै होइन, विगतको समीक्षा र भविष्यको माग तय गर्ने महत्त्वपूर्ण अवसर पनि हो’, उनले भने, ‘अहिलेसम्मका निर्वाचनमा ठिक पार्टी र ठिक नेता चुन्न नसकेकै कारण दुःख पायौँ, अझै कति दुःख पाइरहने हो रु सोच्नुस् यो पटक ।’

देशलाई यो अवस्थामा पुर्‍याउनुका पछाडि पार्टी र नेतामात्रै दोषी नभई गर्दै गर्दैनन् भनेर जानीजानी उसैलाई मत दिने मतदाता पनि दोषी रहेको उनले बताए । ‘कन्यादान दिने कुरा कति पटक सोच्छौँ, के हुने हो, कस्तो घर पर्ने हो, भन्दा भन्दै त कहिलेकाहीँ झुक्किन्छौँ’, उनले भने, ‘मतदान झन ठूलो दान हो तपाईंको गलत निर्णयले तपाईंमात्रै होइन समाज र राष्ट्र नै बिग्रन सक्छ बेलैमा सचेत हौँ ।’

हिजो अर्को देशलाई सहयोग गर्ने देश आज मागी खाने, थापी खाने देशका रूपमा चित्रित भएको भन्दै उनले देशमा हाल रहेका तीन वटा सरकारलाई दुई वटामा झार्नुपर्ने बताए ।

‘म कहिले पनि भ्रष्टाचार गर्दिनँ र अरुलाई गर्न पनि दिन्नँ’, उनले भने, ‘भ्रष्टाचारी प्रवृत्तिमाथि डोजर चलाउने मन छ, म एक्लै संसद्मा पुगेर आवाज पुगेन, अरु पनि साथी सहयोगी पठाइदिनुहोस् भन्न स्याङ्जा आएको हुँ, तपाईंको सहयोग माग्न आएको हुँ ।’

चुनावीसभामा अभिनेत्री मनिषा कोइरालाले बिपीले अगाडि सार्नुभएको विचारजस्तै अहिले राप्रपाका विचार पनि मिल्ने भएकाले आफू पनि राप्रपाकै साथमा रहेको बताए । चुनावीसभामा राप्रपाबाट स्याङ्जा क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार लालगोपाल अर्याल, प्रदेश (१)का उम्मेदवार सागर गैह्रे, प्रतिनिधिसभाको समानुपातिकका उम्मेदवार देवी पराजुलीलगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ७ : ५६ बजे

सगरमाथा संवादका लागि भारतले दियो १५ वटा सवारी साधन 

काठमाडौं– नेपाल सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादको पहिलो संस्करणका

इजरायल–प्यालेस्टाइन युद्धमा पत्रकार मारिएकोप्रति प्रेस युनियनबाट दुःख व्यक्त

पोखरा– नेपाल प्रेस युनियनले गरेको लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटका क्रममा

देशका १४ स्थानबाट ब्राउनसुगरसहित प्रयोगकर्ता पक्राउ

काठमाडौं – प्रहरीले देशका विभिन्न स्थानबाट १४ जना लागूऔषध प्रयोगकर्तालाई

व्यवसायीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध : अर्थमन्त्री पौडेल

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीले भोग्नुपरेका समस्याहरू

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ 

झापा– झापामा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । कनकाई