डेङ्गु सार्ने लामखुट्टेका लार्भा खोजी गरी नष्ट गर्ने अभियान « Khabarhub

डेङ्गु सार्ने लामखुट्टेका लार्भा खोजी गरी नष्ट गर्ने अभियान


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरका सात नगरपालिकामा डेङ्गु सार्ने लामखुट्टेका लार्भा खोजी गरी नष्ट गरिने अभियान सञ्चालन हुने भएको छ । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको भाइरस नियन्त्रण गर्नका लागि अभियान सञ्चालन हुन लागेको हो ।

दुई दिनभित्रै शुक्लाफाँटा, वेदकोट, कृष्णपुर, भीमदत्त, महाकाली, बेलौरी र पुनर्वास नगरपालिकाका शहरी र शहरोन्मुख क्षेत्रमा लार्भा खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन हुने सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले बताए ।

‘डेङ्गुको भाइरस सार्ने लामखुट्टेका लार्भा नियन्त्रण गर्न सातै नगरपालिकामा महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको टोलीले घरघरमा पुगेर लामखुट्टेले फुल पार्ने ठाउँ पानीट्याङ्की, गाग्रो, दहीको कतारो, बाल्टिन तथा ड्रम, गमला, टायरको पानी फाल्ने र पानी जम्ने खाल्डाखुल्डी पुर्नेलगायतका कार्य गर्नेछ’, उनले भने ।

स्थानीय बासिन्दालाई डेङ्गुको भाइरस रोकथामका लागि अपनाउनुपर्ने सावधानीबारे जानकारी दिने कार्यसमेत हुने उनले बताए । डेङ्गुको भाइरस सार्ने लामखुट्टेले दिउँसोपख मात्रै टोक्ने भएकाले यसबाट बच्नका लागि पूरै शरीर ढाक्ने गरी कपडा लगाउने, मलमको प्रयोग गर्ने, राति र दिउँसो झुलभित्र सुत्ने, पानी जम्ने भाँडाकुँडाको पानी फाल्ने, खाल्डाखुल्डीमा पानी जम्न नदिने र झ्यालढोकामा जालीको प्रयोग गर्नुपर्ने स्वास्थ्यकर्मी माधवानन्द भट्टले बताए।

देशका विभिन्न भागमा डेङ्गु ज्वरोको प्रकोप बढ्नसक्ने भएकाले सबैले सचेत हुनुपर्ने उनको सुझाव छ । स्वास्थ्यकर्मी हरि नाथका अनुसार डेङ्गु भएमा एक्कासि तीनदेखि पाँच दिनसम्म ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरीरमा डाबर आउने, अरुचि हुने, जोर्नी तथा मांसपेशी दुख्ने, पेट तथा आन्द्रामा गडबडी हुनेलगायतका लक्षण देखा पर्छन् ।

यसैगरी, केही बिरामीमा शुरुमै शरीरभरि खटिरा आउने, ज्वरो आइरहेका बेला नाक तथा गिजाबाट रक्तश्राव हुने, छालामुनि रक्तश्राव हुनेलगायतका लक्षण देखा पर्न सक्छन् । डेङ्गु ज्वरो भाइरसको कारणबाट लाग्ने भएकाले यसको कुनै किसिमको विशेष उपचार र खोप छैन ।

बिरामीमा देखिएको लक्षणका आधारमा उपचार हुने गरेको छ । ज्वरो घटाउन सिटामोल र प्रशस्तरूपमा झोल पदार्थ पिउन बिरामीलाई लगाइने शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तीर्थराज भट्टले बताए । डेङ्गुको लक्षण देखापरे तुरुन्त अस्पतालमा भर्ना गरी उपचार गराउनुपर्ने उनको सुझाव छ ।

सुदूरपश्चिम प्रदेशमा यस वर्षको अहिलेसम्म कुनै पनि डेङ्गुका बिरामी फेला परेका छैनन् । डेङ्गुको भाइरस सर्न नदिन लार्भा नष्ट गर्ने अभियानसँगै सचेतनाका कार्यक्रमसमेत सञ्चालन हुने बताइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले राखेको तथ्याङ्कअनुसार सन् २०१७ मा डेङ्गुका एक बिरामी फेला परेका थिए । सन् २०१८ मा सात बिरामीमा डेङ्गुको भाइरस सङ्क्रमण भएको पाइएको थियो । डेङ्गुको सङ्क्रमण भएका सबै भारतमा काम गरेर फर्केका व्यक्ति थिए ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  १० : १८ बजे

राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाले आगामी ९० दिनसम्म तीन लाख टनसम्म

झुर एनिमेसनलाई दर्शकले मन पराएपछि ‘नियु लाइ’ बन्यो सुपरहिट

बेइजिङ- कमजोर दृश्य र अस्वाभाविक पात्रका कारण सामाजिक सञ्जालमा मजाक

अर्थमन्त्रीले भने, सीमाबाट घरायसी सामान ल्याएका जनतालाई दुःख नदिनू, तस्करप्रति निर्मम हुनू

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमावर्ती मधेशका सर्वसाधारणलाई घरायसी प्रयोजनका

प्रहरी संगठन वा प्रमुखसँग कुनै व्यक्तिगत विवाद छैन : खगेन्द्र सुनार

काठमाडौं– रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरी संगठन वा प्रहरी प्रमुखसँग