जग्गाको मुआब्जा विवादका कारण रेल मार्ग विस्तारको काम अनिश्चित « Khabarhub

जग्गाको मुआब्जा विवादका कारण रेल मार्ग विस्तारको काम अनिश्चित


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिवास– जग्गाको मुआब्जासम्बन्धी विवादको समाधान नहुँदा बर्दिवास—जनकपुर—जयनगर रेलमार्गको निर्माण अनिश्चित बन्दै गएको छ । जग्गाको मुआब्जा विवाद सुल्झिन नसक्दा महोत्तरीको भङ्गहा नगरपालिकाको पुरानो बिजलपुरा स्टेशनदेखि बर्दिवाससम्मको १८ किलोमिटर दूरीको रेलमार्ग निर्माणको कार्य अनिश्चित बनेको हो ।

जयनगरबाट जनकपुरको कुर्थासम्म ३४ किलोमिटर दूरीमा रेलका पटरी ओछ्याइ सकिएको छ । उक्त मार्गमा अब रेल सञ्चालनको तयारी गरिएको छ ।

यस्तै, धनुषाको कुर्थादेखि महोत्तरीको भङ्गाहा नगरपालिकाको पुरानो बिजलपुरा स्टेशनसम्मको १७ किमी दूरीमा पनि सुस्त गतिमै भए पनि निर्माण कार्य जारी छ । तर, भङ्गाहा नगरपालिकाको बिजलपुरा स्टेशनदेखि बर्दिवाससम्मको १८ किमी क्षेत्रमा भने मुआब्जा विवाद नटुङ्गिँदा बर्दिवाससम्म रेल आउने÷नआउने अनिश्चित छ ।

भारत सरकारको सहयोगमा शुरु भएको बर्दिवास–जनकपुर (कुर्था)–जयनगर रेलसेवा सन् २०२० भित्र सञ्चालन भइसक्ने रेल विभागले बताउँदै आएको छ । तर, भङ्गाहा–बर्दिवास खण्डको जग्गा मुआब्जा विवाद नै नटुङ्गिँदा रेल चल्छ भन्ने आश मर्न थालेको बर्दिवास नगरपालिका–१४ का बासिन्दा हरिप्रसाद दाहालको भनाइ छ ।

भङ्गहा–बर्दिवास खण्डका जग्गाधनीहरुले चलनचल्तीको मूल्यका आधारमा मुआब्जा पाउनुपर्ने माग राख्दै आएका छन् । तर, सरकारले भने रकम निर्धारण गरेर जग्गाधनीलाई मुआब्जा लिन आउने सूचना नै जारी गर्न नसकेको बर्दिवास–७ प्रेमनगरका भीष्मकुमार महतो बताउँछन् ।

‘रेल विभागले हाम्रो जगा रोक्का राखेको तीन वर्ष नाघ्यो,’ महतोले भने, ‘न मुआब्जा लिन बोलाउँछ, न जग्गा फुकुवा गरिदिन्छ, यसले हामीलाई सकसमा पारेको छ ।’

बर्दिवास–भङ्गाहा खण्डमा रेल विभागले रोक्का राखेको १२७ बिघा जग्गाको मुआब्जा वितरण हुन नसक्दा यस खण्डमा रेलसम्बन्धी काम अगाडि बढ्न सकेको छैन ।

बर्दिवास–भङ्गाहा खण्डमा विभागले रोक्का राखेको १२७ बिघा जग्गामध्ये २६ बिघा धनुषाको मिथिला नगरपालिका (साबिकको बेङ्गाडावर गाविस) र अरू महोत्तरीकै बर्दिवास र भङ्गाहा नगरपालिकामा पर्दछ । जसमध्ये पहिलेको बर्दिवास गाविस क्षेत्रभित्रको ५३, किसाननगर गाविस क्षेत्रको २६ र भङ्गाहाको २२ बिघा जग्गा रहेको छ । पहिलेको बर्दिवास र किसाननगर गाबिस हाल बर्दिवास नगरपालिकामा गाभिएका छन् ।

यसैबीच रेल विभागका महानिर्देशक बलराम मिश्रले पनि मुआब्जा वितरणमा ढिलाइ हुँदा निर्माण काम अड्किएको स्वीकार गरेका छन् । नेपाल सरकारले मुआब्जाको काम सकेलगत्तै बर्दिवास–भङ्गाहा खण्डको काम पनि गतिमा अघि बढ्ने मिश्रको भनाइ छ ।

रेल विभागले सन् २०१८ भित्र जयनगरदेखि कुर्थासम्म, सन् २०१९ भित्र कुर्थादेखि भङ्गाहाको बिजलपुरा स्टेशनसम्म र सन् २०२० भित्र भङ्गाहाको बिजलपुरादेखि बर्दिवाससम्मको काम सम्पन्न गरी सोही तालिकाभित्र रेल सेवा सञ्चालन गरिसक्ने जनाउँदै आएको थियो । तर यो तालिकाभित्र काम सम्पन्न हुन नसक्दा पहिलो खण्ड (कुर्था–जयनगर) मा पनि हालसम्म रेल सञ्चालन हुन सकेको छैन ।

भारत सरकारको रु सात अर्ब २० करोडको आर्थिक सहयोगमा ब्रोडगेज रेल्वे विस्तारको काम सन् २०१४ मा शुुरु भएको थियो । विसं १९९४ मा शुरु भएको बिजलपुरा (भङ्गाहा महोत्तरी)–जनकपुर (धनुषा)–जयनगर (भारत)सम्म ५१ किमी रेलमार्ग २०५८ सालको बाढीले बिग्हीपुल (लोहारपट्टि, महोत्तरी) भासिएपछि सो रेल सेवा जनकपुर–जयनगर २९ किमीमा सीमित भएको थियो । यो रेलमार्गमा पनि स्तरोन्नतिको काम शुरु गरिएसँगै विभागले २०७० देखि रेल सेवा पूर्णरुपमा बन्द गराएको छ ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ३ : ४५ बजे

सर्वदलीय बैठकबारे राष्ट्रपतिलाई रविको ब्रिफिङ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । 

महोत्तरीका वन कर्मचारीले घेरे रास्वपा कार्यालय (तस्बिरहरू)

काठमाडौं– महोत्तरीको बर्दिबास कालापानीस्थित डिभिजन वनका कर्मचारीले राष्ट्रिय स्वतन्त्र पार्टीको

सर्वदलीय बैठक: यस्तो छ ७ बुँदे संयुक्त वक्तव्य

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

सुनसरीको देवानगन्ज क्षेत्रमा निषेधाज्ञा कायम

विराटनगर– सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले