सडक कालोपत्रेको मागसहित मेयरलाई बुझाइयो चार मागपत्र | Khabarhub Khabarhub

सडक कालोपत्रेको मागसहित मेयरलाई बुझाइयो चार मागपत्र


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको महुरे-फोक्सिङटार सडक कालोपत्रेको काम सुचारु गर्न माग गर्दै स्थानीयले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईलाई एकैदिन चारवटा मागपत्र बुझाएका छन् । उदयपुरको गाईघाट-दिक्तेल सगरमाथा राजमार्गअन्तर्गत महुरे-फोक्सिङटार (४९ किलोमिटर) सडक कालोपत्रेको काममा भारत कन्ट्रक्सनरसिद्धी शाही जेभी र देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले चरम ढिलासुस्ती गरेको भन्दै बुईपा, विजयखर्क र राजापानीका स्थानीयले छुट्टाछुट्टै मागपत्रमार्फत तत्काल काम सुचारु गराउन माग गरेका हुन् ।

चरम ढिलासुस्ती भइरहेको महुरे-फोक्सिङटार सडक कालोपत्रेको अवस्थाबारे अवलोकनमा पुगेका मेयर भट्टराईलाई बुइपा र विजयखर्कका स्थानीयले एक/एकवटा तथा राजापानीका स्थानीयले दुई मागपत्र बुझाउँदै तत्काल काम सुचारु गराउन वा नगरे ठेक्का तोड्नका लागि पहल गर्न ध्यानाकर्षण गराएका छन् । महुरे-फोक्सिङटार सडक आसपासका स्थानीयले कालोपत्रेको काम अलपत्र हुँदा वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएको, भएका काममा पनि गुणस्तर काम नभएको, सडकमा खाल्डाखुल्डी हुँदा आवतजावतमा समस्या भएको, सडक दुर्घटना भएको गुनासो गरेका छन् । 

मागपत्रमा निर्माण व्यवसायीले ज्यालादारी कामदार र होटल व्यवसायीलाई तिर्नुपर्ने रकमसमेत वर्षौँसम्म नतिरेको उल्लेख गरेको पाइएको मेयर भट्टराईले बताए ।

‘ठेक्का लागेको वर्षौँसम्म सडक कालोपत्रे भएन । हिँड्डुल गर्न सास्ती भयो । निर्माण व्यवसायीले हामीलाई टेरेन, ठग्यो भन्ने गुनासो आएको छ,’ मेयर भट्टराईले भने, ‘ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई बोलाएर तत्काल काम सुचारु गराउनु पर्‍यो । काम गरेन भने ठेक्का रद्द गर्नेसम्मको कारबाही अघि बढाउनुपर्‍यो भन्ने माग आएको छ । यसबारेमा हामी केही न केही कारबाही अघि बढाउँछौँ ।’ 

महुरे-फोक्सिङटार सडक दिक्तेलबाट उदयपुर हुँदै पूर्वी सहर आउजाउ गर्ने छोटो दूरीको बाटो हो । सो सडक कालोपत्रेको काम दुई खण्डमा भइरहेको छ । महुरेदेखि राजापानीको सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम भारत कन्ट्रक्सन/सिद्धी शाही जेभी तथा सिमपानी भञ्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) खण्डको ठेक्का देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीको जिम्मामा छ । 

भारत कन्ट्रक्सनरसिद्धी शाही जेभीले २९ असार २०७७ भित्र सम्पन्न गर्ने सर्तमा ३० असार २०७३ मा महुरे-राजापानीको सिमपानी सडक कालोपत्रे योजनाको सम्झौता गरेको थियो । ४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको हालसम्म करिब ५० प्रतिशत मात्र भौतिक प्रगति देखिएको गाईघाट-दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ । सिद्दी शाही जेभीका दिपेन्द्र शाही कांग्रेस डोल्पा सभापति एवं अहिले प्रदेश (क)का उम्मेदवार छन् । 

यस्तै, देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले कालोपत्रे गर्ने जिम्मा लिएको सिमपानी भञ्ज्याङ-फोक्सिङटार सडक खण्डको हालसम्म करिब ६० प्रतिशत प्रगति भएको छ । ५५ करोड ८७ लाखमा १० साउन २०७७ भित्र कालोपत्रे पूरा गर्ने सर्तमा ११ साउन २०७३ मा सो खण्डको सम्झौता गरिएको थियो । कोभिड-१९ को महामारी कारण देखाएर दुबै खण्डको म्याद पटकपटक थप हुँदै आएको छ । 

काममा ढिलासुस्ती गर्दैआएको निर्माण कम्पनीले पटकपटक आफ्नो साइड इन्चार्ज परिवर्तन गर्दै स्थानीयलाई छल्ने गरेको छ । प्रतिनिधिलाई फिल्डमा पठाएर मुख्य ठेकेदार सम्पर्कविहीन बनेर बस्ने गरेका छन् । सडक कालोपत्रेमा भइरहेको ढिलासुस्तीबारे जनप्रतिनिधि र दलका नेतासमेत चुपचाप बस्ने गरेको स्थानीयको गुनासो छ । कालोपत्रे गरेर चिल्ला हुनुपर्ने सडकमा हिलो र धुलोको कारणले यात्रा गर्नै सकस भइरहेको छ । निर्माण कम्पनीका प्रतिनिधिले वर्षौँसम्म उधारो नतिर्दा दर्जनौं साना व्यवसायी मारमा परेको पञ्चारदोबाटोका स्थानीय व्यवसायी अष्टकुमार श्रेष्ठले गुनासो गरे ।

भारत कन्ट्रक्सनरसिद्धी शाही जेभीले भने २६ कात्तिकदेखि महुरे-राजापानीको सिमपानी सडकको काम सुचारु गराएको छ । 

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  १२ : २८ बजे

मुख्यमन्त्री लामाबाट चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण

काठमाडौं– चन्द्रागिरि नगर अस्पताल थानकोटमा ‘भेन्टिलेटर’ सेवा सञ्चालनमा आउने भएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– आज सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले घटेको

रविको भनिएको तस्बिरबारे कास्की प्रहरीले भन्यो– ‘अनुसन्धान भइरहेको छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कास्की प्रहरी

म्याग्दीको किवीले बजार पाएन

म्याग्दी– धौलागिरि गाउँपालिका–७ शिवाङको धौलागिरि कृषि तथा पशुपन्छी फार्मका सञ्चालक

झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती

झापा- झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको छ । कृषकलाई