सुन्तलामा औँसा कीरा र स्केल रोगको प्रकोप, कृषक चिन्तित | Khabarhub Khabarhub

सुन्तलामा औँसा कीरा र स्केल रोगको प्रकोप, कृषक चिन्तित


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– पाक्नै लागेका सुन्तलामा औँसा कीरा र स्केल रोगको प्रकोप देखिन थालेपछि म्याग्दीका सुन्तला उत्पादक कृषक चिन्तित भएका छन् । बिक्री गर्ने बेलाका सुन्तला कुहिएर बोटमै झर्न थालेपछि यहाँका किसान चिन्तित बनेका हुन् । बजार पठाउने बेला सुन्तलामा औँसा कीरा र स्केल रोग भेटिएको म्याग्दीको वास्कुनादोसल्लेका कृषकले बताएका छन् । बास्कुनादोसल्लेमा बढी सुन्तला उत्पादन हुने ठाउँ हुन् ।

कृषकका अनुसार औँसा कीरा र स्केल रोगका कारण सुन्तलाका दाना कुहिएर बोटबाट झर्न थालेका छन् । जिल्लाभर करिब १७ प्रतिशत सुन्तलामा औँसा कीराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख किरन सिग्देलले बताए । म्याग्दीको प्रमुख निकासीयोग्य फलफूल सुन्तला हो । दानाको बोक्रामा थोप्ला-थोप्ला दाग लागेर स्वरुप बिगार्ने ‘स्केल’ रोग सुन्तला उत्पादक कृषकका लागि टाउको दुखाइ बनेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सिग्देलले स्केलको दागले सुन्तलाका दानालाई बिफर लागेको जस्तो स्वरुप बिगार्ने समस्या देखिएको बताए।

‘अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेको बगैँचामा पुगेर स्थलगत निरीक्षण र नियन्त्रणका उपायका विषयमा कृषकलाई परामर्श दिएका छौँ’, उनले भने,  ‘सुन्तलाको दानालाई कुरूप बनाउने स्केल रोग नियन्त्रणका लागि जिल्लाव्यापी अभियानको तयारीमा छौँ ।’

सिग्देलका अनुसार स्केलरोग म्याग्दीको सुन्तला बगैँचामा देखिएको नयाँ समस्या हो । फल टिपेपछि प्रति एक लिटर पानीमा १० मिलीलिटरका दरले सर्वो आयल मिसाएर सुन्तलाको बोटमा छर्केपछि यो समस्या समाधान गर्न सकिने उनले बताए।

यसअघिका वर्षमा म्याग्दीको सुन्तला बगैँचामा फैलिएको फ्रुट फ्लाइका कारण दाना झर्ने समस्या यसपालि कम भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । झरेका दानालाई प्लास्टिकको थैलोमा राखेर व्यवस्थापन गरिएपछि यसपालि समस्या कम भएको हो ।

आगामी वर्ष पनि यस्तो समस्या आउन नदिनका लागि कृषकलाई प्लास्टिकको थैलो वितरण गर्न लागिएको छ । म्याग्दीको राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैँचा छन् ।

अन्नबाली छाडेर व्यावसायिक सुन्तला खेती उत्पादनमा लागेका कृषक बिक्री गरेर आम्दानी गर्ने बेलामा फल झर्ने र कुहिने भएपछि मर्कामा परेका हुन् । ‘बेच्ने बेलाका सुन्तला बोटैमा कुहिएर झर्न थालेका छन्, कीराको समस्याले हैरानी दिएको छ’, अन्नपूर्ण-७ दोसल्लेकी सुन्तला कृषक माया पुनले भने ।

आफ्नो सुन्तला बगैँचामा उत्पादन भएका फलमध्ये करिब १० प्रतिशत सुन्तला झरेको उनले बताए। सुन्तलालगायत अमिलो प्रजातिका फलफूलमा औँसा कीरा र स्केल रोगको प्रकोप देखिएपछि कृषी ज्ञान केन्द्रले अध्ययन तथा रोकथाम सुरु गरेको छ ।

सो ज्ञान केन्द्रबाट खटिएको प्राविधिक टोली औँसा कीरा र स्केल रोगको समस्याबारे बुझ्न हिस्तान र बेनी नगरपालिकाऔ४ बास्कुनामा पुगेर झरेको एक दाना सुन्तला अध्ययन गर्दा ११ औँसा कीरा भेटिएको सिग्देलले जानकारी दिए । 

अमिलो जातका फलफूल सुन्तला, जुनार, मौसम, भोगटे, निबुवा, बिमिरो, कागती, ज्यामिरलगायतका फलफूलमा यसको सङ्क्रमण फैलिएको छ । कृषि ज्ञान केन्द्रले कीराको सङ्क्रमण रोक्न प्लास्टिक झोला माग गरेका छन् ।

म्याग्दीमा सात सय छ हेक्टरमा सुन्तला जातका फलफूलको खेती भएको कृषि ज्ञान केन्द्रको तथ्यांक छ । गत वर्ष तीन सय ५५ हेक्टरमा लगाइएका बोटबाट दुई हजार एक सय ८० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्यांक छ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ५ : ०७ बजे

मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति

नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल एक

पाँचथरमा बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु

पाँचथर – पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

प्रतिनिधिसभा बैठक बस्दै, पानीजहाज विधेयक टेबुल गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आइतबार बस्दैछ । बैठक

इरानको तेल भण्डारमा इजरायलको आक्रमण: भीषण आगो लागेको दृश्य सार्वजनिक

इरान – इजरायलको आक्रमणबाट इरानको तेल भण्डारमा भीषण आगो लागेको