गुह्येश्वरीमा रातभर तान्त्रिक र गुप्ती पूजा « Khabarhub

गुह्येश्वरीमा रातभर तान्त्रिक र गुप्ती पूजा


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पशुपति क्षेत्रको गुह्येश्वरीमा मनाइने दुईदिने गुह्येश्वरी जात्राका क्रममा बिहीबार रातभर गुह्येश्वरी मन्दिरमा बलिसहित तान्त्रिक र गुप्ती पूजा गरिएको छ।

बिहीबार बेलुकी हनुमानढोका दरबारबाट तलेजु भवानीलाई गुह्येश्वरी लगेर मन्दिरमा रातभर बलिसहित तान्त्रिक र गुप्ती पूजा गरिएको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयले जनाएको छ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण पक्ष नवमी र दशमी तिथिमा पशुपति क्षेत्रको गुह्येश्वरीमा गरिने गुह्येश्वरी जात्राको पहिलो दिन बिहीबार मन्दिर क्षेत्रमा लिङ्गो उठाइएको थियो। गुह्येश्वरी जात्राका लागि हनुमानढोकाबाट तलेजु भवानीको मूर्तिलाई गुह्येश्वरी लैजाने जिम्मा पशुपति सिर्जनशील युवा क्लबलाई दिइएको कार्यालय प्रमुख सुशीला शर्माले जानकारी दिइन्। जात्राका लागि तलेजु भवानीलाई दुई दिनसम्म गुह्येश्वरीमा राखिन्छ।

जात्राका क्रममा आज बिहान गुह्येश्वरी र तलेजु भवानीको विशेष पूजापछि पशुपति क्षेत्रका विभिन्न स्थानमा गुह्येश्वरीको खट जात्रा गरिन्छ। जात्रा सकी आज राति मूर्ति तलेजु मन्दिरमै फर्काइने कार्यक्रम रहेको छ। नवमीदेखि दुई दिनसम्म पशुपति क्षेत्रमा गुह्येश्वरी जात्रा सञ्चालन गरिन्छ। यो जात्रामा गुठी संस्थान र गुह्येश्वरी मन्दिर व्यवस्थापन समितिको व्यवस्थापनमा समेबजीलगायत तान्त्रिक विधिले पूजा गर्दा चढाइने चीजबीजसहित पूजा आराधना गर्ने परम्परा छ।

गुह्येश्वरी र तलेजुलाई दिदी–बहिनीका रूपमा पूजिने भएकाले दुवै मूर्ति उस्तै रहेको छ। गुह्येश्वरीलाई दिदी र तलेजुलाई बहिनीका रुपमा पूजिने गुह्येश्वरी मन्दिरका पुजारी जैन कर्माचार्यले बताए। मूर्ति तलेजु भवानीको मन्दिरबाट गुह्येश्वरी लैजाने सबै विधि तान्त्रिक प्रक्रियाबाट नै पूरा गरिन्छ।

गुह्येश्वरी मन्दिर क्षेत्रमा तलेजु भवानीलाई लैजानुअघि नै त्यहाँ ३२ हातको लिङ्गो पनि बिहीबार नै ठड्याइएको हो। जात्राका लागि लिङ्गो पशुपति क्षेत्रस्थित भण्डारखालबाट सालको रुख काट्ने गरिन्छ। यसका लागि गत वर्ष नै रुख काटिसकिएको जनाइएको छ।

तान्त्रिक विधिपूर्वक पूजा सकेपछि जात्राका लागि ल्याइएको तलेजु भवानीको मूर्ति पशुपति सिर्जनशील युवा क्लबले नै फिर्ता गर्ने जिम्मा दिइएको छ। क्लबले गुह्येश्वरीको खटलाई पशुपति मन्दिर परिक्रमा गराई पशुपतिनाथका मूलभट्टबाट विधिपूर्वक पूजा गराउने परम्परा छ।

पशुपतिनाथ मूल मन्दिरबाट अमालकोट कचहरीको डबलीमा लगेर पूजा गरिन्छ। त्यहाँबाट जयवागेश्वरीको नवालीटोलमा लगेर विधिवत् पूजा आराधना गरिन्छ। पशुपति क्षेत्रका विभिन्न स्थानमा हुने पूजा आराधनामा भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको छ।

जात्राका लागि नेपाली सेनाको गुरुजुको पल्टनसमेत सहभागी हुने प्राचीनकालदेखिको परम्परा छ। नेपाली सेना, संस्थान, अमालकोट कचहरीलगायतले विधिपूर्वक छुट्टाछुट्टै पूजा गर्छन्। नवाली टोलमा निजी गुठीका गुठियारले पनि पूजा गर्ने अवसर पाउँछन्। नवालीटोलको पूजापछि रथलाई सिफल–ज्ञानेश्वर–कमलपोखरीमा पनि विशेष पूजा आराधना गरिन्छ।

कमलपोखरीको विशेष पूजापछि कृष्ण पाउरोटी–तीनधारा पाठशाला–जमल–असन हुँदै शुक्रबार बेलुकी तलेजु भवानीको मन्दिरमा मूर्तिलाई लगिने संस्थानले जनाएको छ। बिहीबार पनि यही मार्गबाट मूर्तिलाई गुह्येश्वरी मन्दिर लगिएको हो। यो जात्राका क्रममा धिमे बाजा, नायखी, बाँसुरी वादन गरिन्छ। जात्रामा नियमित भजनकीर्तन गर्ने समूहका सदस्य पनि सहभागी हुने गर्छन्। जात्रा सकिएसँगै आज बेलुकी ६ बजे गुह्येश्वरीमा ठड्याइएको लिङ्गो ढालिने कार्यक्रम रहेको छ।

जयप्रकाश मल्लको पालादेखि सुरु भएको यो जात्रा प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण नवमी र दशमीमा हनुमानढोका दरबारबाट पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिरसम्म गरिन्छ। पशुपति क्षेत्रमा सञ्चालन हुने दर्जनौँ जात्रामध्ये गुह्येश्वरी जात्रा पनि एक हो।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ९ : १८ बजे

सगरमाथा क्षेत्रमा भेटिएको शव ‘डिएनए’ परीक्षणका लागि काठमाडौँ ल्याइयो

काठमाडौं– सगरमाथा आधार शिविरदेखि दोस्रो शिविर तर्फ जाने बाटो निर्माणका

इरानी विदेशमन्त्री अराघची एक्कासी चीन जाँदै

तेहरान- इरानका विदेशमन्त्री अब्बास अराघचीले चीन भ्रमण गर्ने भएका छन्

म्याग्दीको वाखेतमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतको वाखेतमा पक्की सडक निर्माण भएको

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

काठमाडौं– सरकारले समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं– अघिल्लो चार कारोबार दिन निरन्तर घटेको नेपाल स्टक एक्सचेञ्ज