मध्यबिन्दु- पूर्वी नवलपरासी कावासोती-६ विष्णुनगरस्थित ९० वर्षीया पवित्रा काफ्लेले मतदान गरेकी छिन् । मतदान महत्त्वपूर्ण भएकाले मतदान गर्न आएको काफ्लेले बताइन् ।
शारीरिक रूपमा अशक्त भए पनि ‘ह्विलचियर’को सहारामा मतदान केन्द्रसम्म आइ मतदान गर्न पाउँदा खुसी लागेको काफ्लेले बताइन् । कावासोती–६ विष्णुनगरको जनता माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा उनले मत खसालिन्।
कावासोतीकै गोमता भुर्तेल पनि शारीरिक रूपमा अशक्त छिन । उनी पनि ‘ह्विलचियर’ प्रयोग गर्छिन्। तर गत स्थानीय तहको निर्वाचनमा मतदान स्थल अपाङ्गमैत्री नहुँदा उनलाई मत खसाल्न गाह्रो भयो ।
देवचुली-१५ कि ८८ वर्षे ज्ञानकुमारी श्रेष्ठ पनि ‘ह्विलचियर’ बिना आवतजावत गर्न सक्दिनन् । उनले मताधिकारको सहजताका लागि अपाङ्गतामैत्री मतदान केन्द्र हुनुपर्ने बताउँछिन् । समथर स्थानमा भन्दा पहाडी भेगमा मतदान केन्द्रसम्म पुग्न अपाङ्ग व्यक्तिहरूलाई असहजता हुने उनको भनाइ छ ।
कावासोतीका दलबहादुर पाण्डे दृष्टिविहीन छन् । उनलाई अरूको सहायतामा नभई आफैँ मत हाल्न मन छ । त्यो व्यवस्था अहिले नभएकाले त्यो सम्भव भएन । प्रविधिको प्रयोग र डिजिटल माध्यमबाट मत हाल्ने व्यवस्था भए दृष्टिविहीनलाई सहज हुने उनको तर्क छ ।
देशभर कुल मतदातामध्ये दुई प्रतिशत अर्थात् करिब तीन लाख ६० हजार अपाङ्गता भएका छन् ।
प्रतिक्रिया