कांग्रेसलाई बाहिरै राखेर मिलिजुली सरकार बनाउन कति सम्भव ? « Khabarhub

कांग्रेसलाई बाहिरै राखेर मिलिजुली सरकार बनाउन कति सम्भव ?


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभातर्फ प्रत्यक्षको मतपरिणाम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म एक सय ५८ सिटको नतिजा सार्वजनिक भइसकेको छ । चारवटामा मतगणना जारी छ । दोलखा, बाजुरा र स्याङ्जा २ मा मतगणना हुन सकेको छैन । दोलखाका १० मतदान केन्द्रमा १५ मंसिरभित्र पुनः निर्वाचन गराउन निर्वाचन आयोगले निर्देशन दिइसकेको छ । त्यसैले त्यहाँ निर्वाचन भएर अन्तिम नतिजा आउन २० मंसिरसम्म लाग्ने आयोगको अनुमान छ ।

आयोगले समानुपातिक निर्वाचनको मतगणना पनि अन्तिमतिर पुर्याएको छ । अहिलेसम्म ९३ लाख २६ हजार १५७ मतगणना भइसकेको आयोगले जनाएको छ । एक करोड सात लाख मत खसेकोमा अब १६ लाखभन्दा बढी गणना गर्न बाँकी छ । आयोगले २२ मंसिरसम्म समानुपातिकतर्फ अन्तिम नतिजा सार्वजनिक गर्ने बताइसकेको छ । समानुपातिकतर्फ कस्को कति सिट आउला भन्ने अझै प्रष्ट छैन । अहिलेसम्मको स्थितिमा ६ दलले थ्रेसहोल्ड भेटिरहेका छन् । क्रमशः एमाले, कांग्रेस, माओवादी, रास्वपा, राप्रपा र जसपा । तर अरु तीन दल क्रमशः एकिकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी पनि नजिक देखिन्छन् ।

अबको दुई साताभित्र नयाँ सरकार कसको नेतृत्वमा बन्ने भन्ने घनीभूत छलफल हुने भएको छ । सत्ता गठबन्धनले सहज बहुमत प्राप्त गरेकाले अहिलेकै सरकारले निरन्तरता पाउने सम्भावना पनि प्रबल छ । खासगरी सत्ता बाँडफाँडमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच सहमति जुटेमा अहिलेकै सरकारले निरन्तरता पाउने आँकलन गरिएको छ । त्यसका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख पद बाँडफाँड नै नेताहरूका लागि टाउको दुःखाईको विषय बनेको छ ।

कांग्रेस र माओवादीले प्रधानमन्त्री पदमा दाबी गरेका छन् । निर्वाचनले कांग्रेसलाई ठूलो दलका रूपमा स्थापित गरेकाले प्रधानमन्त्रीमा पहिलो दाबी कांग्रेसकै रहन्छ । यदि कांग्रेसले ठूलो दलको हैसियतमा सरकार बनाउन नसके अर्को विकल्प खुला हुन्छ ।

अहिलेकै सरकारलाई निरन्तरता दिने गरी प्रधानमन्त्री शेरबहादुर देउवाले प्रयास थालेका छन् । तर, कांग्रेस संसदीय दलको नेता पुनः निर्वाचित हुनुपर्ने भएकाले समानुपातिक नतिजा कुर्नैपर्ने अवस्थामा दलहरू छन् । कांग्रेसमा महामन्त्री गगन थापाले पनि संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने घोषणा गरेकाले कसरी गठबन्धन बन्छ भन्ने चासो पनि छ ।

उता एमाले अध्यक्ष केपी ओली पनि आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयासमा जुटेका छन् । त्यसका लागि उनले वाम एकताको नारा र प्रलोभन दिएका छन् । अर्कोतर्फ कांग्रेस, माओवादी र एकीकृत समाजवादीलाई अलग राखेर सरकार बनाउने प्रयासमा पनि उनी लागेका छन् । स्रोतका अनुसार ओलीले राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र नागरिक उन्मुक्ति पार्टीसँग यसबारे अनौपचारिक ढंगले कुराकानी थालेका छन् । तर, अहिलेसम्मको प्रत्यक्षको नतिजा हेर्दा ओली नेतृत्वमा सरकार बन्ने सम्भावना धेरै कम छ । माओवादी र एकीकृत समाजवादीमध्ये एउटा दललाई साथमा नलिई ओलीले सरकार बनाउन सक्दैनन् ।

प्रत्यक्षतर्फ एमालेले अहिलेसम्म ४२ सिट जितेको छ । दुईमा अग्रता छ । राप्रपा, रास्वपा, जसपा र उन्मुक्ति पार्टीको गरी २५ सिट छ । एमालेले थप दुई जितेमा ४४ र चार पार्टीको २५ गरी ६९ सिट हुन्छ । अझै ओलीलाई ६९ सिट आवश्यक पर्छ । एमालेले समानुपातिकमा ३५, रास्वपाले १५, राप्रपाले सात र जसपाले चार पाए पनि ओलीलाई सरकार बनाउन बहुमत पुग्दैन । त्यसैले अहिलेसम्म कांग्रेस नेतृत्वमै सरकार बन्ने नेताहरूको भनाइ छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ३ : १७ बजे

पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने

काठमाडौँ– सरकारले आध्यात्मिक तीर्थ कूटनीतिमार्फत पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ

विश्वकप लिग २ : त्रिवि मैदानमा आज नेपाल र स्कटल्यान्ड भिड्दै

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको महत्त्वपूर्ण

पर्सा राष्ट्रिय निकुञ्जमा ‘वन्यजन्तु उद्धार टोली’ तयार

वीरगञ्ज– पर्सा राष्ट्रिय निकुञ्जले घाइते भएका वन्यजन्तुको तत्कालै उद्धारको लागि

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभीरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग

प्रतिनिधिसभा बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक