काठमाडौं – कचौराजस्तो भूबनोट भएको काठमाडौं उपत्यका हिउँद याममा वर्षेनी प्रदूषणको च्यादरमुनि पर्छ । झण्डै ४० लाख मानिस बसोबास गर्ने यो शहरको वायुमण्डल मनसुनी झरी सकिएसँगै मौसमी र मानवीय गतिविधिले निम्त्याउने प्रदूषित हावाले भरिइन्छ ।
यतिखेर काठमाडौं शहर विश्वका बढी प्रदूषित शहरको चौधौं स्थानमा छ । वायुको स्वच्छता मापन गर्ने स्वीस कम्पनी आइक्यूएअरका अनुसार काठमाडौं यो हिउँदमा प्रदूषणको रेकर्डतोड यात्रामा छ । अहिले काठमाडौंको हावा संवेदनशील उमेर समूहका लागि अस्वस्थकर छ ।
अघिल्ला वर्षहरूमै काठमाडौंको वायुस्तर सबै रेकर्ड तोड्दै विश्वकै सबैभन्दा खतरनाक तहमा पुगेको थियो । अर्थात्, काठमाडौं विश्वकै प्रदूषित शहरको पहिलो नम्बरमा उक्लिएको थियो । सास फेर्ने हावा नै प्रदूषित भएपछि अस्पतालहरूमा स्वासप्रश्वासदेखि आँखा र छाला लगायत समस्याबाट प्रताडितको लाइन लाग्ने गर्छ ।
गत कात्तिक १० गते विश्वका प्रदूषित शहरको सूचीमा काठमाडौं २५औं स्थानमा थियो । पछिल्ला दिनमा काठमाडौं यो सूचीको छैठौं स्थानसम्म उक्लिइसकेको छ । उपत्यकाको आकाशमा प्रदूषित तुवाँलोको बाक्लो तह देखिन्छ ।
यतिखेर भारतको राजधानी दिल्ली र पाकिस्तानी शहर लाहोर र इजिप्टको राजधानी कायरो प्रदूषित शहरको शीर्ष तीन स्थानमा छन् । यी शहरमा वायु गुणस्तर संसारकै अति अस्वस्थकर अवस्थामा पुगेको छ । प्रदूषक र जैविक इन्धनको अतिप्रयोग तथा ठूलो भूभागका खेतबारीमा पराललगायत वनस्पति जलाउँदा निस्कने धुवाँले यी देशमा हरेक वर्ष वायु प्रदूषणले रेकर्ड राख्ने गर्छ ।
काठमाडौं उपत्यकाका हकमा वर्षा गराउने मनसुनी वायु सेप्टेम्बर अन्तिम साता बङ्गालको खाडीतर्फ फर्किएपछि प्रदूषक सवारीसाधन, हावाहुरीले उडाउने धुलो र पश्चिमी चिसोरसुख्खा वायुका कारण वायुमण्डलमा प्रदूषणको तह लाग्ने गर्छ । मनसुन बाहिरिएर कात्तिक पहिलो सातादेखि पश्चिमी वायु सक्रिय भइ चिसो बढ्न थालेपछि वर्षा पनि कम हुन्छ । चिसो वायुको स्वभाव जहिले पनि जमिनसँग टाँसिएर बहने हुन्छ ।
चिसो भएपछि गह्रौं हुन्छ र त्यसले वायुमण्डलमा रहेको धुवाँधुलोका साना कणलाई पनि जमाएर तल्लो तहमै ल्याइपुर्याउँछ । पृथ्वीको सतहबाट उडेको धुवाँधुलोका कण पनि वायुमण्डलको तल्लो तहमा रहने त्यही गह्रुँगो चिसो पश्चिमी वायुमा जमेर बस्छ । फागुनदेखि जेठसम्म कायम रहने ग्रीष्मकालीन तातो र सुख्खा मौसम (हट एण्ड ड्राइ समर सिजन) का बेला त प्रदूषणस्तर झनै माथि पुग्छ ।
जनस्वास्थ्यविद्हरूका अनुसार वायु प्रदूषणले फोक्सो हुँदै स्वासप्रश्वास प्रणालीमा सबैभन्दा बढी असर पुर्याउँछ । यही प्रदूषणका कारण अस्वस्थ हुँदा शरीरका विभिन्न अङ्गमा एकसाथ चिसोले आक्रमण गर्छ । प्रदूषण व्याप्त हुने जाडो याममा हातखुट्टादेखि आँखा सुन्निनेसम्मका समस्या निम्तिन्छन् । वायु प्रदूषणयुक्त स्थानमा बस्दा हृदयघात हुने सम्भावना गुणात्मक बढ्छ ।
हिउँद यामको प्रदूषित चिसो हावामा रहेको विषाक्त धुवाँधुलोका कण फोक्सोभित्र पस्न नदिन चिकित्सकहरूले मास्क अनिवार्य प्रयोग गर्न सुझाव दिन्छन् ।
प्रतिक्रिया