बालकन्या प्राविको भवन जीर्ण हुँदा पठन-पाठनमा कठिनाइ | Khabarhub Khabarhub

बालकन्या प्राविको भवन जीर्ण हुँदा पठन-पाठनमा कठिनाइ


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्माको तालखर्कस्थित बालकन्या प्राविको भवन जीर्ण हुँदा पठन-पाठनमा कठिनाइ भइरहेको छ । आवश्यक भवन तथा फर्निचरको व्यवस्था नहुँदा शैक्षिक क्रियाकलाप प्रभावित भएको प्रधानाध्यापक प्रकाश राई बताउँछन् ।

१५ वडा रहेको नगरका सबै विद्यालयमा पक्की भवन निर्माण हुँदा बालकन्या प्राविमा २०४४ र २०४६ सालमा बनेको भवनमै पठन-पाठन भइरहेको छ । दिक्तेल-पाथेकादिक्तेल-खार्मी सडकको किनारामा रहेको विद्यालय प्राङ्गणबाट कैयौं नेता, सांसद, स्थानीय सरकार प्रमुख लगायतका जनप्रतिनिधि हिँड्छन् तर बालकन्य प्राविको जिर्ण भवनमा कसैका आँखा परेको छैन । 

अभिभावक बेलायती सेनाका भूतपूर्व  सार्जन शम्शेरबहादुर राईको पहलमा २०४० सालदेखि बालकन्य प्राविको नाममा पठन-पाठन सुरु गरिएको थियो । छाप्रोमा पठनपाठन हुँदैआएको विद्यालयलाई २०४४ सालमा जिल्ला शिक्षा कार्यालयमा विधिवत् दर्ता गरिएको हो । २०४४ सालमा अभिभावकले कच्ची भवन बनाउन श्रमदान गर्दा तत्कालीन पञ्चायतले जस्ता हाल्न सहयोग गरेको थियो ।

२०४६ सालमा ब्रिटिस गोर्खा वेलफेयरको सहयोगमा पुरानो भवनसँगै टाँसेर दुई तले कच्ची भवन बनाइयो । त्यसयता सो विद्यालयको कुनै पनि भवन बन्न सकेको छैन । स्थापनाकालकै डेस्क र बेञ्च प्रयोग गर्दैआएको विद्यालयलाई केही समयअघि वडा सदस्य पेमादोर्ची शेर्पाले फर्निचर उपलब्ध गराएपछि केही सहज भएको प्रधानाध्यापक राई बताउँछन् ।

कक्षा ३ सम्म पठनपाठन हुँदै आएको विद्यालयमा हाल २६ छात्र-छात्रा अध्ययनरत छन् । बालविकास केन्द्रमा १२ जना, कक्षा १ मा पाँच जना, कक्षा २ मा चारजना र कक्षा ३ मा पाँचजना विद्यार्थी छन् । उनीहरू साँघुरो र धुलाम्मे कोठामा बसेर अध्ययन गर्न बाध्य छन् । भवन निर्माणका लागि पटक-पटक नगरपालिका गुहार्न पुगे पनि सुनुवाइ नभएको वडा सदस्य कृष्णकुमारी पुरी बताउँछिन् । निवर्तमान मेयर दिपनारायण रिजालले कार्यरत शिक्षिका र कर्मचारीलाई शैक्षिक अनुदान उपलब्ध गराउनेबाहेकका सहयोग गरेनन् । 

नवनिर्वाचित मेयर तीर्थराज भट्टराईले गत १३ असारमा विद्यालयको भवनको भौतिक अवस्था, दरबन्दीदेखि राम्रा-नराम्रा पक्षका विषयमा सात दिनभित्र प्रतिवेदन उपलब्ध गराउन पत्राचार गरेका थिए । त्यो पत्र आएपछि अभिभावक र शिक्षक भवन पाउनेमा उत्साहित भएका थिए । भवन पाउने आशामा हौसिएर प्रतिवेदन बुझाए पनि भवनबाट बञ्चित गराइएको अभिभावक बताउँछन् ।  

काज प्रधानाध्यापकको भर  

बालकन्या प्राविमा हाल शिक्षक दरबन्दी छैन । राई काजमा बालकन्या प्राविमा ल्याइएको हो । उनको दरबन्दी जालपा आवि पाथेकामा छ । राईसँग हाल शिक्षिका गायत्री अधिकारी र कास सुशीला पुरी कार्यरत छन् । स्थानीय सरकारले दरबन्दी दिन कञ्जुस गरिरहेको विव्यासका पूर्वअध्यक्ष पदम पुरी बताउँछन् ।

अघिल्लो कार्यकालमा नगरपालिकाबाट उपलब्ध हुने शैक्षिक अनुदानबाट शिक्षिका र कासलाई तलब खुवाउने गरिएको थियो । गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको चुनावपछि नेतृत्व परिवर्तनसँगै त्यो शैक्षिक अनुदान कटौती भएको छ । नगर अनुदानबाट तलब लिँदै आएकी शिक्षिका अधिकारीलाई तलब दिन नसकिने भन्दै हाजिर नगराउन पत्र पठाएपछि अभिभावकले निजी श्रोतबाट मासिक १५ हजार दिनेगरी अधिकारीलाई निरन्तरता दिएका छन् ।

अघिल्लो जनप्रतिनिधिले जसरी आफ्नो मान्छे नियुक्ति गर्दै अघि बढ्यो भने वर्तमान जनप्रतिनिधि पनि त्यसरी नै आफ्नै मान्छे राख्ने दाउमा रहेको स्रोत बताउँछ । आगामी दिनमा बालकन्या प्राविमा नयाँ भवन निर्माण गर्ने शिक्षक दरबन्दी व्यवस्थापनलाई पहिलो प्राथमिकता दिइने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रवक्ता दिनेशकुमार घिमिरेले बताए । 

सडकको धुलो कक्षा कोठामा 

सडकको कुनापट्टि बालकन्य प्राविको भवन रहेको छ । सवारीसाधनले उडाएको धुलो सिधै कक्षा कोठाभित्र छिर्ने गरेको छ । धुलोले विद्यार्थी, उनीहरूको कपडा र पुस्तक धुलाम्मे हुनेगरेको छ । विद्यालयको आँगन बराबरको सडकमा पानी छ्यापेर धुलो नियन्त्रण गर्ने गरिएको छ । विद्यालयमा आउने धुलो नियन्त्रणका लागि नगरपालिका समक्ष पानी छ्याप्न पोलिथिन पाइप माग्दासमेत नपाएको राई गुनासो गर्छन् । भवनको कुलेसोबाट पानी चिसाएर कक्षाकोठा चिसो हुने गरेको छ । 

विद्यार्थी सङ्ख्या घटेको भन्दै भौतिक संरचना कालिका प्रावि ओखरबोटेको मातहत रहनेगरी बालकन्य प्राविलाई २०६४-०६५ मा ‘कोल्याप्स’ गरिएको थियो । विद्यालय जाने उमेरका बालबालिकालाई अन्यत्र पठाउन अप्ठ्यारो भएपछि अभिभावकको पहलमा नगरपालिकाको अनुमतिमा २०७२ सालदेखि बालकन्य प्राविको भवनमा बालविकास केन्द्र सञ्चालनमा ल्याइएको थियो । पछि २०७४ मा बालकन्या प्राविलाई पुन: नयाँ विद्यालय सरहको दर्ता प्रक्रिया पूरा गरेर सञ्चालनमा ल्याइएको विव्यासका पूर्वअध्यक्ष पुरीले बताए । 

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  १२ : १६ बजे

काठमाडौं महानगरका स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट निःशुल्क एक्स–रे सेवा

काठमाडौं – काठमाडौँ महानगरपालिकाले वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट नागरिकलाई

बढ्यो डिजेल र मट्टितेलको भाउ, प्रतिलिटर १५३ रुपैयाँसम्म पर्ने

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थ डिजेल र मट्टितेलको

चोरीका गहनासहित सुनचाँदी पसले पक्राउ

बागमती – चोरीका सुनचाँदीका गरहनासहित मकवानपुर प्रहरीले आज सुनचाँदी पसलेसहित

स्थानीय तह उपनिर्वाचन : कांग्रेसले चयन गर्‍यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसले आगामी मङ्सिर १६ मा हुने स्थानीय

बैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यवसायिक बनाइनुपर्छ : गभर्नर अधिकारी

काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको