ठमेलका अव्यवस्थित तार हटाइँदै | Khabarhub Khabarhub

ठमेलका अव्यवस्थित तार हटाइँदै


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्यटकीय क्षेत्र ठमेललाई सफा र सुन्दर बनाउन अव्यवस्थित रूपमा तानिएका विद्युत,  केबल टेलिभिजन, इन्टरनेट, टेलिफोनका तार तथा उपकरणहरू व्यवस्थापन गर्न सुरु भएको छ । ठमेल पर्यटन विकास परिषदको सक्रियता, नेपाल विद्युत प्राधिकरण र केबल तथा इन्टरनेट सेवा प्रदायकहरूको सहभागितामा ठमेल क्षेत्रलाई सुन्दर बनाउन अव्यवस्थित रहेका तार हटाउने र व्यवस्थापन गर्ने काम अभियानकै रूपमा चलिरहेको छ । 

विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइवर, केबल पोलमा जथाभावी झुन्ड्याइएका उपकरणहरूका कारण पर्यटकीय क्षेत्र ठमेल कुरूप बनेको थियो । प्राधिकरणले गत कात्तिकमा आगलागीलगायत विद्युतीय दुर्घटना न्यूनीकरण गरी भरपर्दो विद्युत सेवा उपलब्ध गराउन र सहरी सुन्दरतासमेत कायम राख्न दूरसञ्चार, केबल टिभी र इन्टरनेट सेवा प्रदायकहरूलाई आफ्नो संरचना निर्माण-व्यवस्थापन गर्न ४५ दिने समयसीमा दिएको थियो । 

सोहीअन्तर्गत ठमेल क्षेत्रका अव्यवस्थित तार तथा उपकरणहरू हटाउन सुरु गरिएको हो । ठमेल क्षेत्रमा  लाइन सफा गर्ने सिलसिलामा ४८ ट्रक अव्यवस्थित र काम नलाग्ने तार तथा उपकरणहरू निकालिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्मालगायत सम्मिलित  उच्चस्तरीय टोलीले बुधबार ठमेल क्षेत्रमा तार व्यवस्थापनका लागि भइरहेको कामको अनुगमन गरेको छ ।

कार्यकारी निर्देशक घिसिङले विद्युतको तत्कालका लागि नाङ्गो तारलाई फेर्ने, बांगो र मक्किएका पोलहरू हटाएर राम्रा राम्रो पोलहरू राखी पर्यटकीय क्षेत्र ठमेललाई सफा र सुन्दर बनाउने अभियानमा साथ दिइने बताए । ‘अव्यवस्थित तारको गुजुल्टोको कारण सहर कुरूप बनेको छ, आगलागी भई धनजनको क्षति भएको छ, हाम्रो सेवा प्रभावित भएको छ, सहरी सौन्दर्यता कायम गर्न विद्युतीय दुर्घटनालाई न्यूनीकरणका लागि हाम्रा संरचनामा राखिने विभिन्न सेवा प्रदायकका तार तथा उपकरणहरूका लागि मापदण्ड तयार गरी व्यवस्थापन गर्न लागिएको होे, मुख्य सहरी क्षेत्रको सौन्दर्यता कायम गर्न अव्यवस्थित तारलाई व्यवस्थित बनाउने काम देशभरी नै सञ्चालन गरिरहेका छौं’, घिसिङले भने । उनले काठमाडौं उपत्यका, पोखरा र भरतपुरमा विद्युतीय संरचनालाई भूमिगत बनाउने काम भइरहेको बताए । 

प्राधिकरणले विभिन्न सेवा प्रदायकका राउटर, अप्टिकल फाइबर वितरण बक्स जस्ता उपकरणहरू पोलको एउटै मात्र भागमा क्रमैसँग मिलाएर नझर्ने, नहल्लिने गरी जडान गरी र सफासँग क्लिप प्रयोग गरी वाइरिङ गर्नुपर्ने व्यवस्था गरेको छ । प्रयोगमा नरहेका तार र अन्य उपकरणहरू तत्काल हटाउनु पर्ने छ । पोलहरूमा लुप बनाएर राखिएका तार तत्काल हटाउने र नयाँ तारहरू तान्दासमेत अतिरिक्त लम्वाइका लुप बनाएर पोलमा झुण्डाउन नपाउने व्यवस्था गरिएको छ । सेवा प्रदायकहरूले निजहरूको तार  सजिलोसँग छुट्टयाउन सक्ने गरी प्रत्येक पोलमा केबल ट्याग लगाउनुपर्ने छ । 

पोलमा जडित उपकरणहरूमा समेत मार्किङ गर्नुपर्ने छ ।  सम्भव भएसम्म धेरै कोर भएको केवल तानी बहुसंख्यक सेवा प्रदायकले सहप्रयोग गर्ने गरी सेवा विस्तार गर्नुपर्ने छ । तारहरूलाई सडक वारपार तान्न रोक लगाइएको छ भने तानिएका केवलहरू हटाउनुपर्ने छ । 

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ४ : १६ बजे

बनाइयो ‘आँसु बन्दुक’, रुवाउनेलाई हान्न सकिने

काठमाडाैं– अहिलेहाल सामाजिक सञ्जालमा एउटा अनौठो र भावनात्मक कथा भाइरल

दबाबमा जनकपुर, दुवै ओ‌पनरसहित गुमायो तीन विकेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफ्याएर खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध

जापानको होन्डा र निसानबीच एकीकरणका लागि वार्ता

एजेन्सी- जापानको अटो कम्पनी होन्डा र निसानबीच एकीकरण (मर्जर) का

दुर्गा प्रसाईंका दुई रिट एकैदिन खारेज, अब हिरासतमै राखेर ऋण असुली

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले विभिन्न अदालतमा हालेका दुई

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप नेपाल आइपुग्यो 

काठमाडौं– पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस