छिम्केश्वरीसम्म जाने सडकमा कालोपत्रको तयारी « Khabarhub

छिम्केश्वरीसम्म जाने सडकमा कालोपत्रको तयारी


१५ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दमौली – महाभारत पर्वत श्रृङ्खलाको उच्च भागमा अवस्थित तनहुँको छिम्केश्वरीसम्म जाने सडकमा कालोपत्रको तयारी गरिएको छ । पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनीदेखि छिम्केश्वरीको फेदी लाब्दीसम्म सडक कालोपत्रको तयारी गरिएको हो ।

हालसम्म साइट कटिङ, नाला निर्माण, बेसमेन्टको काम र ग्राभेल काम सकिएको छ । सम्झौताअनुसारको ७५ प्रतिशत काम सकिएको र कालापत्रे गरेपछि सबै काम पूरा हुने साइड इञ्चार्ज शिव रिजालले जानकारी दिए ।

उक्त सडकखण्डमा यही फागुन २० गतेबाट कालोपत्र सुरु गर्ने तयारी गरिएको छ । तीन इञ्च बाक्लो कालोपत्र रहने सडकमा चितवनको जुगेडीबाट उपकरण ल्याएर काम सुरु गरिने उनले बताए । “चैत महिनाभित्रै काम सम्पन्न गर्ने गरी तयारी थालेका छौँ”, उनले भने ।

यसअघि एक हजार दुई मिटर खण्ड कालोपत्र भइसकेको छ । कूल १६ किमी सडकको बाँकी खण्ड कालोपत्र गर्न लागिएको हो । सडक कालोपत्रका लागि प्रदेश सरकारबाट रु आठ करोड ४७ लाख र सङ्घ सरकारबाट समपूरक कोषअन्तर्गत रु आठ करोड ४७ लाख बजेट विनियोजन भएको छ । सडक कालोपत्रको काम काठमाडौँस्थित शर्मा एण्ड काष्टमण्डप जेभीले ठेक्का पाएको छ ।

छिम्केश्वरीसम्म पुग्ने सडक कालोपत्र भएपछि मन्दिर दर्शन गर्न जाने भक्तजनको सङ्ख्यामा वृद्धि हुने विश्वास गरिएको छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सडक कच्ची हुँदा पनि छिम्केश्वरीमा भक्तजनको उल्लेख्य उपस्थिति हुने गरेकामा सडक कालोपत्रपछि भक्तजनको सङ्ख्या थप बढ्ने बताए ।

आँबुखैरेनी गाउँपालिका–५ मा अवस्थित छिम्केश्वरी माई मन्दिर समुद्र सतहबाट दुई हजार एक सय ३४ मिटरको उचाइमा अवस्थित छ । गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको बताइन्छ ।

सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । छिम्केश्वरीबाट धौलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ्रेलगायतका हिमाल आँखै अगाडि हेर्न सकिन्छ ।

आँबुखैरेनी गाउँपालिकाले छिम्केश्वरी माई मन्दिरको पुनःनिर्माण गरेको छ । छिम्केश्वरी मन्दिर पुग्नका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण गरिएको छ । आर्थिक वर्ष ०७५-७६ मा रु ४१ लाख ६३ हजार सात सय छको लागतमा चार सय ८६ मिटर ढुङ्गाको सिँढी निर्माण सम्पन्न भएको छ भने आर्थिक वर्ष ०७६-७७ मा रु ३५ लाख ९९ हजार एक सय ४१ को लागतमा तीन सय पाँच मिटर ढुङ्गाको सिँढी र रेलिङ निर्माण सम्पन्न भइसकेको छ ।

छिम्केश्वरी पुग्ने भक्तजनको सहजताका लागि छिम्केश्वरीको काखमा घरबाससमेत सञ्चालनमा छ । आँबुखैरेनी गाउँपालिका–६ स्थित पर्यटकीय गाउँ हिलेखर्कमा स्थानीयवासीले केही वर्ष अगाडिदेखि घरबास सञ्चालन गर्दै आएका छन् । गुरुङ समुदायको बाहुल्य रहेको यहाँका घरबासमा आउनेलाई कोदो तथा फापरको ढिँडो, फापर र कोदोको सेल रोटी, भुटेको भटमास, गुन्द्रुकको अचार दिइने गरेको घरबास व्यवस्थापन समितिका अध्यक्ष बाटुमाया गुरुङले जानकारी दिए। हिलेखर्कमा रहेको दुई घुमाउने घरले पनि यहाँ पुग्ने सर्वसाधारणलाई लोभ्याउने गरेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ९ : १२ बजे

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना

युक्रेनमा व्यापक आक्रमण, कैयौँ सहरमा जनजीवन प्रभावित

मस्को – रुसले युक्रेनका कैयौँ सहरमा व्यापक र हवाई आक्रमण

जाँचबुझ आयोगको प्रतिवेदन : न्यायालय राजनीतिक चंगुलमा फस्यो

काठमाडौं– पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले न्यायालय राजनीतिक चंगुलमा

बेलायत र फ्रान्सले ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालन गर्ने पहल गर्ने

लण्डन – बेलायत र फ्रान्सले मध्यपूर्व युद्धको सुरुवातदेखि इरानले प्रभावकारी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

कामठाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको