पाथीभरामा बलि प्रथा घट्दै « Khabarhub

पाथीभरामा बलि प्रथा घट्दै


३० फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा केही वर्ष अघिसम्म दैनिक सयौँ पशुको बलि चढाउने गरिन्थ्यो । देवीलाई बलि चढाउँदा देवी खुसी हुने र आफुले चिताएका इच्छा, आकांक्षा सबै पूरा हुने विश्वासले यहाँ आउने ८० प्रतिशतभन्दा बढी भक्तजनले पशुको बलि चढाउँथे ।

पाथीभराका पुजारी डिल्ली आचार्यका अनुसार पाथीभराको दर्शनको सिजन मानिने (बडादशैँ, रामनवमी) का समयमा कम्तीमा पाँच सयदेखि एक हजार पशुको बलि चढाउने गरिन्थ्यो । स्वदेश तथा विदेशबाट आएका तीर्थयात्रीले बलि चढाउन पशुपक्षी लिएर आउँथे ।

तर अहिले यो चलन क्रमशः घट्दै गएको छ । हिजोआज विरलै मात्र पशु बलि दिने गरिएको छ । “पहिला सिजनका बेला दिनमै पाँच सयदेखि हजार बाह्र सयसम्म पशु बलि चढाइन्थ्यो, तर अहिले बढीमा १५–२० वटा बलि चढाइन्छन्, यसको सट्टामा भक्तजनले नरिवल फुटाएर पूजाआजा गर्नुहुन्छ, फलफूल चढाउने, लाखबत्ती बाल्ने चलन बढेको छ”, आचार्यले भने ।

बलि चढाउँदा पशुपक्षीको रगतले राताम्य हुने मन्दिर परिसर पछिल्लो समयमा सुन्दर र सफा पनि हुन थालेको छ । रगतका कारण हुने फोहोर र दुर्गन्धमा कमी हुनुका साथै मन्दिर अवस्थित वरपरको भाग सफा र सुन्दर भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए ।

पछिल्लो समय प्राणीको हत्या नगरी पनि धर्मकर्म गर्न सकिन्छ भन्ने चेतनाको विकासले पनि बलि प्रथा हराउँदै गएको पाथीभरा दर्शनका क्रममा आउनुभएका झापाका विष्णुप्रसाद आचार्यले बताए । प्रेम, सद्भाव र पुण्यको सन्देश दिने धर्मका नाममा हुने बलि प्रथा पूर्णरूपले निर्मुल हुनु नै राम्रो हुने उनको तर्क छ । धर्मका नाममा निर्दोष पशुको बलिप्रथा अन्त्य गर्नुपर्छ भन्ने समाजमा आवाजहरू उठ्न थालेकाले विस्तारै न्यूनीकरण हुँदै जाने कतिपयले बताउने गरेका छन् ।

यता पाथीभरा क्षेत्रमा बलिप्रथा न्यूनीकरण हुँदै जाँदा पाथीभरा क्षेत्रमा छाडा कुकुर पुग्ने क्रम केही मात्रामा घटेको छ । रेडपाण्डाको बासस्थान मानिने पाथीभरा क्षेत्रमा समय समयमा छाडा कुकुरको आक्रमणमा रेडपाण्डा पर्थे । अहिले छाडा कुकुर केही घटेकाले र भएकालाई समेत नियन्त्रणमा राख्ने गरिएकाले रेडपाण्डा कुकुरको आक्रमणबाट केही हदसम्म बच्न थालेको रेडपाण्डा संरक्षणको क्षेत्रमा काम गर्दै आउनुभएका रमेश राईले बताए ।

बलि चढाएको पाठापाठीको मासु प्रशस्त हुने हुँदा गाउँघर र गोठबाट अत्यधिक कुकुरहरू पाथीभरा क्षेत्रमा पुग्थे । अहिले केही मात्रामा घटेको राईको भनाइ छ । उहाँका अनुसार सफा गर्ने क्रममा फालिने मासुजन्य फोहोर, खाएर बचेको मासु जताततै फालिने हुँदा कुकुरहरू पाथीभरा क्षेत्रमा जान पल्किने गरेका थिए । यसरी बलिका नाममा निर्दोष पशु हत्या घट्नुले पाथीभराको सुन्दरता मात्रै बढेको छैन, स्थानीयस्तरमा पाइने वन्यजन्तुको समेत संरक्षण भएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  १० : ४२ बजे

राष्ट्रपति पौडेलद्वारा तीन अध्यादेश जारी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा

सुकुम्वासी बस्तीमा डोजरले भत्काएको मानवीय संवेदना

काठमाडौं- काठमाडौँको थापाथलीस्थित बागमती किनार लगायत खोला किनार छेउका सुकुम्वासी

पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो

म्याग्दी– यहाँको धवलागिरी गाउँपालिका–४ स्थित पर्यटकीयस्थल दोभान सडक सञ्जालमा जोडिएको

नेकपाको महाधिवेशन आगामी मङ्सिर ११-१५ गतेसम्म काठमाडौंमा हुने

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना

धोबीखोला ‘करिडोर’का पक्की घर भत्काउन थालियो

काठमाडौं– काठमाडौँ महानगरपालिका–१० धोबीखोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी बनाइएका