काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले माइतीघर पुगेर मिटरब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।
खनालले पीडितहरुको माग सरकारले सम्बोधन गर्नुपर्ने बताए । ‘तपाईंहरुको मागहरु जायज छन् । तपाईंहरुमाथि अन्याय भएको छ । त्यो सच्चिनुपर्छ । तपाईंहरुले चलाएको आन्दोलनको हामी समर्थन गर्छौं ।’ उनले भने ।
उनले महोत्तरीको बर्दिबासबाट १२ दिनसम्म पैदल हिँडेर सोमबार काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरुको समस्या समाधान गर्न ध्यानकर्षणसमेत गराए ।
उनले भने, ‘हामी प्रधानमन्त्रीलाई भेटेर पनि यही कुरा भन्छौं । तपाईँहरुको समस्या समाधान गर्नैपर्छ। यो परिवर्तन जनताको लागि हो शोषकको लागि होइन । तपाईंहरुको हितमा सरकारले नीति र कार्यक्रम बनाउनुपर्छ। आवश्यक पर्छ भने नयाँ ऐन पनि बनाउनुपर्छ ।’
प्रतिक्रिया